काठमाडौँ – वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् डा सत्यमोहन जोशीले हरेक मानिसले आफ्ना जीवनमा चिन्तन अनि मनन गर्न जरुरी रहेको जनाउँदै चिन्ता भने पटकै नगर्न आग्रह गरेका छन् ।
भरतपुर महानगरपालिका–१६ फूर्तिचोक, चितवनमा सञ्चालित ‘बलु पाण्डे मङ्गल सेवा समाज नेपाल’ नामक संस्थाले सोमबार आयोजना गरेको सम्मान ग्रहण कार्यक्रमा उनले मानिस भएर आफू अनि समाजबारे निकै चिन्तन अनि मनन गर्न आवश्यक रहेको जनाउँदै तर भविष्य सम्झेर चिन्ता भने विलकुलै नगर्न आग्रह गरे ।
उनले भने, “चिन्ताले मानिसलाई खान्छ । चिन्ताले कुनै पनि समस्याको समाधान गराउँदैन तर चिन्तन र मननले भने जीवनमा केही बन्ने र गर्ने प्रेरणा प्रदान गर्छ ।”
यदि मानिसले आफ्ना जीवनको कर्तव्य नभुलि आफूलाई कुनै पनि कार्यमा अघि बढाइ रहँदा नकारात्मकभाव हटेर मानिस स्वस्थ्यसमेत हुने जोशीको बुझाइ छ ।
चिन्ताले मानिसलाई भित्रभित्रै खानुका साथै रोगी तथा कमजोर पनि बनाउने जोशीले सुनाए ।
राष्ट्रियसभा सदस्य पार्वती रावलले जीवित इतिहास जोशीबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सकेमा प्रेरणा मिल्ने बताए ।
सो संस्थाका सल्लाहकार देवीप्रसाद आचार्यले जोशीले सिङ्गो मुलुकलाई साहित्यमार्फत अघि बढाएको धारणा राख्दै उनको योगदानस्वरुप सम्मान गरिएको बताए ।
पूर्वअध्यक्ष माधव शर्माले शिक्षाको पहुँच खासै नभएको समयमा जन्मिएका शताब्दी पुरुष जोशीले आफूलाई मुलुकका साथै अन्तरराष्ट्रिय रूपमा समेत चिनाउन सफल भइरहेको चर्चा गरे ।
संस्थापक अध्यक्ष बलराम पाण्डेले आफ्नो संस्था विलकुलै समाजका लागि केही गरौँ भनेर स्थापना भएको जानकारी गराउँदै आफूहरूले गरिब अनि दीनदुःखी तथा मठमन्दिरका साथै भूकम्प र बाढीपहिरो पीडित आदिलाई समेत स्थापनाकालदेखि सहयोग गर्दै आएको सुनाए ।
संस्थाका अध्यक्ष नवीनकुमार रानामगरले मुलुकका महान व्यक्तित्व जोशीको जीवन रहँदै आफूहरूले सम्मान गर्न पाएकोमा निकै गौरवान्वित महसुस गरिरहेको उल्लेख गरे । उनले भने, “यस संस्थाले मुलुकका विभिन्न ठाउँमा पुगेर धेरै व्यक्तिका हितमा काम गरिरहेको छ ।”
प्रतिक्रिया
-
४
