काठमाडौँ – “हामीले विद्यालय छाड्ने अन्तिम दिन रिसाउँदै बिदा भएका थियौँ । त्यस दिन विद्यालयमा तनाव र तोडफोडको स्थिति सिर्जना भएको थियो । आखिर किन त्यस्तो गरिएछ भन्ने जवाफ आज ‘कखरा’ पढेपछि मिलेको छ ।”
लेखक हरिहर तिमिल्सनाकृत शैक्षिक विषयमा आधारित ‘कखरा’ उपन्यासबारे आज आयोजित कार्यक्रममा समीक्षा गर्दै उपन्यासकार नयनराज पाण्डेले भने, “मेरो विद्यालय जीवनलाई जीवन्तरुपमा यस उपन्यासले स्मरण गराएको छ ।”
शैक्षिक रुपान्तरण र प्रेरणदायी पुस्तकको उत्पादन र प्रकाशनमा संलग्न सिकाइ समूहको आठौँ कृति ‘कखरा’ को विमोचन कार्यक्रममा आज उपन्यासकार पाण्डेका साथै शिक्षा प्रशासक, विद्यालयका प्रधानाध्यापक, विद्यार्थी र पत्रकारसमेतले उक्त कृतिको मौलिकता र सामाजिक रुपान्तरणको सामथ्र्यबारे प्रकाश पारेका थिए ।
नेपाल प्रहरी स्कुल, काभ्रेका शिक्षक तिमिल्सिना ‘पढाउनेले पढौँ’ भन्ने अभियानका एक अभियन्ता एवं गीतकार हुन्। कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरि लम्सालले शिक्षाको सुधारका लागि माथिल्ला तहमा बसेकाले के गर्नुपर्छ भन्ने मनन् गराउन लेखक तिमिल्सिनाको कलमले काम गरेको बताए । उनले शिक्षामा सुधार नहुनुमा विद्यार्थी नभई ठूला मान्छे नै जिम्मेवार रहेको स्वीकारे।
लिटिल एन्जेल्सका प्रिन्सिपल मुकुन्दराज शर्मा, सरस्वती निकेतनका शिक्षक मल्लिका जोशी र पत्रकार वसन्त बस्नेतले पुस्तकले नेपाली परिवेश र शैक्षिक स्थितिलाई सचित्र उतारेको बताए । विभिन्न विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी स्नेहा झा, कल्याणविक्रम अधिकारी, अर्जुन मिजार र स्वती रेग्मीले पनि पुस्तकले आफूहरुले भोगिरहेको यथार्थलाई औपन्यासिकरुपमा चिरफार गरेको सुनाए ।
गिजुभाइको ‘दिवास्वप्न’ जस्ता पुस्तकको अनुवाद गरेको सो सिकाइ समूहका प्रबन्ध सम्पादक सुदर्शन घिमिरेले शिक्षामा सुधारका लागि यस्ता पुस्तकले टेवा दिनसक्ने अपेक्षासहित प्रकाशन गरेको जनाए ।
प्रतिक्रिया
-
४
