काठमाडौं – कवि सूर्य लाकोजूका छओटा कवितासङ्ग्रहलाई आधार बनाएर छन्दकवि श्रीहरि फुँयालले कवि सूर्यका कविताहरूको प्रवृत्तिगत र विश्लेषणगत विशेषता छुट्याई किताब प्रकाशित भएको छ । उक्त पुस्तक कवि सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण नामक समालोचना पुस्तकको लोकार्पण एक कार्यक्रम बीच सम्पन्न भएको छ ।
पुस्तकको लोकार्पण वरिष्ठ समालोचक तथा साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई, प्रा. डा. कुमार कोइराला, डा. तुलसी भट्टराई, प्रा.डा. शैलेन्दु प्रकाश नेपाल, डा. तुलसी गौतम, कवि सूर्य लाकोजू, समालोचक श्रीहरि फुयाँल लगायतले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।

​कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै प्रा.डा. गोविन्दराज भट्टराईले लाकोजू मूलत कवि भएको र सूर्यको कवि व्यक्तित्व छिमेकी राष्ट्रसम्म लोकप्रिय भएको सन्दर्भमा समालोचक तथा साहित्यकार श्रीहरि फुयाँलको सूर्य लाकोजूका कवितामाथि समालोचकीय पुस्तक प्रकाशन हुनु सान्दर्भिक रहेको बताए ।

गहन, गम्भीर, वस्तुगत, यथार्थपरक प्रस्तुति गरेर लेखकले समालोचकीय धर्मको निर्वाह कृतिमा गरेको विचार पनि उनले व्यक्त गरे । उनले सो कृतिका लागि स्रष्टा सूर्यप्रसाद र द्रष्टा श्रीहरि फुयाँल दुवैलाई बधाई दिए । कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराई, प्रा डा कुमार कोइराला, डा तुलसी भट्टराई, प्रा.डा. शैलेन्दु प्रकाश नेपाल, डा. तुलसी गौतम, कवि सूर्य लाकोजू, समालोचक श्रीहरि फुयाँल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मन्तव्यका क्रममा सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण नामक कृति समालोचनाको एउटा महङ्खवपूर्ण प्राप्ति बनेर नेपाली समाजमा स्थापित भएको विचार मन्तव्यकारहरुले व्यक्त गरे ।
​कृतिमा एघार परिच्छेद छन् । कवि सूर्य लाकोजू र उनको कवित्वलाई चिनाउने कार्य यस कृतिले गरेको छ । समालोचक श्रीहरि फुयाँल धेरै विधामा कलम चलाउँदै आएका सफल स्रष्टा हुन् । उनको यो कृति ट्रान्सवल्ड पब्लिकेशनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर