✍️ कल्पना तामाङ्ग
एक दिन छुट्नेछ सबै कुरा
जसरी छुट्छ हेर्दा हेर्दै परदेशीलाई लाने जहाज
नियतिको आँधी आएपछि
जसरी छुट्छन् वर्षौपछी भेटिका प्रेमजोडीहरू
यहाँ सत्य केही छैन न झुटो नै छ
तिमी भेटिनु सत्य हो भने, तिमी छुट्नु झुटो हुनुपर्ने
तिमी भेटिनु झुटो हो भने, तिमी छुट्टिनु सत्य नहुनु पर्ने
मलाई त लाग्छ
त्यो सबै झुटो हुनुपर्ने
जसरी छुटेका थियौ तिमी मसँग
तर सत्य यही हो कि, एक दिन छुट्नेछन सबै कुराहरू
एकदिन
छुट्नेछ यो धर्ती, छुट्नेछ यो आकाश
छुट्नेछन् आफ्ना मान्छेहरू
जसरी छुटेका थियौ तिमी मसँग
सबै त छुट्ने छ एकदिन
परदेशी छोराको बालाई भेट्ने योजना
आमाको अग्लो आशिर्वाद
प्रियसीको अङ्गालोभरीको माया
दुर दुर धेरै सुदुरमा छुट्नेछन् लालाबालाहरू
जसरी छुटेका थियौ तिमी मसँग
छुट्नेछ जिन्दगीको महत्वपूर्ण योजना
जसलाई महत्त्व दिन सकिएन जिन्दगीमा
छुट्नेछ सपनाको संसार सपनाकै महलमा
जसलाई सकिएन बिपना बनाउन
एक दिन छुट्नेछ हातबाट लक्ष्य
छुट्नेछ पाइलाबाट गन्तव्य
छुट्नेछ रहरहरूको लहर
छुटनेछ पुरानो पात हाँगाबाट
प्रिय मान्छे
तिमीसँग छुटेपछी लाग्यो
एक दिन छुट्नेछ सबै कुरा
जसरी छुटेका थियौ तिमी मसँग
प्रतिक्रिया
-
४