✍️ भगवती बस्नेत

सम्झनामा आफूलाई हराएर म तिम्रै मायामा समर्पित हुन चाहन्छु । खै ! किन हो किन, तिमीतिरै लहसिएको छ यो मेरो मन । न तिम्रो तस्विर देखेकी छु, न त साक्षात्भेट नै भएको छ तर आफ्नो मनमा तिम्रो अलौकिक प्रतिबिम्ब सजाएकी छु । तिम्रा हरेक शब्दहरुले सर्पलाई सपेराले विन बजाएर तानेझैं तानिरहेको छ, म तानिइरहेकी छु । खै के जादु छ तिमीमा, म पत्तै पाउँदिन । दिनानुदिन तिम्रै कल्पनामा हराउँदै गइरहेकी छु ।

तिम्रो हरेक वाक्यहरुले मेरो मन–मस्तिष्क रन्थन्याउँछ । जसरी दुध र पानी मिलेर एउटा नयाँ रस बन्दछ, त्यस्तै तिम्रो र मेरा भावना मिलेर एउटा नयाँ रस उत्पन्न गरिरहेको हुन्छ । जब दुवै जनाको मनमा एक अर्काप्रति समान प्रेम तथा समर्पणको भावना उत्पन्न हुन्छ, तब मात्र यस्तो अनुभूति हुन्छ । हो, तिम्रो प्रेमले मलाई हरहमेसा आकर्षित गराइरहन्छ । वसन्त ऋतुमा भर्खरै पलाएका मुनाहरु लहलह हुँदै हल्लिएका छन् ।

एकतामासले नाचिरहका तितरिका पातहरु घरिघरि हाँगामा ठोकिएका र घरि हाँगामा टपक्क टाँसिएका देखिन्छन् । तिनीहरुले मलाई गिज्याएझै लाग्दछ । चेरीका पुराना पातहरु झरेर नयाँ पात पलाउँदै छन् ।

मेरो यो निस्सार जीवनमा यी तितरीका रुख जस्तै लहलह झुलाउने, फुल्ने, फुलाउने नयाँ आयाम थप्न कल्पनामा मैले मेरो वसन्तलाई पाएकी थिएँ । कति विवश छु म । न म उनलाई छुन सक्छु, न माया पोख्न । अभागी रहेछु । न उनको कोइलीको झैं सुमधुर स्वर सुन्न सक्छु, न उनको काखमा टाउको अड्याएर रुन । सक्छु त केवल कल्पनाको उडानमा अनन्त उड्न मात्र ।

कायाकल्पदेखि कायापलटसम्म यायावर बनेर । निर्धक्कसँग कुनै छेकवारबिनै गन्तव्यहीन यात्रा पछ्याइरहेकी हुन्छु म । “बिरहको आँसुले माला गाँसी राखेहै भरे भेट्न आउँला ….” इमेल खोल्नासाथ यस्तै म्यासेज पाएँ मैले । खुसीले आह्लादित हुँदैनिकैबेर रमाएँ ।

जिन्दगीको मोडमा रेगिस्तानको मरुभूमिमा औडाहा लिएर बाँच्नुपरेको निरास जिन्दगी । यहाँ कोही आफ्नो भन्ने छैन । तथापि मेरो लागिभन्दा पनि केवल जीवन बाँच्न सहज भइरहेछ । धेरैबेर बगैंचाको दुबोमा पल्टिएँ । सिरसिर बतासले बयेली खेल्दै मेरो कपाल उडाइरहेछ, लाग्यो त्यो हावा उही प्रिय वसन्त हो । मलाई खुसी बनाउन मेरो एक्लोपनलाई साथ दिन उनी मसँग अनेक रुपमा मेरै वरिपरि घुमिरहन्छन् ।

मैले बगैंचामै आइप्याड खोलें । म्यासेज रिप्लाई गरें– “म तिम्रै पर्खाइमा थिएँ; तिमी टुप्लुक्क आइपुग्यौ । मैले हतार गरेर कालो चिया बनाएँ । तिमी आएर मेरो साथ दियौ । बगैंचासँगै बसेर कालो चिया पिउँदा खुसी थिएँ तर तिमी फर्कँदा फेरि निराश भएँ । अहिले चाहिँ दैनिक कार्यमा लागेकी छु ।”

जीवनका अनेकौं उकाली–ओरालीहरुमा कति बाध्यता, विवशता र रहरहरु बोकेर बाहिरिएकी म । मेरो संसार भनेको मेरा सन्तति हुन् । उनीहरुको उज्ज्वल भविष्य नै मेरो सपना हो । आफन्तलाई चटक्कै छोडेर रित्तो, एक्लो र निराश जिन्दगी बाँच्नुपर्ने विवशता छ मेरो । दिनभरिको निरन्तर कामले लखतरान भएको निरस जिन्दगीमा म डुबिरहेकै हुन्छु ।

मसँग यो एकथान कम्प्युटर छ । मेरो खुसीमा केही कीरण छर्ने यन्त्र यही कम्प्युटर भएको छ, कम्प्युटर नै पनि किन भनौं र यसलाई एक्लोपनको साथी हो यो मेरो अनि यही नै हो मेरो निसार जीवनको रमाइलो क्षण पनि । जीवनलाई जगतसँग जोड्ने कडी । जेलको घेरा जस्तो साँगुरो जीवनबाट संसार नियाल्ने यन्त्र । कम्प्युटर खोल्नेबित्तिकै मेरो ई–मले बक्समा राता धर्साहरु पिलिक–पिलिक गर्दै थिए । म्यासेज आएको हुन्थ्यो “तिमी नितान्त एक स्वाभिमानी नारी हौ ।

परिवारको सरोकार त सबैले राख्छन् । तिमीले अरु बढी नै राख्नु । यी त सामान्य कुराहरु भए । तिमीमा उमंग छ, केही गर्नैपर्छ भन्ने जोश छ । एउटा लोभलाग्दो प्रतिभा छ । साँचै तिमीले केही गर्न सक्छौ। मलाई तिम्रा यिनै पक्ष बढी मन परेका हुन्। म अब केही दिन एउटा सम्मेलनमा जाँदैछु । ई–मेल इन्टरनेट बन्द हुन्छ, निकै समयको लागि । संयोग मिले फेरि भेट होला नभएमा …. ।”

मैले म्यासेज पढें । सुरुको हरफले म पुलकित भएकी थिएँ । अन्तको हरफले मर्माहित पनि भएँ । आजसम्म मसँग भएको प्रतिभालाई कसैले खुलेर प्रशंसा गरेका थिएनन् । उल्टै मेरो प्रतिभालाई रोक लगाउन मेरा आफ्ना भन्नेहरुले खुट्टा तानेर पछारेका थिए । यति नगरेको भए आज म यहाँसम्म आइपुग्ने थिइँन होला ।

तिनै उपहासले नै मेरो जीवनमा उर्जा पनि दिए जसले गर्दा सिर्जनाको बाटोमा सचेत भएर लाग्ने मैले अठोट पनि गरेकी थिएँ । साहै्र दुःख लाग्यो, अब भोलिका दिनहरु कसरी बिताउने ? दिनैपिच्छे म्यासेज नआए पनि आउँछ भन्ने आशाले मन शान्त हुनथ्यो । आशाले नै मान्छे बाँचिरहेको हुन्छ । फोन गरौं भने नम्बर पाएको छैन । उनीसँग अहिलेसम्म फोनमा बोल्ने मलाई हिम्मत समेत छैन । मलाई लाग्छ उनी यति व्यस्त छन्कि फोनमा बोल्ने समय नभएर फोन नम्बर नदिएको मैले अनुमान लगाएकी थिएँ ।

उनले मसँग इन्टरनेटमा कुरा गर्न हुन्न भनेका थिए । म त अकमक्क भएर एक्लै सोच्न थालें । कहाँको को मान्छे होला ? उसको पनि आफ्नै घर–परिवार अनि आफ्नै संसार होला । म पनि त आफ्नै घर–संसार भएकी स्वास्नी मान्छे हुँ । म उनीसँग यसरी आशक्ति भएकी हुँ । हुन त हामी त्यस्तै कुनै बासनाको प्रेममा परेका थिएनौं । हामी दुईलाई एकै गराउने तत्व थियो सामाजिक जागरण । हामीबीच नितान्त निस्वार्थ सामाजिक सम्बन्ध थियो । जीवन र जगत्को सम्बन्ध कलाको सम्बन्ध हो । यहाँ धन, दौलत, स्वार्थको कुनै गन्ध हुँदैन ।

साथै उनी साहित्यमा केही रुचि पनि राख्थे । उनी बढी भावनामा पनि बग्ने गर्थे । मलाई उनले जस्तो माया अरु कसैले दिएकै थिएन भने पनि हुन्छ । वसन्त मेरो जीवनको सबैभन्दा आत्मीय र आदरणीय प्राणी हो । उनै प्राणीसित म लीन थिएँ । उनी अध्ययनशील हुनका साथै संसारिक मोहमा पनि लागि परेका मान्छे थिए । म मानवसेवा र साहित्य बुझ्दथें । म पनि लेख्न मन पराउने एक साहित्यिक अनुरागी नै थिएँ । उनले लेखेको “मौका मिले, समयले साथ दिएमा फेरि भेटौंला” भन्ने हरफ सम्झदैं भगवान् मेरो वसन्तलाई मबाट टाढा नबनाइदेऊ । म ऊबाट धेरै बुझ्न चाहन्छु भन्ने कामना गर्थें ।

माया छोएर, सुँघेर मात्र हुने होइन । मेरो ऊप्रतिको लगाव देखेर आफैं अचम्म हुन्थें । वसन्तको सम्पर्कका अबका दिनहरु पढ्न बाँकी किताबमा व्यस्त भएर दिनहरु बिताउने मैले निर्णय गरेर चित्त बुझाएँ, तर पनि मन गह्रुँगो भएर आयो । वसन्तको म्यासेज पढ्न नपाएको झण्डै छ महिना बितिसकेको थियो । दिनमा कैयौंपटक म्यासेज बक्समा आँखाहरु मडारिन्थे । फेरि निराशाले दुखेका मनका जिजीविषा सुम्सुम्याउँलै मनलाई किताबका पानामा केन्द्रित बनाउन अभ्यस्त थिएँ ।

किताबका पानाहरु पल्टाउँदै अक्षरहरुमा बसन्तकै प्रतिबिम्ब पाउँथे । उसले दिएका सिकहरु आत्मसात्गर्दै अगाडि बढ्दै थिएँ । साहित्यको किताबहरु पढ्ने होइन, अध्ययन गर्नुपर्छ भन्ने उसको कुरा मनन गर्थें । आफूलाई जति संयमित गर्दागर्दै पनि थाम्न गाह्रो हुन्थ्यो, अनि म्यासेज गरेर चित्त बुझाउँथे । “जीवन शून्यतामा हराइरहेको बेला तिमीले सही मार्ग डो-याएर नयाँ हौसला जुटाइदियौ । तिमीले दिएको भूमिका निर्वाह गर्दागर्दै तिमीमा हराएको पत्तै पाइँन । अर्कालाई भेट्टाइदिएर आफू हराउने कुन आदर्शको बलिदान हो यो ? फेरि यो नितान्त एक्लोपन दिएर कहाँ गयौ ?” मैले यी वाक्य लेखेर मन हलुङ्गो बनाएँ ।

समयलाई न रोक्न सकिन्छ न छेक्न । जीवन दुःख–सुखको भेल उछिनेर कहिले मिलनमा रमाउँदै कहिले बिछोडमा आँशु बगाउँदै अनवरत चलिरहन्छ । नदी जस्तै अविच्छिन्न बगिरहन्छ जीवन । म वसन्तको कल्पनामा नै थिएँ ।

धेरै दिनको झरीपछि आकाश खुलेको छ आज । बिहानीको न्यानो कीरण मेरा अंग–अंगमा सलबलाउँदै थिए । आज किन–किन त्यो घामको कीरणले बसन्तको न्यानो मायाको आभास दिइरहेको छ। कता–कता उसलाई आज भेट्छु नभए पनि म्यासेज त पाउँछु होला भन्ने लागेर मन खुसी भयो ।

मस्तिष्कभरि वसन्तका एक–एक शब्दहरु सलबलाउन थाले । मनमा उनका लागि हुर्केका प्रेम र श्रद्धा झाँगिदो छ । वसन्त ऋतुको आगमनले रुख–बिरुवाका मुना र पालुवाले मौसम रंगिन बनेको छ अनेकौं रंगले सिँगारिएकी बेहुली झैं भएर । रंगी–बिरंगी पुतलीहरु बगैंचामा डुलिरहेका छन् ।

रहरलाग्दा फूलहरुमा पखेटा झिमझिम पार्दै उडिरहेका पुतलीहरु देखिन्छन् । यी दृश्यले एकनाश मलाई लोभ्याइरहेको छ । सर्पले काँचुली फेरे झैं मेरो जीवनमा पनि एक प्रकारको नयाँ जोश र उमंग छाएको छ । उनलाई सम्झँदाखेरि मेरो मनमा उम्लने रहर र छटपटी, किन यस्तो ? किन यति धेरै आशक्ति ? आफूलाई आफैंले प्रश्न गर्दछु । उद्देश्यहीन लाग्ने मेरो बिवशता । मनभित्रको कोमल भावना छताछुल्ल भई प्रेम कतै निकृष्ट र निरर्थक भावनामा रुमलिएँभने मैले के गर्ने ?

यस्तै भावनाहरु मनमा खेलाउँदै म ओछ्यानमा पल्टिएँ तर पनि मन उकुसमुकुस भइरहयो । सुत्न खोजें, सकिँन । उठेर फेरि ल्यापटप खोलें, म्यासेज बक्समा रातो धर्का सलबलाएको देखें । उत्साहित हुँदै वसन्तको म्यासेज हुनुपर्छ भन्ने अनुमान लगाएँ किनभने रातको सन्नाटामा नै ऊ आफ्नो प्रिय साथी किताबका पानाहरु पल्टाउँदा मेरो झझल्को आउँछ भन्ने गथ्र्यो ।

मैले पढेका किताबहरू तिमीले पढ्नुपर्छ भनेर बारबार सम्झाउने उनको बानी थियो । इन्टरनेटको गति कम भएर निकैबेर लाग्यो वेभ खुल्न पनि । म उनका शब्दहरुमा रमाउन हतारिएकी थिएँ । नभन्दै म्यासेज बक्समा उनकै म्यासेज आएको रहेछ । “यतिका दिन के गरेर बितायौ? कुन–कुन किताब पढ्यौ? तिमीलाई दुःख भइरहेको होला जस्तो लाग्छ । फेरि तिम्रोमाया पनि लाग्छ ।

हुन त हामी सबैलाई दुःखले कहिले छोड्दैन । शंकर लामिछानेका निबन्धहरु उनको कथा–संग्रह “गौंथलीको गुँड” कथामा दर्शन छ । सबैले उनको एब्स्ट्रयाक्ट प्याज र चिन्तन बडी पढ्छन्। मैले भन्न खोजेको तिम्रो लेखिने पुस्तकमा त्यहाँबाट पनि लिन सकिन्छ । मलाई तिम्रा रचना औधि मन पर्छ । धेरै दिन पढ्न नपाएकोले न्यास्रिएको छु ।

तिम्रो कविताभित्र संगीत हुन्छ, हामी त्यसैले तानिन्छौं । हार्मोनी, त्यसबाट हृदम सृजना हुन्छ । भूपिको कविता मीठो भएको हार्मोनीले हो । समको ‘चिसो चुह्लो’भित्र यो हदै राम्रोसँग मिलेको छ । सन्तेले गौरीलाई सम्झेर भन्छ– “तिमी जुन जुन हाँगा समाउँछौं, त्यो मेरो औंला हो । तिमी जहाँ जहाँ बस्छौं, त्यो मेरो काख हो । हो, त्यस्तै सन्तेले झैं मैले तिमीलाई सम्झेको छु ।” यति पढ्नासाथ मेरा आँखा रसाए । फेरि अलि तलको म्यासेज पढ्दै गएँ । अर्को मीठो कविताले मनमुग्ध बनायो ।

यो गोधूलि साँझ
आकाशभरि फैलिएर उडेका मलेवाहरू
म के सन्देश पठाउँ ?
मेरो उनीलाई
मेरो यक्ष जिन्दगी यहाँ
यो हाइफामा या मदन भोटमा
सम्झ, म प्यागमिलन तिम्रै तस्बिर कोर्दै छु ।
त्यसरी म एक समाहित पाउँदै छु । अहिले म वल्ट विट्म्यासनको लिटस अफ ग्रास पढ्दैछु,
आजलाई बिदा ।”

मसँग बढी सम्पर्क नगर, मोहनी लाग्छ है । सपनामा वसन्त, वसन्न भनौली र घरमा कचिंगल मच्चिएला भन्न पनि उनले बिर्सने गरेको मलाई थाहा छैन । बेला–बेलामा ठट्यौली गर्ने उनको म्यासेजले पनि मेरो मन तरंगित पार्ने गर्छ ।

प्रवाशको यो जेलजस्तो जिन्दगीमा यदि यो इन्टरनेट नहुँदो हो त कति सकस होला । आजभोलि कोही साथीभाइ नभए पनि यसै प्रविधिसँग खेल्दै जाँदा दिन काट्न मुस्किल पर्दैन । अब त यही ल्यापटप नै मेरो प्रिय साथी भइसकेको छ । यति प्रिय भएको छ कि खाना खान र समयको ख्याल नै गर्न बिर्सने भइसकेकी छु ।

आजभन्दा चार–पाँच वर्षपहिलेकै मात्र कुरा गर्ने हो भने मैले आफ्ना भनाइ, आफ्ना केही लेख–रचना रेडियो, टिभी पत्र–पत्रिकामा पु-याउन धेरैपल्ट धाउनुपथ्र्यो र महिनौं कुर्नुपथ्र्यो । अहिले मनमा सोचेका कुरा, आफूसँग भएका प्रतिभालाई इन्टरनेटको पहुँचले सजिलै एक–अर्कामाझ पु-याउन सकिने भएको छ । यही इन्टरनेटको माध्यमबाट मैले मेरो प्रिय साथी वसन्तलाई पाएकी छु ।

म सम्झन्छु, हिजोको ढुंगे युग, रुखका बोक्रा लगाउने, कन्दमुल खाने पुर्खा थिए भने आज हरेक कुरा रेडिमेड पाइने भएको छ । हिजो “अंगेरिको मसी बनाएर नेपाली कागजमा लेखेर, परेवाको खुट्टामा बाँधेर एक ठाउँबाट अर्को ठाउँमा खबर पठाइन्थ्यो” भनेर मेरो हजुरबुबा भन्नुहुन्थ्यो । अहिले म नातिनीले मोबाइलबाट नै संसारलाई चियाइरहेकी छु । रेगिस्तानको मरुभूमिमा रुमलिरहँदा पनि कहिले मोबाइल त कहिले ल्यापटपबाट संसारलाई नियाल्न पाइएको छ । यिनै डिजिटल भेटघाटबाट नै यो जीवन रसिलो बनाउन प्रयत्न गर्नुपरेको छ । अर्को कविता आइसकेको रहेछ । हतार हतार आँखा पुगिहाले ।

यो डेड सी
इजरायको अंकमालमा
बाँधिएकी युग युगान्तरसम्म
यही डेड सी न हौ तिमी
मेरो तनभरी, मेरो मनभरी छाएकी छौ
म कहाँ खोजुँ तिमीलाई ?
जब मेरो श्वास प्रश्वासमा तिमी नै तिमी छौ ।
उदात्त आह्लादित यो अम्बर
यो मन, यो क्षण
विश्वास नीसा या दिवा
मेरो आत्मामा तिमी नै मात्र तिमी छौ ।

यही रचना मैले दोहो-याएर पढें । मन प्रफुल्ल भयो । समान चीजले समान चीजलाई नै आकर्षित गर्छ भनेझैं जब कसैसँग हाम्रो भावना र विचारले मेल खान्छ तब हामी त्यस्तै विचार भएकातिर आकर्षित हुन्छौं । त्यस्तै दुवैको विचार मेल खाएर नै हामी एक–अर्कामा हत्ते गर्छौं ।

एक हप्तामा कहिले एकपटक त कहिले दुईपटक उनका म्यासेज आउने गथ्र्यो । एक्कासी धेरै दिनसम्म उनको कुनै म्यासेज आएन । सोचें कतै केही काममा व्यस्त भए होलान्। मलाई केही नभनी उनी फेरि गायब हुँदा कता–कता नरमाइलो पनि लाग्यो । उनको म्यासेज पढ्न न्यास्रिएको मन बेचैन थियो । उनका शब्दहरु मेरा लागि नशा बन्न थालेका थिए । त्यही शब्दका यादहरुले मेरो मन छट्पटी हुन लाग्थ्यो । आँखाहरु उनैको म्यासेज आउने इनबक्समा डुलिरहे ।

निक्कै दिन बित्यो । उनको शब्दहरुमा रमाउने मन व्याकुल बन्दै थियो । माया भन्ने कुरा त दिन–प्रतिदिनको निष्ठामा गाँसिदै जाने कुरा रहेछ । उनको बोलीचाली, व्यवहार र जीवनोपयोगी शब्दहरुमा म आकर्षित हुँदै गएकी थिएँ । उनी मेरो जिन्दगीमा आएदेखि जीवनले अर्कै मोड लिएको थियो । उनका शब्दहरुमा डुबुल्की मार्नु मेरो आदत बनिसकेको छ । साहित्यको मोहभित्र यसरी गाँसिएको छु अब छुटाउन खोजेर पनि मलाई कसैले पूरै छुटाउन सक्दैनथ्यो ।

मान्छेलाई विभिन्न कुराको नशा लागेझैं मलाई उनको शब्दहरुले लठ्याउँछ । यति सोच्दा–सोच्दै उनलाई म्यासेज गर्न मन लाग्यो । “प्रेम कसैले समर्पणलाई, कसैले विश्वासलाई, कसैले त्यागलाई, कसैले प्राप्तिलाई भन्लान् । प्रेम विषयमा मान्छेपिच्छेका फरक परिभाषा हुन सक्छन् । यही प्रणय-प्रेमलाई सही ढंगले उपभोग गर्न सके अमृतको काम गर्दछ भने गलत तरिकाले उपभोग गरे विष पनि हुन्छ । प्रेमको सार बुझ्न सारा जिन्दगी कै लगानी लाग्न पनि सक्छ ।

प्रेम त्यो अनुभूति हो जसले अन्तरआत्मादेखि मानिसलाई सुख दिएर बाँच्न प्रेरित गर्दछ । प्रेम गरिरहनु आवश्यक हुँदैन । सफा हृदय भएका प्राणीको हृदयमा यो आफैं उत्पन्न हुन्छ र आफूप्रति सद्भाव राख्ने हरेक प्राणीप्रति यो अनवरत रूपमा आफैं पोखिन्छ ।

वसन्त तिम्रा शब्दहरुसँगको मेरो प्रेम निस्वार्थ थियो, छ र जीवनभर रहिरहने छ । तिमी जहाँ भए पनि म तिमीले सिकाएको बाटोमा हिँड्नेछु ।तिमीलाई तिम्रै शब्दहरुमा भेटिरहन पाऊँ । तिमीलाई दुःख दिने, तिमीलाई सताउने मेरो कुनै मनसाय होइन । जहाँ भए पनि खुसी हुनु ल ! धेरै दिन कुर्दा पनि उसको अत्तोपत्तो थिएन । कार्यालयको काममा समेत व्यस्त हरने वसन्तको झण्डै डेढ महिनापछि फेरि म्यासेज पाएँ ।

“मानव प्रेम सर्वोत्कृष्ट हुन्छ तर त्यहाँ कुनै रागको गन्ध हुनुहुँदैन । त्यहाँ केवल मन र मस्तिष्क मात्रै रहन्छ । उसले आफ्नो पवित्र भावना फैलाइरहेकै हुन्छ । उ भाग्यमानी पनि हुन्छ । उदाहरणका लागि तिम्रो मन मप्रति बगिरहने पवित्र धारासरि बगेको छ । त्यहीँ बगाइले त तिमी कपास जस्तै हलुका बन्दै यति माथि कल्पनाको उडानमा बग्दै छौ । मेरो निश्चल प्रेमको रापले बाफिएर तिमी माथि माथि आकाशमा बादलसरि सलबलाइरहेका छौ । अब तिमी बुँदबुँद बनेर सम्पूर्ण साहित्य–अनुरागीका खडेरी परेका बारी–कान्ला, पाखा–पखेराहरुमा छताछुल्ल हुनुपर्छ ।

तिम्रो अथाह प्रतिभा उजागर गर्नु नै मेरो उद्देश्य हो । तिमी मेरा शब्दहरुमा नतमस्तक हुनुको कारण पनि यही हो । जीवनमा कुनै चीजको पनि स्थायित्व छैन । कलकलाउँदोजवानी ढलेर जान्छ ।

सुन्दर फूलहरु ओइलाउँदै अन्तमा सुकेर जान्छन् । मानव चोला नै नाशवान् छ भने तिम्रो मप्रतिको लगाव कति समयसम्म रहला र ? साहित्य, कला त्यो मधुर धुन हो जसले बाहिरी ध्वनि पैदा गर्दैन तर मनलाई भने प्रफुल्ल हुने गरी तरंगहरु पैदा गरेर जान्छ । त्यसैले मनलाई सधैं प्रफुल्ल बनाउने काममा लाग्नु । आफूलाई सधैं खुसी राख्नु । जीवनमा बाँकी नरहने वस्तुहरुको मोहमा धेरै जकडिनुहुँदैन । तिमीले आफ्नो एक्लोपनको साथी अध्ययन, लेखाइलगायत मानवसेवा ठान्नुपर्छ जसले तिमीलाई आफ्नो जीवन नरहँदा पनि बचाइरहन्छ ।

हो, वसन्तका यी र यस्तै शाश्वत वाणीहरुले नै मलाई ऊप्रति अद्दृश्य प्रेम बढाइरहन्छ । जीवनमा उनलाई भेट्छु वा भेट्दिन तर उनका मृदुल र कोमल शब्दका तरंगहरुको आभासमा म रमाइरहन सक्ने भएको छु ।

उमेर, परिस्थिति, परिवेशअनुसार मनमा अनायासै रंगिन भावना उत्पन्न हुन जान्छ । अहिले मेरो मनले वसन्तलाई मन पराएको छ । उसप्रति आशक्त गराउने जुन अद्दृश्य तत्व छ, त्यो भावना नै प्रेम हो । म त्यही भावनात्मक प्रेममा मनमौजी रमाइरहेछु । आत्मिक तिनै हुन्जसले स्वतन्त्र र स्वेच्छाले जीवन जिउन पाएको हुन्छ ।

म नबाँधिएर पनि बाँधिएकी छु, कसैले नतान्दा पनि तानिएकी छु र म स्वतन्त्र भएर पनि बद्ध छु । म पखेटा नभए पनि उडिरहेकी छु र मनले माथि–माथि, पर–पर त्यो निरन्जन निराकार आँखाको शुन्यताभित्र उमंगको फिलिंगोअनुभव गरिरहेछु–

प्रतिक्रिया

सम्बन्धित खवर