– सिर्जन अविरल

सम्बन्धको साँघुरो साँघु तरेपछि
मेटिँदै गएका हत्केलाका बाङ्गाटिङगा रेखाहरू हेरेर
उभिएकी छु, तिमीले एक्लै छोडेर गएको दोबाटोमा
कुरी बसेकी छु, जीवनको रातो रङ
देखिरहन्छु ईन्द्रेणी सपना
सुसेल्छु जीवनकै लामो गीत
सोचिरहेँ ,
– कुन समय उदायो यो अस्ताउँदै गरेको बुढो घाम ?
– डुबाउनु रैछ दुःखकै तलाउमा
– कसले लिपेको हो, मनका गह्राहरूमा प्रेमको गीत ?
– दुःख गाउँदै उड्ने जङ्गली चरा किन पसेका हुन् बस्तीमा ?
– समयले किन बजाइरहन्छ दुःखकै अर्केस्ट्रा कमलो छातीमा?

सोधिरहेँ प्रश्नहरूको जङ्गलबाट
– शीत पोखेर हिउँदको गीत लेख्ने जूनसँग
– रहर बगाएर लाने नदीको लहरसँग
– बाँचे जस्तो किरिङमिरिङ सपना देखाइरहने समयसँग
– दिनहुँ पहाडमा ठोक्किए सपनासँगै डुब्ने पहेँलो घामसँग

मेरो खुसीको ईश्वर कहाँ छ ?
कति पर छ, म हिँड्दै जाने बाटो ?
कहाँ पुगेर देखिन्छ जीवनको ईन्द्रधनुष ?

गोधूलि–साँझमा फर्किएपछि बटुवाहरू यात्राबाट
कुर्दाकुर्दै नफर्कने तिमीलाई सम्झिएपछि
आँखामा उदाएर आँखामै अस्ताउँछ सपना
उँधो उँधो बगिरहेको गहिरो नदी हेरेर
नलागेको होइन, बगूँ यही नदीमा दुःखसँगै सलल
– आँखाको चेपबाट कति बग्यो दुःखको नदी ?
– यही नदीमा कति सुनियो दुःखको कथा ?
– पानीको ऐनामा कति पढियो दुःखको अनुहार ?
सायद बगेर नसकिने रहेछ दुःखको नदी ।

वर्षौँदेखि उभिएकी छु, तिमीले छोडेकै ठाउँमा
हाँगा लाछिएर पनि पलाइरहने रुख रहेछ जीवन
तिमी गएको निर्जन जङ्गलको बाटोमा
पठाएकी हुँ एक जोर आँखाहरू
र,
उभिएकी छु, तिमीले छोडेकै ठाउँमा
सपनाहरू छन् ,उमेरका पुतली जस्तै भाग्दै गएका
चराहरू छन् , रुखको डाली छोडेर उँड्दै गरेका
कुहिरोले डम्म छोपेको छ, पहाडको छातीमा
दुःखमा रहेछ, जीवनको महक
पर्खाइमा रहेछ, जीवनको सौन्दर्य
दुःखमै देखिनेरहेछ अनुहारमा खुसीको घाम ।

***

प्रतिक्रिया

सम्बन्धित खवर