-अमर सन्तती

१,
आँखामा  कसरी भयो यो  ताल  मेरो !
छल्किरहने कसरी भयो यो छाल मेरो !
म त दुखेँ ,दुखाउन चाहन्न  तिमीलाई,
नसोध्नू ,कसरी  भयो  यो  हाल  मेरो !

२,
विरहले मन छोएका पलहरु
आँसुले तन धोएका पलहरु
जति बिर्सुँ भने पनि सकिएन ,
पीडाले जीवन रोएका पलहरु

३,
पीर र चिन्ता नलिनु रै’छ यस्तै हो जगत
सम्झेर  पनि  नहुने  रै’छ  विगत  आगत
चिताऔँ सधैँ सबैको भलो, नगरौँ कुभलो
आखिर के नै रै’छ र जीवन दुईदिने फगत

४,
कहाँ हराए खै ! अप्ठ्यारोमा भर दिन्छु भन्नेहरु
मनको  सुन्दर  फुलबारीमा  घर दिन्छु  भन्नेहरु
आगो लगाई मोडिएछन्,आफ्नो बाटो सोझ्याएर ,
जीर्ण मनको यो पाली छाउन खर दिन्छु भन्नेहरु

५,
हाँगाभरि ढकमक फूल  फुले पनि
आकासमा बादलुको तूल खुले पनि
अविरल  प्रेमधारा बगोस् नदी जस्तै,
माया दिने मायालुले मूल भुले पनि ।

***

प्रतिक्रिया

सम्बन्धित खवर