
– राजबाबु श्रेष्ठ सागर
राकेश र सदिसा स्कुलमा सँगसँगै पढ्थे । पछि एसएलसी पास गरेपछि पनि उनीहरू दुवै सँगसँगै कलेज पढ्न थाले । सदिसा निकै सुन्दरी थिइन् । यस्ती लाग्थिन्, भगवान्ले उनलाई बनाउँदा निकै फुर्सदले नै बनाएको हुनुपर्छ ।
सदिसालाई यही रूपको निकै घमन्ड थियो । उनी आफूलाई धर्तीकी परी नै सम्झिन्थिन् ।
उनी भन्थिन्, “मलाई पाउन त सात जुनीसम्म महादेवको तपस्या गर्नुपर्छ, तपस्या ।”
कसैलाई भन्थिन् “आफ्नो अनुहार कैल्यै ऐनामा हेर्या छस् ?”
कसैलाई भन्थिन् “के हैसियत छ तेरो मलाई प्रेमप्रस्ताव राख्ने ?”
तर उनी भने राकेशको पछि पर्थिन् । राकेश भने सदिसालाई मन पराउँदैन थिए । उनले गरेको रूपको घमन्ड, जिद्दीपना र लाएको धनको फुर्ती राकेशलाई पटक्कै मन पर्दैन थियो ।
एकदिन कलेजमा छुट्टी भइसकेको थियो । विद्यार्थीहरू सबै आआफ्ना घर गइसकेका थिए । राकेश र सदिसा भने क्लासरुमभित्रै थिए । राकेश बेन्चमा टाउको निहुर्याएर आराम गरिरहेका थिए ।
“सन्चो भएन तिम्लाई ?” सदिसाले राकेशको कपाल हातका औँलाहरूले खेलाउँदै भनिन् ।
“टाउको दुखिरा’छ ।” उनले छोटो जबाफ दिए ।
“आइ लव यु राकेश । आइ लव यु ।” सासेस्वरमा राकेशलाई गम्लङ्ङ अँगालो हाल्दै आफूभित्र बगिरहेको प्रेम सदिसाले राकेशको काखमा पोखिन् ।
यत्ति के भनेकी थिइन् सदिसाले उनका दुवै हातलाई उनले एक्कासि पर हुत्याउँदै भने, “आई हेट् यू…… । हेट् …..यू । हेट् यू …. । आइ लव समवन्… । समवन्…। समवन्… ।”
उनले आवेशमा भनेका यी वाक्यहरू इक्कोमा गुन्जिए । एकछिनसम्म हावामा गुन्जिरहे ।
“को हो त्यो केटी ?”
“म चिन्दिनँ ।”
“व्हाट ?”
“येस ।”
“कसरी भेट्यौ ?”
“सपनामा ।”
“व्हाट ?”
“येस ।”
“तिमी पागल त भएनौ, त्यो पनि सपनामा ?”
“हो, म पागल हुँ, पागल । लिभ मी एलोन । फेरि तिम्रो र मेरो जात पनि मिल्दैन ।”
“त के भो ? मलाई मिल्छ ।”
“तर मलाई मिल्दैन । किनकि, मैले छोएको पानी चल्दैन ।”
“त के भो ? मलाई चल्छ ।”
“तर यो समाजलाई चल्दैन । तिम्रो बुबालाई चल्दैन । म दलित हुँ, दलित । म यस्तो धर्मको केटी बिहे गर्छु, जुन धर्ममा एउटै स्त्री र पुरुष जात होस् । म यस्तो धर्मको केटी बिहे गर्छु, जुन धर्ममा एउटै भगवान् अथवा ईश्वर होस् ।” राकेशले यति भन्दै घुँडा टेके र रुँदै आफ्ना सबै भँडास आँसुसँगै पोखे ।
सदिसा तीनछक परिन् र कुनामा गएर आफैँलाई रित्याएर आँसुले आफूलाई पखालिन् ।
मनमा बदलाको भावनाको बिउ रोपिन् र प्रतिज्ञा गरिन्, “तैँले जुन केटीसँग बिहे गरे पनि म तिमरू दुवैलाई चैनको सास फेर्न दिने छुइनँ ।”
***
राकेश एक हप्ता ज्वरोले नराम्रो गरी ओइलिए । उनी कलेज आउन सकेनन् । निको भएपछि पनि उनी गहिरो चिन्तामा धसिँदै गए । उनले बारम्बार सपनामा देखिएका दृश्यहरू स्मरणमा केलाउन थाले । आफूले दौडाएको उही रातो घोडा बारम्बार स्मृतिको पर्दामा आइरह्यो । बुर्काले ढाकिएकी एक सुन्दरी गोरी मुसलमान केटीको अनुहार उनको सम्झनाका स्क्रिनमा झलझली आइरह्यो ।
राकेशले आफैले आफैलाई प्रतिप्रश्न गर्न थाले, “को हो त्यो मुसलमान केटी ? त्यो केटीसँग मेरो के सम्बन्ध छ ? किन मलाई सपनामा बारम्बार त्यै केटी र घोडा देखाइरहन्छन ?
किन म सेतो मस्जिदभित्र बारम्बार नमाज पढेको देख्छु ? जबकि म मुसलमान पनि होइन । नमाज त मुसलमानले पढ्ने गर्छन् । फेरि मैले नमाज पढेको देख्नुको के अर्थ ? कुरान पढेको देख्नुको के अर्थ ? फेरि कालो अजङ्गको साँपले त्यही मुसलमान केटीलार्ई लहराले झैँ किन जिउमा बेरेको देख्छु ? कालो त्यही साँपले किन जन्मँदै गरेको बालिकालाई बारम्बार निलेको देख्छु ?”
उनी यसै गरी घरी डराउँथे त घरी आतिन्थे । उनलाई यही घटनाले निकै छटपटी गराउनुसम्म गरायो ।
उनले अन्त्यमा पढाइ छाड्ने निर्णय गरे । आफू पूर्ण रूपमा ठिक भएपछि घर छाडेर सपनामा देखिएकी मुसलमान केटीलाई कहीँ भेटिन्छ कि भनेर उनले खोजी गर्ने मनमनै निर्णय गरे ।
अन्ततः उनी राति बाह्र बजे कसैले थाहा नपाउने गरी बाआमा सुतेका कोठाको ढोकामा नतमस्तक भए र निधारले छोएको ठाउँमा उनले दायाँ हातले स्पर्श गरे । मुखले आफ्नो हात चुम्बन गरे र लगेर हात छातीमा टाँसे ।
आकाशतिर फर्किंदै भने, “हे भगवान् ! मेरा मातापितालाई रक्षा गर ।”
अन्ततः उनले घर छाडे । ब्यागमा एकसरो आफूलाई चाहिने कपडाहरू राखे । उनले एक नजर भित्तामा फ्याँके । देखे भित्तामा हावामा शनैःशनै चचहुइ खेलिरहेको म्यानसहितको एउटा खड्ग । उनले त्यही खड्गसहितको म्यान कम्मरमा भिरे ।
सडकमा पुगेर बाटो लाग्नुभन्दा पहिला एकपल्ट घरलाई फर्किएर प्रेमले हेरे । आमा सम्झे । बा सम्झे । फेरि आफूले चढ्ने रातो घोडा सम्झे । सेतो मस्जिद सम्झे अनि मुसलमान केटीलाई सम्झे । एकपल्ट लामो सास फेरी चोरऔँलाले झर्नै लागेका दुई ढिक्का आँसु पुछे र उनी गन्तव्यको खोजीमा ओझेल भए ।
***
उनी एक भारी गन्तव्यका सपना बोकेर रातभरि हिँडिरहे । घाम ब्युँझिसकेको थियो । गाउँघर र सहर सबैमा उज्यालो छताछुल्ल भई पोखिइसकेको थियो । बाटामा मान्छेहरू ओहोरदोहोर गरिरहेका थिए । अचानक उनको खुट्टामा एउटा कुनै चिजको पोको ठोक्कियो । उनले निहुरिएर पोको हेरे । पोको रातो कपडाले र्यापिङ गरिएको थियो । उनले पोको खोले । पोकोभित्र नेपाली भाषामा अनुवाद गरिएको एउटा “पवित्र कुरान” देखे ।
उनले फेरि सपनामा कुरान पढेको दृश्य सम्झे ।
उनले पोको पहिलेकै जस्तै गरी बाँधे र छातीमा अँगाले ।
पोकोलाई ब्यागभित्र राखे र भने, “थाहा छैन मलाई मेरो भाग्यले कता लैजाँदै छ । नदी स्वतन्त्र कहाँ बग्छ र आफै ? जस्ताजस्ता किनारा छन् त्यस्तैत्यस्तै बग्नुपर्ने हुन्छ । थाहा छैन, मेरो भाग्यको किनाराले मलाई कता लिएर जाँदै छ ।”
***
उनी एक महिना भोकप्यास केही नभनी अविरल हिँडिरहे । उनी जहाँजहाँ बास बस्थे त्यहाँ कुरान पढ्ने गर्थे । उनले आधाआधी कुरान पढिसकेका थिए । उनले जगत्, जीवन, मृत्यु, सृष्टि, पाप र धर्म के हो भन्ने सबै बुझिसकेका थिए ।
स्त्री, पुरुष, ईश्वरको जात, धर्म, रङ र ईश्वरको नियम के हो भन्ने सबै बुझिसकेका थिए । तर आफू जन्मनुको अर्थ के हो ? आफ्नो जात र धर्म के हो ? उनले अझै बुझ्नै बाँकी नै थियो । पूर्ण जीवनको अर्थ के हो ? उनले खोजी गर्दै गरेको जीवनको अर्थ के हो ? उनले अझै यी सब बुझ्न बाँकी नै थियो ।
उनी यसरी हिँड्दाहिँड्दै तराईको महोत्तरी जिल्लाको पर्सा भन्ने एउटा विराट् मुसलमान गाउँमा पुगे । त्यहाँ पिपलको रुखको एउटा ठुलो चौतारो थियो । गएर त्यही चौतारोमा उनले भारी बिसाए र निमिषमै उनी भुसुक्कै निदाए ।
त्यही चौतारोको करिब तीन सय मिटर टाढाबाट आएको एउटा विशाल भिडको कल्याङमल्याङ आवाजले बिहानी पखको भालेले ब्युँझाएझैँ उनलाई ब्युँझाइछाड्यो ।
उनी उठेर कल्याङमल्याङ भएको भिडतिर अघि बढे । उनी भिडलाई छिचोल्दै भित्र पसे र त्यहाँ देखे एउटा रातो जवान घोडा बेकाबु भएर हिनहिनाउँदै दौडिरहेको । कसैले त्यो घोडालाई काबुमा ल्याउन सकिरहेका थिएनन् । घोडालाई काबुमा ल्याउन चारैतिरबाट पुरुषहरू लखाकी फ्याँकेर छाँद हाल्ने प्रयास गरिरहेका थिए । तर छाँद हाल्न भने कसैले सकिरहेका थिएनन् ।
कोहीकोही ठेट मैथिलीमा भनिरहेका थिए, “घोडा पागल भगेलै, पागल । यक्रा गोली ठोएक्के मारे पर्तै ।”
कोहीकोही भन्दै थिए, “यो घोडालाई सायराबाहेक कसैले काबुमा ल्याउन सक्दैनन् । तर उनी ऐले बिरामी छिन् । बाआमा हज गर्न ग’का छन् मक्कामदिनामा । त्यसैले घोडा तबेलाबाट बन्धन छिना’र पागल भ’को छ, पागल ।”
कोहीकोही भनिरहेका थिए, “सायरा मालिक्नीको घोषणा छ, जुन मुसलमानले यो घोडालाई काबुमा ल्याउन सक्छ, उनले त्यै मुसलमानसँग निकाह गर्छिन् ।”
तर भिडमा भएका सयौँ मुसलमानहरूका लाखौँ कोसिसका बाबजुद पनि घोडा काबुमा आएको थिएन । घोडा बिहानैदेखि बेकाबु भइरहेको थियो ।
राकेशको घरमा पनि एउटा रातो घोडा थियो । उनले दश वर्षको उमेरदेखि नै घोडसवारको तालिम लिएका थिए ।
उनले मनमनै सोचे, “यो घोडालाई म काबुमा ल्याउन सक्छु । घोडाले सर्वप्रथम त घोडसवार हो कि होइन भन्ने कुरा परैबाट चिन्छ । घोडाको करेली समाएर गर्दनको तल थुमथुम्यायो भने घोडा आफै घोडसवार चिनेर काबुमा आइहाल्छ ।”
अन्ततः उनले त्यसै गरे । बोकिरहेको झोला भुइँमा राखे र घोडालाई काबुमा ल्याउन भनी मैदानमा उत्रिए ।
“यह मर जाएगा, मर जाएगा । यह भी पागल है, पागल ।” भिडको बिचबाट कसैले हिन्दीमा भनिरहेका थिए ।
हेर्दाहेर्दै राकेशले बेकाबु घोडानेर पुगेर जोडले करेली समाए । घोडा निमेषमै काबुमा आयो । उनले गर्दनको तल घाँटीमा मायाले थुमथुम्याए । गर्दनमा अँगालो मार्दै घोडाको गालामा चुम्बन गरे ।
त्यसपछि बुरुक्क फुर्तीको साथ जम्प मारे र घोडाको पिठ्युँमा चढे । उनले चढ्नेबित्तिकै लगाम जोडले तानेर घोडालाई पछाडिको दुई खुट्टामा हिनहिनाएर उभ्याई देखाए भिडलाई र लगाम समाएर घोडालाई त्यही मैदानमा तीन चक्कर मारेर धुल्याम्मै पारी फिल्मी पाराले देखाए सबैलाई ।
भिडमा उपस्थित सबै जना दङदास परे ।
उनले सोधे, “तबेला काँ छ ?”
भिडले दक्षिण दिशातिर औँलाले इसारा गर्दै देखाए ।
उनको ब्याग एक जनाले बोकिदिए ।
उनीसँगसँगै भिड पनि पछ्याउँदै तबेलासम्म आयो ।
उनले तबेलामा लगेर घोडा बाँधिदिए । अँगालो मारी निधारमा चुम्बन गरेर तबेलाबाट फर्के ।
उनी घोडा बाँधेर करिब दश मिटर पनि अघि बढेका थिएनन्, उनलाई हेर्दै घोडा जोडले हिनहिनायो ।
उनी फरक्क फर्केर फेरि घोडातिर बढ्दै गर्दा घोडाले आफ्नो टाउकोले आऊ-आऊ भनेर इसारा गर्दै बोलाउँदै गरेको उनले देखे ।
उनले घोडानिर पुगेर अँगाले घोडालाई । घोडाको निधारमा पुनश्च चुम्बन गरेर उनी छुट्टिन खोजे तर घोडाले टाउको हल्लाएर नजानू भन्ने इसारा गर्यो ।
दृश्य निकै गम्भीर र दयनीय बनेको देखियो । यत्तिकैमा चार जना दौडिँदै भिडलाई छिचोल्दै तबेलामा आए र राकेशका दुवै पाखुरा समाई हवेलीतिर तानी लग्दै भने, “हवेलीमा सायरा मालिक्नीले तपाईंलाई ले’र आउनू भनेकी छिन् ।”
राकेश बिचरो दाम्लोको खसीझैँ तानिँदै गए हवेलीतिर ।
भिड पनि पछिपछि पछ्याउँदै गयो ।
बाँकी भिड हवेलीको आँगनमै रोकियो ।
तर चार जना भने उनलाई समाउँदै माथि उक्ले र सायरा सुत्ने कोठाभित्र प्रवेश गरे ।
***
“अस्सलामु अलैकुम्, मालिक्नी ।” ती चारै जनाले एकैसाथ सायरालाई सलाम गरे ।
“अलैकुम् अस्सलामु ।” बिछ्यौनाबाट उठ्दै सायराले सलाम फर्काइन् ।
“हाम्रो काबुमा नआउने ‘जाकिरा’लाई काबुमा ल्याउने यै मान्छे हो, मालिक्नी ।” दायाँतिर उभिने एक जनाले भने ।
“अस्सलामु अलैकुम् ।” सायराले राकेशतिर हेर्दै सलाम गरिन् ।
“नमस्ते ।” राकेशले भने ।
“तपाईं, मुसलमान होइन र ?” आश्चर्य मान्दै सायराले सोधिन् ।
“म हिन्दु हुँ ।” उनले नम्र भएर जबाफ फर्काए ।
सायरा तीनछक परिन् । उनको होसै उड्यो । उनले केही सोच्नै सकिनन् र अनायासै बिछौनामा थुचुक्कै बसिन् ।
उनी गहिरो सोचमा परिन् र मनमनै भनिन्, “या, अल्लाह ! हिन्दुसँग मेरो कसरी निकाह हुन सक्छ ? के यत्रो विराट् पर्सा गाउँको मुसलमानका भिडमा एउटै मर्द मुसलमान रै’नछन् जाकिरालाई काबुमा ल्याउन सक्ने ? मर्द त निस्के जाकिरालाई काबुमा ल्याउने तर गैरमुस्लिम ? या, अल्लाह ! यो कुन इम्तिहान हो मेरा लागि ?”
राकेश पनि तीनछक परे । जब सायरालाई देखे, उनको त होसै उड्यो । उनको शरीर बाफिएर आयो । दिउँसै तारा देखेझैँ उनका आँखा तिर्मिराए ।
उनले सपनाका दृश्यहरू झलझली सम्झे र मनमनै भने, “उही अनुहार र उही नाम । यही नामले मैले सयौँचोटि पुकारेको छु सपनामा । उही जाकिरा नामको घोडा, यै घोडामा मैले सायरालाई कैयौँचोटि सवार गराएको छु । यी सबै कसरी सम्भव हुन सक्छन् ? आज म तिनै सायरालाई आफ्नै आँखाका सामु पहिलोचोटि देख्दै छु । यो कसरी सम्भव हुन सक्छ ? हे भगवान् ! यो के लीला हो तिम्रो ?”
उनले कुरानका आयतहरू सम्झे, “जो अल्लाहको मार्गमा घरबार छोडेर निस्किनेछ उसले धर्तीमा धेरै ठाउँ तथा टिक्ने अवसर पाउनेछ ।”(सुरह – अन् निसा, १००)
यत्तिकैमा सायराका बाआमा हज गरेर घर आइपुगेको खबर एक जनाले दौडँदै आई सुनाए, “मालिक्नी, मालिक्नी, तपाईंको अब्बाजान र अम्माजान घर आइपुग्नुभो ।”
सायरा र राकेश दुवै जना यो खबरले झस्किए । अब्बाजान र अम्माजान आएको खबरले सायरा उज्यालिएर आइन् ।
राकेशलाई चारै जनाले पाखुरामा समाएर तल झारे । तर सायरा आफ्नै कोठामा बसिरहिन् । एकैछिनमा सायराकी अम्माजान कोठाभित्र प्रवेश गरिन् । आमाछोरीले एकार्कामा सलाम फर्काए । अङ्कमाल गरे ।
“अम्माजान, के इम्तिहान लिँदै छ अल्लाहले मसँग ?” आमालाई अँगाल्दै उनी रुन थालिन् ।
“नरोऊ छोरी, नरोऊ । अल्लाहले सबको सुन्छन्, तिम्रो पनि सुन्छन् ।” अम्माजानले सम्झाउँदै भनिन् ।
***
हवेलीको आँगन भिडैभिडले भरिएको थियो । हवेलीको पूर्वदक्षिण कुनामा एउटा ठुलो सभाकक्ष बनेको थियो । सभाकक्षमा छलफल गर्नका लागि एउटा अग्लो मञ्च बनाइएको थियो । त्यही मञ्चको बिचमा राखिएको थियो एउटा निर्णायक राजकुर्सी ।
त्यही राजकुर्सीमा सायराका पिता युसुफ खान बसिरहेका थिए । हलमा राता कार्पेटहरू बिछ्याइएका थिए । त्यही कार्पेटमा गाउँले मुसलमानहरू खचाखच भई युसुफ खानको निर्णय सुन्न बसिरहेका थिए भने भिडका केही मुसलमानहरू राकेशको बहादुरी र प्रशंसा गर्दै युसुफ खानलाई सुनाइरहेका थिए ।
चार जनाले दुईतिरबाट राकेशलाई पाखुरामा समाउँदै ल्याएर युसुफ खानका अघि सम्मानका साथ पेस गरिदिए ।
भिडका सबै आँखाहरू एकैसाथ गएर राकेशमा ठोक्किए । युसुफ खानका आँखा पनि उनमै केन्द्रित भए । भिडका ठाउँठाउँमा कानेखुसी गरिरहेका दृश्यहरू देखिन्थे ।
“मैले सुनेको तिम्रो बहादुरी र प्रशंसा के वास्तवमै सत्य हो ?” युसुफ खानले प्रश्न गरे ।
“नमस्ते हजुर ! हजुरले के सुन्नुभो त्यो मलाई था’ छैन । हजारौँ भिडका बिचमा एउटा बेकाबु घोडालाई काबुमा ल्या’को खबर हो भने यो सत्य हो हजुर ।” राकेशले आफ्नो बयानमा भने ।
“तर मेरी छोरीले प्रतिज्ञा गरेअनुसार तिम्लाई सायरासँग निकाह गरिदिनुपर्ने हुन्छ । तर इस्लाम धर्ममा एउटा मुसलमान स्त्रीलाई गैरमुसलमान पुरुषसँग निकाह गर्नु भनेको इस्लाम धर्मको खिलाफ जानु हो । त्यसका लागि तिम्ले मुसलमान बन्नुपर्ने हुन्छ । तिम्रो के राय छ ? स्पष्ट भन ।” युसुफ खानले स्पष्ट पारे ।
उनले अतिशय सोचविचार गरी भने, “मलाई गन्तव्यमा डोर्याउने अल्लाहको यही राय छ भने स्वीकार्य छ मलाई मुसलामन हुन ।”
यतिकैमा एक जना पुरुष भिडलाई छिचोल्दै एउटा झोला हातमा झुन्ड्याउँदै युसुफ खाननिर आए र झोलाबाट कुरान निकाल्दै भने, “मालिक, मालिक, यी मुसलमान है, मुसलमान । यी देखू त यक्कर झोला में कुरान मिल्लक ।”
भिडमा अचानक सन्नाटाको बादलले झ्याप्पै छोप्यो । सबै जना एकार्कामा मुखामुख गर्न थाले । केही मान्छेहरू कानेखुसीसाथ कुराहरू गर्न थाले । यो खबरले युसुफ खान पनि दुविधामा परे ।
“के यो सत्य हो ? यसको मतलब के तिमी वास्तवमै मुसलमान हौ ?” युसुफले पुनः सोधे ।
“यो खबर सत्य हो तर म मुसलमान होइन ।” उनले निर्धक्क भई उत्तर दिए ।
“फेरि, सत्य के हो त ? तिम्रो झोलामा कुरान कसरी आयो त ?” उनलाई युसुफले अलि कड्केर प्रश्न गरे ।
“यो कुरान मैले बाटोमा भेटेको हुँ, जसलाई म सपनामा बारम्बार देख्थेँ र यही कुरान पढेको देख्थेँ ।” उनले रहस्यको पोयो फुकाए ।
उनको यो कुरो सुनेर सबै जना चकित भए ।
युसुफ खान गहिरो सोचमा डुबे र मनमनै भने, “या अल्लाह ! यो के चमत्कार हो तिम्रो ? यानि तिमी एउटा हिन्दुलाई मुसलमान बनाउने हिदायत गरिरहेछौ । अल्हम्दुलिल्लाह !” उनको अनुहार उज्यालोले लपक्कै पोतियो ।
“अरू केके देख्यौ तिम्ले सपनामा ?” उनले फ्याट्टै सोधिहाले ।
“जाकिरा घोडा, सायरा र सेतो मस्जिद जुन मस्जिदमा मैले बारम्बार नमाज पढेको देख्छु ।” राकेशले एकै सासमा सिध्याए ।
“पाहुनालाई पाहुनाकक्षमा सम्मानका साथ आराम गर्ने व्यवस्था गरिदेओ । आजको सभा यहीँ सकिन्छ र भोलि यही समय सभा बसिनेछ ।” उनले मुस्कुराउँदै सभा सकिएको घोषणा गरे ।
सभा उठेर आआफ्ना घरतिर लागे । राकेश मुसलमान हुनलाई कबुल गर्ने खबरले सायरा अतिशय खुसी भइन् । युसुफ खान भने राजकुर्सीमै बसेर केहीबेर सोचमग्न भए ।
***
भोलिपल्ट त्यही सभाकक्षमा मान्छेहरू जम्मा भए । मञ्चमा पश्चिम फर्किएको कुर्सीमा मौलवीलाई बसाइएको थियो । पूर्व फर्किएका दुईवटा कुर्सीमा सायरा र सायराकी आमालाई बसाइएको थियो । उत्तर फर्किएको राजकुर्सीमा युसुफ खान बसेका थिए भने दक्षिण फर्केको कुर्सीमा राकेशलाई बसाइएको थियो ।
“कलमा पढाउने कार्यक्रम सुरु गरियोस् मौलवी ।” युसफ खानले आदेश गरे ।
मौलवीले उठेर राकेशलाई ‘आउनुस्’ भन्ने इसारा गरे ।
राकेश गएर पश्चिम दिशातिर फर्केर उभिए । मौलवी पूर्व दिशातिर फर्किएर उभिए । सायरा र अम्माजानले पनि उभिएर साथ दिए । युसुफ खान पनि उभिए ।
“मैले जसरी तपाईंलाई कलमा पढाउँछु, त्यसै गरी तीन/तीनपटक कलमा पढ्नुहोला ।” मौलवीले निर्देशन गरे राकेशलाई ।
उनले हस् भन्ने इसारामा मुन्टो हल्लाए ।
“अश्हदु अल्लाइलाह इल्लल्लाहा । अश्हदु अन्ना मुम्मुदर्रसलुल्लाह । (म गवाही दिन्छु कि अल्लाहबाहेक कोही पूजनीय योग्य छैन । म गवाही दिन्छु कि मोहम्मद स. ओ. स. अल्लाहका रसुल हुन्) । मौलवीले कलमा तीनपटक दोहर्याए ।
“अश्हदु अल्लाइलाह इल्लल्लाहा । अश्हदु अन्ना मुम्मुदर्रसलुल्लाह । उनले पनि तीनपटक दोहर्याए ।
तेस्रोपटक कलमा पढिसकेपछि युसुफ खानले ताली पिटेर स्वागत गरे ।
सायरा र अम्माजानले पनि ताली पिटे । सभामा एकैसाथ जोडदार तालीका आवाजहरू गुन्जिए । त्यसपछि उनलाई खत्ना गराइयो र उनको नाम ‘हिदायत खान’ राखियो । त्यसपछि सायरा र हिदायतलाई निकाह गरिदिने कुरा तय भयो ।
निकाह गर्नका लागि इस्लाम धर्मानुसार उनले सायरालाई महरको रूपमा केही उपहार दिनुपर्ने हुन्थ्यो । तर उनीसँग त्यस्तो केही पनि थिएन । आफ्नो सुरक्षाका लागि घरबाट बिदा हुँदै बोकेको मात्रै एउटा खड्ग थियो ।
त्यही खड्ग म्यानबाट झिकेर उनको हातमा थमाउँदै घुँडा टेकेर भने, “आफ्नो ज्यानको सुरक्षाका लागि बोकेको यही एउटा खड्ग छ मसँग । यही खड्गले मेरो प्राण रहुन्जेल म सायराको ज्यानको सुरक्षा गर्ने वाचा गर्दछु ।”
सायरा खुसीले लपक्कै भिजिन् । उनीबाट महर कबुल भयो । त्यसपछि उनीहरू दुवैलाई निकाह गराइयो । इस्लाम धर्मानुसार उनीहरू दुवै एकार्काका पतिपत्नी भए ।
पश्चिमपट्टिको सानो सानदार हवेली उनीहरू दुवैलाई हस्तान्तर गरियो । सायराले चढ्ने रातो जाकिरा घोडा पनि हिदायतलाई सधैँका लागि जिम्मा लगाइयो ।
उनले नमाज पढ्न सिके । धर्म सिके । कुरानअनुसार आफू जिउन सिके । उनले संसारकै सबैभन्दा ठुलो जात अल्लाहको जात धारण गरे । उनले अल्लाहको रङ धारण गरे । अल्लाहको जातमा कहीँ उँचनीच थिएन । कहीँ ब्राह्मण, क्षत्री, वैश्य र शूद्र थिएनन्, थिए त केवल पुरुष र स्त्री जात ।
उनीहरू एकसाथ सुखी जीवन बिताउन थाले । साथमा नमाज पढ्न थाले । त्यही जाकिरामा चढेर दुवै जना गाउँमा घुमघाम गर्न थाले ।
गाउँको पश्चिम करिब दुई किलोमिटर पर एउटा ठुलो सेतो मस्जिद थियो । त्यस मस्जिदको नाउँ नै ‘सेतो मस्जिद’ राखिएको थियो । हप्ताको प्रत्येक शुक्रबार जुमअःको नमाज पढ्न हिदायत त्यही सेतो मस्जिदमा जाकिरा घोडा चढेर जाने गर्थे ।
***
शुक्रबारका दिन पुरुष मुसलमानहरूले जमातमा नमाज पढ्नु अनिवार्य हुन्छ । जुमअः नमाजको समय भनेको दिउँसोको करिब १२-४५ बजेको समय हुन्छ । यो समय ऋतुअनुसार फरक पर्ने पनि हुन्छ । तर महिला मुसलमानहरूलाई भने जुमअःको नमाज पढ्न अनिवार्य छैन । यदि महिलाहरू पढ्नै चाहन्छन् भने उनीहरूले जोहरको नमाज पढ्न सक्छन् ।
हिदायतले नुहाए, सेतो कुर्ता र सुरुवाल लगाए । कपडामा अत्तर दले । हातमा पनि अत्तर दलेर दुवै हातले मले । उनले घडी हेर्दा बाह्र बजिसकेको थियो । उनी बाहिर निस्केर तबेलातर्फ लागे ।
उनले जाकिरा घोडालाई तबेलाबाट बाहिर निकाले । उनी जाकिरामाथि चढे र उनले सेतो मस्जिदतर्फ घोडालाई दौडाए ।
***
स्थान – सेतो मस्जिद
नमाज – जुमअःको नमाज (शुक्रवार पुरुषहरूले अनिवार्य रूपमा जमातमा नुहाईधुहाई शुद्घ भई पढ्नुपर्ने दुई रकतको नमाज)
मोवज्जिन अजान दिनका लागि किब्लातिर फर्किएर पिरमा उभिए । आफ्ना दुवै चोरऔँलाहरूलाई दुवै कानमा राख्दै अजान दिए ।
“हय्या अलस्सलात” …२ (आउनुहोस् नमाजका लागि)
“हय्या अलल्फलाह” (आउनुहोस् मुक्तिका लागि) भन्दै उनले गर्दन दायाँ घुमाए । फेरि “हय्या अलल्फलाह” भन्दै बायाँ घुमाए ।
“अल्लाहु अक्बर” – २ (अल्लाह सबैभन्दा महान् छन्)
“अश्हदु अल्लाइलाह इल्लल्लाह” – २ (म साक्षी दिन्छु कि अल्लाहबाहेक कोही पूजनीय योग्य छैनन् ।)
“अश्हदु अन्ना मुहम्मदर्रसूलुल्लाह” – २ (म साक्षी दिन्छु कि मुहम्मद स. ओ. स. अल्लाहका रसुल हुन् ।)
“हय्या अलस्सलात” …२ (आउनुहोस् नमाजका लागि)
“हय्या अलल्फलाह” (आउनुहोस् मुक्तिका लागि) भन्दै गर्दन दायाँ घुमाए । फेरि “हय्या अलल्फलाह” गर्दै गर्दन बायाँ घुमाए ।
“अल्लाहु अक्बर” (अल्लाह सबैभन्दा महान् छन्)
“ला इलाह इल्लल्लाह” (अल्लाह मात्र एउटै छन्)
मोवज्जिनले अजान भर्खरै सकिसकेका थिए ।
हिदायत घोडा तबेलामा बाँधी वुजु गर्न बसे । वुजु सकेर उनी मस्जिदभित्र पसे ।
***
इमामले पिरमा उभिएर खुत्बः दिइरहेका थिए ।
नमाजीहरू सबै लाइनलाइन भई इमामका खुत्बः (नमाज सुरु हुनुभन्दा पहिले इस्लाम तथा मुहम्मद स.ओ.स.का बारेमा गरिने गुणगान) सुनिरहेका थिए । दुई जना नमाजी गम्छाका दुईतिरका फेरा समाती लाइनलाइनमा पसी भेटी उठाइरहेका थिए ।
हिदायत दुई रकतको नमाज पढी खुत्बः सुन्न बसे ।
खुत्बः सकेपछि इमाम पिरबाट ओर्लेर नमाज पढाउनलाई जमातको अघिल्तिर आई उभिए ।
***
नमाज –
इमामले तकबिर तहरिम गर्दै “अल्लाहु अक्बर” (पहिलो रकतको नमाज पढ्दा सुरुमा दुवै हात कानको लोतीसम्म उठाउनु) भन्दै बायाँ हात छातीमा राखी दायाँ हातले बायाँ हातमाथि राखी समायो र दुवासना सबैले सुन्ने गरी पढे ।
“अल्लाहुम्म बाइद बैनी व बैना खतायाया कमा बाअत्ता बैनल मशरिकि वल मगरिबि, अल्लाहुम्म नक्किनी मिन खतायाया कमा योनक्कस्सबुल अबयद्द मिनद्दनसि, अल्लाहुम्मग्सिल्नी मिन खतायाया बिलमाइ वस्सलजी वल्बरद”
(हे अल्लाह ! म र मेरा पापहरूबिच यस्तो दूरी गरिदेऊ जस्तो तिमीले पूर्व र पश्चिमको दूरी राखेका छौ । हे अल्लाह ! मलाई तिमीले सेतो लुगालाई फोहोरबाट सफा पारेझैँ मेरा पापहरू सफा गरिदेऊ ।)
सबै नमाजीहरूले पनि त्यसै गरी तकबिर तहरिम गर्दै “अल्लाहु अक्बर” भने ।
फेरि इमामले अर्को दुवा पढे, “अउजू बिल्लाही मिनश्शैता निर्रजिम् ।”
(म पतित सैतान र त्यसको शङ्का, अभिमान र तन्त्रमन्त्रबाट अल्लाहको संरक्षण चाहन्छु जो ज्ञानी र सुन्नेवाला छन् ।)
फेरि इमामले “बिस्मिल्लाहिर्राहेमानिर्रहीम्” भन्दै सुरे फातिहा पढे, “अल्हम्दुलिल्लाही रब्बिल आलमीन्, अर्राहेमानिर्रहीम्, मालियोकौमद्दिन्, इय्यकनानाबुद ओय्यक नेस्तइन्, इहदिनस्सिरत्तल मुस्तकिम्, सिर्रतल्लाद्दिन् अन्अम्त अल्हैहीम्, गैरिल् मग्दूबी अल्हैहीम ओल्लाद्दिन् आमीन् । (अत्यन्तै करुणामय परम दयालु अल्लाहको नामबाट सुरु गर्दछु । सारा प्रशंसाहरू अल्लाहकै निम्ति छन् जो सम्पूर्ण जगत्का मालिक हुन्, जो अत्यन्तै करुणामयी र परम दयालु छन्, जो बदला दिइने दिनका मालिक हुन् । हामी तिम्रै पूजा गर्छौँ र तिमीसित नै सहायता चाहन्छौँ । हामीलाई सिधा मार्ग देखाऊ । ती व्यक्तिहरूका मार्ग देखाऊ जो तिम्रा कृपाका पात्र भए । ती व्यक्तिहरूका मार्गमा नहिँडाऊ जसमाथि तिमीले प्रकोप खसाल्यौ न त पथभ्रष्टहरूका मार्ग नै ।)
सबै मुक्तदी (नमाज पढाउनेको पछि उभिने नमाज पढ्ने नमाजी) हरूले सुरे फातिहा मनमनै पढे ।
फेरि इमामले सुरे जुमअः पढे ।
फेरि रफउल यदैन (दुवै हात कानको लोतीसम्म उठाउनु) गर्दै “अल्लाहु अक्बर” भन्दै रुकुअ (दुवै हातका औँलाहरूलाई एकार्कामा नजोडिने गरी घुँडामाथि राख्दै ९० डिग्रीको कोणमा पिठ्युँलाई एकदमै सिधा बनाई झुक्नु) गर्दै तस्बिह बयान दुवा पढे, “सुब्हान रब्बियल आजिम्” (म आफ्नो पालनकर्ताको पवित्रताको बयान गर्दछु ।)
फेरि रुकुअबाट उठ्दै “समिअल्लाहु लिमन हमिदह” (अल्लाहले उसले गरेको प्रशंसा सुन्यो जसले उनको प्रशंसा गर्यो) भन्दै रफउल यदैन गर्दै “रब्बना लकल हम्द” (हे मेरो अल्लाह ! तिम्रै प्रशंसा गर्दछु) भने ।
फेरि इमामले “अल्लाहु अक्बर” गर्दै सज्दा गरे र “सुब्हान रब्बियल वबिहम्दिही” (पवित्र छन् मेरा महान् पालनकर्ता र प्रशंसा उनैका निम्ति हो) तस्बिह बयान पढे ।
फेरि “अल्लाहु अक्बर” गर्दै “जलसय इस्तिराहत” (देब्रे खुट्टा नितम्बको तल बिछ्याएर दायाँ पैतालाका औँलाहरूलाई किब्लातिर ९० डिग्रीको कोणमा मोडी पैतालालाई ठाडो पारी बस्नु) मा बस्दै “रब्बिग फिरली” (हे अल्लाह, मलाई क्षमा गर) तस्बिह बयान पढे ।
इमामले फेरि “अल्लाहु अक्बर” गर्दै दोस्रो सज्दा गरे र पहिलो रकत पूरा गरी दोस्रो रकतका लागि रफउल यदैन गर्दै “अल्लाहु अक्बर” भन्दै उठे र पहिलेझैँ गरी छातीमा बायाँ हातमाथि दायाँ हात राख्दै सुरे फातिहा पढे । सुरे फातिया पढिसकेपछि सुरे गासिया पढे ।
मुक्तदीहरूले पनि सुरे फातिहा मनमनै पढे ।
फेरि इमामले रुकुअ गरे । मुक्तदीहरूले पनि इमामसँगसँगै रुकुअ गरे । फेरि इमामले सज्दा गरे । मुक्तदीहरूले पनि सज्दा गरे । फेरि इमाम “जलसय इस्तिराहत” मा बसे । मुक्तदीहरू पनि त्यसै गरी बसे । फेरि इमामले सज्दा गरे । नमाजीहरूले पनि सज्दा गरे ।
त्यसपछि इमामले अन्तिम तशहहुद “जलसय इस्तिराहत” मा बस्दै “अत्तहियातु लिल्लाहि वस्सलवातु वत्तय्यिबातु अस्सलामु अलैक अय्युहन्नबिय्यु वरमतुल्लाहि वबरकातु अस्सलामु अलैना व अला इबादिल्ला हिस्सालिहिन, अश्हदु अल्लाइलाहा इल्लल्लाहु व अश्हदु अन्ना मुहम्मदन अब्दुहु व रसुलुहु ।” (मन, वचन र धनका सम्पूर्ण पूजाहरू अल्लाहका लागि हुन् । हे नबी, तपाईंमाथि शान्ति र अल्लाहको कृपा र निगाह रहोस् । हामीमाथि र अल्लाहको असल सेवकहरूमाथि सलाम होस् । म गवाही दिन्छु कि अल्लाहबाहेक कोही वास्तविक पूज्य छैन र निःसन्देह मुहम्मद स. ओ. स. अल्लाहका सेवक र रसुल हुन् ।) दुवा पढे ।
इमामले फेरि दरुद सलामको दुवा पढे, “अल्लाहुम्म सल्लि अला मुहम्मदिन्न व अला अलि मुहम्मदिन कमा सल्लैत अला इब्राहीम व अला अलि इब्राहीम इन्नक हमीदुम्मजीद, अल्लाहुम्म बारिक अला मुहम्मदिन्न अला अलि मुहम्मदिन कमा बारक्त अला इब्राहीम व अला अलि इब्राहीम इन्नक हमीदुम्मजीद् ।” (हे अल्लाह, दया गर मुहम्मद स. ओ. स.लाई र उनका परिवारमाथि । जस्तो कि, दया गरेका थियौ तिमीले इब्राहिम र उनका परिवारमाथि । निःसन्देह तिमी प्रशंसाका पात्र धेरै महान् छौ । हे अल्लाह ! बरकत प्रदान गर मुहम्मद र उनका परिवारमाथि । जस्तो कि, बरकत गर्यौ तिमीले इब्राहिम र उनका परिवारमाथि । निःसन्देह तिमी प्रशंसाका पात्र धेरै महान् छौ ।)
अन्त्यमा इमामले यो दुवा पढे, “अल्लाहुम्म इन्नी अउजुबिका मिन अदाबि जहन्नम्, वमिन् अदाबिल कब्र, वमिन फितनतिल् मह्या वल्माति, वमिन शर्रि फितनतिल् मसीहिद्दज्जाल ।” (हे अल्लाह, म नरक र चिहानको दुःखबाट जीवन/मरण र मसिहिद्दज्जालको उपद्रवबाट बच्न तिम्रो शरण चाहन्छु ।)
फेरि इमामले दायाँ कुमतिर मुख गर्दै “अस्सलामु अलैकुम व रमतुल्लाह ।” पढेर सलाम फेरे ।
फेरि त्यसै गरी“अस्सलामु अलैकुम व रमतुल्लाह ।” दुवा पढ्दै बायाँ कुमतिर मुख गर्दै सलाम फेरे ।
नमाजीहरूले पनि त्यसरी नै सलाम फेरे ।
***
हिदायत सेतो मस्जिदबाट जुमअःको नमाज पढेर जाकिरानिर आउँदै थिए । जाकिराले अगाडिका दुईवटा खुट्टालाई मोडेर घुँडा टेक्दै र शिरलाई नमाजीले नमाज पढ्दा सज्दा गरेझैँ माटोमा सज्दा गर्दै नमाज पढेको देख्दा उनको त होसै उड्यो ।
उनले आकाशतिर फर्के र भने, “या अल्लाह ! तिमी जसलाई चाहन्छौ उसलाई हिदायत गर्छौ र जसलाई चाहन्छौ उसलाई गुमराह गर्छौ । या अल्लाह ! मलाई गुमराहको भिडमा सामेल नगर्नुहोस् । अल्हम्दुलिल्लाह ! आमिन ।”
***
उनीहरूको विवाह भएको पनि पाँच वर्ष बितिसकेको थियो । तर सायराबाट कुनै बच्चाबच्चीहरू जन्मिरहेका थिएनन् । दुवै जनाका बिच अनमनका पहाड अग्लिँदै गएका थिए ।
उनी युसुफ खानकी एकलौटी छोरी थिइन् । आफ्नी छोरीबाट कुनै पनि सन्तान नजन्मिँदा मातापिता दुवै चिन्तित थिए । यही कारणले उनी निकै दुःखी भएकी थिइन् ।
उनी मनमनै सोच्थिन्, “मेरो बच्चा नभएको कारणले हिदायतले मलाई तलाक दियो भने म कसरी बाँच्नु ?”
सायरा अल्लाहको परम भक्त थिइन् । उनी नमाज सकेर पनि राति नफिल नमाज पढी दुवामा अल्लाहसँग आफ्ना बच्चाहरूको माग गर्थिन् । नभन्दै उनकी एउटी छोरी जन्मिइन् । छोरी जन्मिएको आठ महिना भइसकेपछि उनको हवेलीमा एउटा फकिर आए ।
नोकर्नीले फकिरलाई देखेपछि केही भिक्षा ल्याएर दिइन् ।
तर फकिरले भिक्षा लिनबाट अस्वीकार गरे र भने, “म यस घरकी मालिक्नीको हातबाट रोटी खान चाहन्छु । तीन दिनदेखि म भोकै छु ।”
फकिरको आवाज सुनेर सायराले तीनवटा रोटी र तरकारी ल्याएर फकिरलाई दिइन् र भित्र पसिन् ।
फकिरले तीनवटै रोटी खाइसकेपछि आवाज गरे, “के फकिरलाई पानी पिलाउनुहुन्न ?”
सायराले ठुलो पित्तलको आम्खोरामा पानी ल्याएर दिइन् । फकिरले त्यस आम्खोराको पानीमा हेरेर भने, “आम्खोराको पानीमा कालो साँप देखिन्छ । तपाईंलाई कसैले जादुटुना गरिदिएको छ ।”
यो सुनेर उनको सातोपुत्लो उड्यो ।
उनले आश्चर्यचकित हुँदै भनिन्, “मलाई कसले जादुटुना गर्न सक्छ र ? मैले कसैको केही बिगारेकी पनि छुइनँ । फेरि मेरा कोही दुस्मनहरू पनि छैनन् ।”
“तपाईंमाथि अवश्य जादुटुना गरिएको छ ताकि तपाईंका कुनै पनि छोराछोरीहरू नहोऊन् भनेर ।”
फकिरको यो कुरो सुनेर उनले हाँस्दै भनिन्, “बाबा मेरी आठ महिनाकी छोरी झोलुङ्गामा सुतिरहेकी छे । तपाईं झुटो बोल्दै हुनुहुन्छ ।”
फकिरले भने, “म साँच्चै भन्दै छु, तपाईंकी छोरी विषालु साँपले टोकेर मरिसकेकी छे । नपत्याए गएर झोलुङ्गामा हेर्नुहोस् ।”
उनको सातोपुत्लो उड्यो । उनले दौडँदै गएर झोलुङ्गामा हेरिन् र छोरीलाई जगाइन् तर छोरी मरिसकेकी थिइन् ।
उनले झ्यालबाट एउटा कालो गोमन साँप निस्कँदै गरेको देखिन् । उनी उत्तिखेरै आतिँदै बाहिर आइन् तर फकिर आँगनमा थिएनन् । उनले घरका नोकरचाकरलाई चारैतिर फकिरको खोजी गर्न आदेश गरिन् । तर उनी कहीँकतै पनि फेला परेनन् ।
उनी अतिशय सन्तापको आगोमा डामिन पुगिन् र उनले मनमनै भनिन्, “ती फकिर को थिए ?”
उनी आफ्नी छोरी मरेको दुःखमा विक्षिप्त भइन् ।
करिब एक सालपछि उनको कोखबाट फेरि दोस्रो छोरी जन्मिइन् । पहिली छोरीको मृत्युको घटनाले उनी मनमनै डराउँथिन् । छोरी दुई साल पुगेपछि फेरि त्यही फकिर टुप्लुक्क हवेलीमा आइपुगे ।
नोकर्नीले त्यही फकिरलाई देखेपछि दगुर्दै गई फकिर आएको खबर सायरालाई सुनाइन् ।
सायरा यो खबर सुनेपछि डराइन् र उनले मनमनै सोचिन्, “कैँ यो छोरीको पनि मर्ने खबर ले’र आ’का त होइनन् फकिर ?” उनले दुगर्दै गई कोठामा हेरिन् । तर उनले छोरी खेलिरहेको देखेर आनन्दको लामो सास फेरिन् ।
नोकर्नीलाई भनिन्, “ती फकिरलाई खाना खुवाएर पठाइदेऊ ।”
नोकर्नीले फकिरलाई खाना खुवाइदिइन् ।
फकिरले खाना खाएर जाने बेलामा भने, “तिम्री मालिक्नीलाई कसैले जादुटुना गरिदिएको छ । यस घरमा कुनै पनि बच्चाहरू बाँच्दैनन् । किन मेरा कुरालाई कसैले विश्वास गर्दैनन् ? तिम्री मालिक्नीलाई गएर भन कसैले जादुटुना गरिदिएको छ ।” यति भनेर उनी हिँडे ।
नोकर्नीले यही खबर सायरालाई गएर सुनाइन् ।
फेरि, उनकी छोरीको मृत्यु हुन्छ भन्ने डरले उनी धेरै चिन्ताको सागरमा डुबिन् ।
दगुर्दै गएर नोकर्नीले हिदायतलाई खबर गरिदिइन् । उनी बारीमा खेतालाहरूलाई काम गराइरहेका थिए । उनी जाकिरा घोडा चढेर हतारहतार घर फर्किंदै थिए ।
यतिकैमा सायराकी छोरी दगुर्दै आएर आँगनछेउको खाल्डामा जमेको पानीमा खसिन् ।
खाल्डो गहिरो थियो, छोरीलाई बाहिर निकाल्दानिकाल्दै प्राण गइसकेको थियो । फेरि घरमा रुवाबासी भयो । सायरा र हिदायत तड्पीतड्पी रुन कराउन थाले ।
फकिरले भनेका एकेक कुराहरू सम्झनाका पानाबाट पल्टाउँदै सायराले सम्झिन् “तपाईंमाथि अवश्य जादुटुना गरिएको छ ताकि तपाईंका कुनै पनि छोराछोरीहरू नहोऊन् भनेर ।”
फेरि सम्झिन्, “म साँच्चै भन्दै छु, तपाईंकी छोरी विषालु साँपले टोकेर मरिसकेकी छे, नपत्याए गएर झोलुङ्गामा हेर्नुहोस् ।”
अब उनलाई पक्का विश्वास भयो कि फकिरले सही भनेका रहेछन् भन्ने ।
सायरा र हिदायत दुवै जना अल्लाहका पाँचै वक्तका नमाज नछाडी पढ्न थाले र दुवामा फेरि अल्लाहसँग कोख भरिदिने अनुरोध गर्न थाले ।
एक वर्षपछि सायराको कोखबाट फेरि एउटी छोरी जन्मिइन् । छोरी डेढ वर्षकी भइसकेकी थिइन् । मजाले खेल्ने र कुद्ने भइसकेकी थिइन् । हवेलीको बाहिर आँगनमा खेल्दै थिइन् । त्यतिकैमा उनी दौडिँदै रोडमा निस्किन् । उत्तर दिशाबाट वेगमा आइरहेको गाडीको ठक्करबाट एक्कासि ऐया पनि भन्न नपाई छोरी भुतुक्कै भई ठहरै मरिन् ।
यो घटनाले दुवै पतिपत्नी विक्षिप्त भए । सायरा छाती पिटीपिटी रोइन्, कराइन् । तडपले भुइँमा लडीबडी खेलिन् ।
आफ्नै आँखाका सामुन्ने तीनतीन छोरीको मृत्यु देख्दा कुन मातापिताको मुटु टुक्राटुक्रा हुँदैन होला र ?
“या अल्लाह ! यो के इम्तिहान हो तिम्रो ? के विचार छ तिम्रो ? किन मेरा कोखबाट बच्चा जन्मिएर बाँच्दैनन् । कहाँनिर भुल भयो मेरो ? कहाँनिर पाप गरेँ मैले ? को छ मेरो दुस्मन जो मेरा बच्चाहरू जन्मिएपछि पनि मारिदिन्छ । को छ मेरो शत्रु जो मेरा पतिलाई मदेखि घृणा पैदा गराउँछ ।” आकाशतिर फर्की रुँदै विलाप गरिन् सायराले ।
***
यसै पनि हिजोआज सायरा र हिदायतबिचको सम्बन्ध सिसाझैँ चर्किंदै गइरहेको थियो । जबजब सायरासँग उनी टाढिन पुग्थे त्यही बेला छोरी जन्मिन्थिन् । अनि फेरि छोरीको कारणले उनी सायरालाई अतिशय माया गर्न थाल्थे ।
तर योचोटि भने उनले मनमनै सोचे, “अब मेरो सायरासँग घरजम हुन सम्भव छैन । यो आफैँमा एउटी अलच्छिन आइमाई हो ।”
उनले गाउँलेहरूले भनेका कुराहरू सम्झे, “तोहोर मेहरारु खुद डाइन है, डाइन ।”
गाउँलेहरूले भनेका कुरा उनलाई हो कि क्या हो भन्नेजस्तो लाग्न थाल्यो ।
उनले आफ्नो गाउँ सम्झे । उनले आफ्ना बाआमा सम्झे । उनले आफ्नो कलेज सम्झे । उनले सदिसाले माया गरेकी एकेक क्षण सम्झे ।
“आऊ, मेरो छातीमा अडेस लाग ।” भन्दै सदिसाले आफूतिर टाउको तानेर अड्याएको सम्झे ।
“तिमी यो पिङ्क कलरको सर्टमा क्या ह्यान्सी देखिन्छौ !’’ भनेर सर्टको कलर मिलाइदिएको क्षण सम्झे ।
उनलाई सदिसाको अनुहार आँखामा झलझली प्रतिच्छाया बनेर आइरह्यो ।
अन्ततः उनले पर्सा विराट् गाउँ छाडेर सदिसालाई विवाह गर्ने मनमनै सोचिरहेका थिए ।
यतिकैमा हवेलीमा तिनै पहिलेकै फकिर टुप्लुक्कै आइपुगे र भने, “कोही छन् घरमा, भोकाएको फकिरलाई खाना खुवाउने ?”
आवाज सुनेर नोकर्नी दगुर्दै जब बाहिर आई तब देखिन् तिनै फकिर ।
उनले चिच्याउँदै भनिन्, “मालिक्नी, मालिक्नी, तिनै फकिर आँगनमा आ’का छन् ।”
सायरा दगुर्दै बाहिर आइन् र छाती पिट्दै रुँदै भनिन्, “बाबा, मसँग अब तिमी के लिन आयौ ? अब त मेरो कोख पनि शून्य छ । तिमीलाई दिने मसँग कुनै बच्चा पनि छैनन् ।”
फकिरले भने, “यदि तिमी मलाई विश्वास गर्छौ भने तिम्रो घरभित्र मलाई पस्न देऊ । खास गरी तिम्रै कामका लागि मलाई अल्लाहले पठाएका हुन् । म हारुत हुँ ।”
हारुतको यो कुरो सुनेर सायरा तीनछक परिन् । अब भने उनलाई पूर्ण रूपमा हारुतप्रति विश्वास भयो ।
सायराले हारुतलाई भित्र लिएर गइन् । उनी घरका प्रत्येक कोठामा पसे, फेरि बाहिर आए र घरका वरिपरि एक चक्कर मारेर फेरि घरभित्र पसे ।
उनी सिकुवाको एक कुनामा गएर बसे र उनले सायरालाई भने, “मलाई एउटा बाटामा पानी भरेर देऊ र तिम्रो पतिलाई पनि यहाँ बोलाऊ । आज म दुधको दुध र पानीको पानी पारेर तिम्रो शत्रुको रहस्य तिमीहरूबिच उदाङ्ग पारिदिन्छु ।”
नोकर्नीले पित्तलको बाटामा पानी भरेर दिइन् । हिदायत पनि त्यहाँ आइपुगे । सायराका मातापिता पनि आइपुगे ।
उनले मन्त्र जपे र पानीमा फुके । पानीमा फुक्नेबित्तिकै बाटामा एउटा कालो गतिलो गुडुल्किएको साँप देखा पर्यो जसको टाउको भने कुनै सुन्दर स्त्रीको थियो ।
यो देखेर सायरा तर्सेर भागिन् । अरू सबै जना अतिशय आश्चर्यमा परे ।
हिदायतले फ्याट्टै भने, “अहो ! यो टाउको त सदिसाको हो । उनी मेरी कलेजकी साथी हुन् । तर साँपको शरीरमा उनको टाउको यो कसरी सम्भव हुन सक्छ ?”
“सबै सम्भव हुन सक्छन् । त्यही केटीले सायराको गर्भमा जादुटुना गरेर सैतानी साँप राखिदिएकी छे । त्यसैले, जति पनि बच्चाहरू हुन्छन् त्यही सैतानी साँपले खान्छ । त्यो केटी चाहँदिन तिम्री पत्नीका छोराछोरी होऊन् भन्ने । त्यो केटी तिमीदेखि तिम्री पत्नीलाई तलाक गराउन चाहन्छे । यही केटी हो तिमीहरू दुवैको शत्रु ।”उनले सबै रहस्यका पोया खोलिदिए ।
सबै जना तीनछक परे ।
हिदायतले सायराको शरीरमा कालो साँपले बेरेको सपना सम्झे ।
फेरि बाटाको पानीमा हारुतले देखाएको कालो साँप सदिसालाई सम्झे ।
फेरि त्यही कालो साँप सदिसाले आफ्ना तीनवटै छोरीहरू निलेको सम्झे ।
रातो घोडा जाकिरा सम्झे । सेतो मस्जिद सम्झे र पुनः सायरा सम्झे ।
बल्ल उनले देखेका प्रत्येक सपनाका एकेक घटनाका पहेली बुझे र मनमनै भने, “या अल्लाह ! तिमी सर्वदृष्टि राख्ने त्यो सर्वशक्तिमान शक्ति हौ जसले आकाश र पाताल आफ्नो वशमा राखेका छौ । एक रहस्यमयी बनाएका छौ जसले मलाई इमानवाला मुसलमान बन्न हिदायत (मार्गदर्शन) गर्यौ । अलहम्दुलिल्लाह ।”
हारुतले सायरालाई भने, “यसबाट छुटकारा पाउनका लागि म तिम्रो इलाज गरिदिन्छु । एउटा चोखो गिलासमा मलाई जमजमको पानी देऊ ।”
नोकर्नीले गिलासमा जमजमको आधाजति पानी भरेर हारुतलाई दिइन् ।
उनले पानीमा मन्त्र जपेर फुकिदिए र सायरालाई गिलास थमाउँदै भने, “यो गिलासको पानी खाऊ ।”
“बिस्मिल्लाहिर्राह्मानिर्रहिम्” भन्दै उनले पानी पिइन् ।
“अब तिमीले यस समस्याबाट मुक्ति पाउनेछ्यौ । यो गिलासको पानी पिएपछि तिमीले नौ महिनामा कालो साँपलाई जन्म दिनेछ्यौ । तर साँप जन्मिनासाथ मर्नेछ । तब मुर्दा साँपबाट आत्मा उडेर जिउँदो कालो साँप बनेर उता दुष्ट नारीलाई डस्नेछ र त्यसको मृत्यु हुनेछ । कालो साँप विलीन भई सैतानको असली आफ्नो रूपमा फर्किनेछ र हावामा हराउनेछ ।
यस कार्यको लागि त्यो दुष्ट नारीले चालिस दिन र चालिस रात जङ्गलमा बसी इन्द्रजाल विद्या सिकेर तिम्रो कोखमा कालो साँप जगाइदिएकी थिई । यदि यो साँप तिम्रो कोखबाट जिउँदै जन्मिएको भए तिमीलाई पनि यसले खान्थ्यो । त्यसैले यसलाई मैले जन्मँदै मर्ने मन्त्र गरिदिएको हुँ ।
अब तिमी ढुक्क हुनू । तिम्रो कोखबाट ठिक एक वर्षमा एउटा मात्रै पुत्रको जन्म हुनेछ । त्यही पुत्र तिमीहरूको सेवक र धनको रक्षक हुनेछ । अबदेखि म तिमीहरूकहाँ कहिल्यै देखा पर्ने छुइनँ ।” यति भनेर उनी बिदा भए ।
उनी क्षणमै हावामा विलीन भए । उनी एक फरिस्ता थिए । उनलाई अल्लाहले दुष्ट नारीको पहेली खोल्नका लागि हिदायत र सायराका कल्याणहेतु पठाएका थिए ।
***
फरिस्ता हारुतले भनेअनुसार नै सायराले नौ महिनामा साँपलाई जन्म दिइन् ।
साँप जन्मिनासाथ मर्यो । आत्मा सेतो धुवाँजस्तै भएर बाहिर निस्की हावामा विलीन भयो र कालो साँपको रूप धारण गर्यो ।
जादुटुना गर्ने दुष्ट सदिसालाई गएर डस्यो । ऊ हावामा हरायो र आफ्नो असली सैतानी रूपमा समाहित भयो ।
उता ‘जादुटुना गर्ने दुष्ट सदिसालाई कालो नागले डसेर मार्यो’ भन्ने खबर फोटोसहित समाचारमा छापियो ।
त्यसपछिको एक वर्षभित्रै सायराले एउटा सुन्दर पुत्र जन्माइन् । पुत्र स्वस्थ र बलिष्ठ थियो । ऊ हवेलीमा हुर्कंदै बढ्दै जवान भयो ।
सायरा र हिदायतमा अगाध प्रेमका फूलहरू फुल्न थाले ।
सायराका मातापिताको देहान्तपछि सबै सम्पत्ति सायराको नै भयो ।
सायरा र हिदायत पनि बुढाबुढी भए ।
जाकिरा घोडाको पनि मृत्यु भयो ।
तबेलामा त्यही जाकिराबाट जन्मिएको तीनपुस्ते सुन्दर एक रातो बछेडा थियो । त्यो बछेडाको नाम पनि जाकिरा राखियो ।
त्यही जाकिरा घोडामा सायरा र हिदायतका छोरा साहिद खान घोडसवार गर्ने गर्थे । उनी गाउँगाउँमा त्यही जाकिरा घोडा चढेर धुलो उदाउँदै घुम्थे ।
***
प्रतिक्रिया
-
४