
✍️ शकुन आँसु
रुग्ण छ मौसम
उदास छन् निरास छन् मानिसहरू
बसन्त ऋतु नै रहेछ
मानिसहरूमा खुसी भरिदिने
प्रकृतिलाई हरियो मसिले रङगाईदिने
बग्न पाएका छैनन् जमेर
खोला नदीहरू
जस्को बिशेषता बग्नु हो निरन्तर
माईनस् डिग्रीको सकस जो भोगिरहन्छ
पातहरू खसेर नाङगो छ रुखबिरुवा
मुस्किल छ, अक्सिजन प्रवाह
‘हरियो बन, राष्ट्रको धन’
यो नारा नै गलत साबित गरिदिने गरि
लागिरहेको छ अनिकाल
सुकेका अस्थिपञ्जर रुखहरूमा
चल्नैपर्ने भएर मात्र हावा पनि
धौ धौ छ बहनलाई
चैत, बैशाखको खल्बल कहाँ भासियो कुन्नी ?
बतास पनि ठिहिर्याउँदै बहन्छ स्युँ स्युँ गरेर
नलाग्ने होईन घाम
ताप छैन, न्यानो छैन
उदाउनु / अस्ताउनु घामको धर्म हो
हिमालको शीरबाटै झुल्किदिन्छ हरेक बिहान
घाम ताप्न निस्केका मानिसहरू
चिसो हिउँ ओढेर फर्किन्छन्
शिशिर याममा घाम लाग्नु भनेको
न्याय नपाउने देशका नेताले
जनतालाई आश्वासन बाँड्नु जस्तै हो
बोलिरहन्छन् पुरा गर्दैनन् ।
प्रतिक्रिया
-
४