✍️ मन्दा पौडेल
मुक्तक – १
हृदयमा तराई,पहाड र शिरमा हिमाल सजाउनु छ
नेपाली गौरव विश्वमा छर्दै शान्तिको बिगुल बजाउनु छ
मर्म बुझ्दैछु जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीुको
सीमा मिचिएको मातृभूमि फिर्ता ल्याई कजाउनु छ।
मुक्तक – २
बाहिरी आकर्षणले होइन कोमल हृदयले छुनुपर्छ
एउटा रुँदा अर्को रुझ्ने आकाश र धर्तीझैँ हुनुपर्छ
अमर,अजर आत्माको स्वभाव पवित्र यो प्रेमलाई
नजोखौँ लेनदेनको कृत्रिम तराजुमा आँशुले मुहार धुनुपर्छ।
मुक्तक – ३
निभाउनु हुन्न आस्थाको दियो वर्तन थप्दै बाल्नुपर्छ
दम्भ, प्रतिशोध, ईर्ष्याजस्ता मनको विकार फाल्नुपर्छ
सुवास जोगाउन सदा बेली, चमेली र पारिजातहरूको
समयमै सु-संस्कार र ज्ञानको पथमा कदम चाल्नुपर्छ
मुक्तक – ४
नसक्दा मौन रहने गरौँ सक्दा ज्ञानका कुरा छरौँ
स्वच्छ विचार,ज्ञान,साधनाले खाली मन मष्तिष्क भरौँ
कुरोको चुरो नबुझिकनै अरूलाई औँला उठाउनु अघि
आफैँभित्र खोट हुनसक्छ स्व-मूल्याङ्कन जरुर गरौँ ।
मुक्तक – ५
अरूलाई रित्याएर, आफ्नो घैलो भर्छ मान्छे
उखेलेर अमृतको बोट, विषको बीज छर्छ मान्छे
आउने पनि रित्तै आछन्, रित्तै गाछन् जाने पनि
चोला रहुन्जेल केका लागि, तेरोमेरो गर्छ मान्छेहरू
प्रतिक्रिया
-
४
