✍️ दिपा मेवाहाङ राई

दुई जोर हात । एकअर्कालाई कसेर पक्रिएका । हात पक्रने एकजोडी हँसिलो तस्वीर । तस्वीर देखेर फेसबुकको भित्ता स्क्रोल गरिरहेका मेरा औँला आफसेआफ रोकिए । टक्क ।

सुरुची नामको प्रोफाइलमा टाँगिएको थियो उक्त फोटो ।
क्याप्सनमा लेखिएको थियो “नयाँ जीवनको अध्याय शुरु गरेका छौँ । यहाँहरुको माया र आर्शीवादको खाँचो छ । ”

मधुर मुस्कानमा देखिन्थे ती जोडी ।

“बधाई तथा शुभकामना ।”
“प्रेमिल जोडीलाई भव्य शुभकामना ।”
“यो जोडीमाथि कसैको नजर नलागोस् ।”
“संसारकै सबैभन्दा सुन्दर जोडी ।”
तस्वीरको मुनि अनेकन् प्रतिक्रिया देखिन्थ्यो । मेरा आँखा भने प्रतिक्रियामा भन्दा सुरुचीको हात समाइराखेको पुरुषमा केन्द्रित भए ।

निधारको दाँयापटिबाट अगाडि झरेको कपालको केस्रा । पोटिला गाला । टुपुक्कको नाक । चिम्सा आँखा । म ती आँखाका बाटो हुँदै झापा धुलावारीको धुलाम्मे सडकै–सडक कुद्न थालेँ । साईकलमा ।

…….
साइकलको घण्टी बजाउँदै साथीहरुसँगै म स्कुल पुगेँ ।
कक्षा आठको वार्षिक परीक्षाको नतीजा सुनेँ सँगै बन्द भएको स्कुल खुलेको थियो । नयाँ शैक्षिक सत्र । उत्तीर्ण हुनेहरुको फुर्ती बेग्लै थियो । माथिल्लो कक्षामा भर्ना भएका केटाकेटीहरूको उत्साह र अन्दाज थेगिनसक्नुको थियो । बिदा हुँदाको समयको गतिविधि एकआपसमा सुनाउनमै आतुर र व्यस्त थिए । कक्षामा हल्ला यस्तो चलिरहेको थियो, मानौँ खुद शिवजी ताण्डव गर्न हाम्रो कक्षामा पर्वतबाट ओर्लिएका छन् र उनका भक्तहरू उनलाई साथ दिदैँ छन् ।

हल्लाको साम्राज्य चलिरहेकै थियो । हातमा रजिष्ट्रर बोकेर ढोका उभिन आइपुग्नु भयो, आशुतोष सर । आशुतोष सरलाई देख्नेबित्तिकै अघिका शिवजी र उनका भक्तहरूको हल्लाखल्ला एकैसाथ उडेर कैलाश पर्वत गए । आशुतोष सरको आगमनले कक्षामा सन्नाटा छायो । अघिसम्म चर्कोचर्को स्वरमा चिच्याउने केटाकेटीले फेरेको सास भने सुन्न सकिन्थ्यो ।

खासमा त्यो सुनसान आशुतोष सरको कारणले मात्र भएको थिएन । बरु आशुतोष सरसँगै उभिएको केटो प्रमुख कारण थियो ।

त्यो केटो त्यस अघि हाम्रो कक्षामा त के कहिल्यै स्कुलमा र गाउँमा समेत देखिएको थिएन । “यो पक्कै नयाँ विद्यार्थी हुनुपर्छ ।” हामीले मनमनै अनुमान लगायौँ ।

नयाँ विद्यार्थीले कपाल छड्के पारेर उँभो फर्काएको थियो । लगभग पाँच पाँचको उचाँई । मुसुक्क हाँसेको अनुहार । एकजोर चिम्सा आँखा । हातमा दुईतीनवटा किताब च्यापेको । पछाडि झोला भिरेको ।
“भाइबहिनीहरू, ऊ कक्षा नौको नयाँ विद्यार्थी । पवन राई । ” आशुतोष सरले परिचय गराउनु भयो ।

कक्षामा अझै पनि सन्नाटा थियो ।
सन्नाटाबिचमै पवनलाई बिचतिरको खाली बेञ्चमा बस्न इशारा गर्दै आशुतोष सरले कक्षा शुरू गर्नुभयो । अब मैले ध्यान आशुतोष सरलाई दिनुपथ्र्यो । तर मेरो ध्यान त्यो नयाँ केटो पवन राईलाई दिएँ । त्यस दिन मैले फर्कीफर्की पवनलाई हेरिरहेँ । घर फर्किने समयमा पनि हामी पवनको पछि–पछि थियौँ । हामी–शान्ती, प्रिया, आयुश्मा र म ।

कक्षामा हाम्रो अलग्गै समूह थियो । उमेर, स्वाभाव र रुचीमा आधारित । समूहमा शान्ती, प्रिया, आयुश्मा र म थियौँ । आयुश्मा र म कक्षाको साथी मात्रै थिएनौँ । घरको पनि साथी थियौँ । छिमेकी थियौँ । प्रिया र शान्ती चैँ पल्लो गाउँका थिए । कक्षाको सबै भन्दा अघिल्लो बेञ्च हाम्रो रिजर्भ हुन्थ्यो । केहीगरी हाम्रो बेञ्चमा अरु आएर बसे भने हामी गिल्ला गरेर भगाईदिन्थ्यौँ । बस्न अघिल्लो बेञ्च रोजेपनि पढाईमा हामी पछाडि थियौँ ।

बिस्तारै मैले पढाई जस्तै पछिल्लो बेञ्च रोजेँ । मलाई त्यो चिम्सा आँखा भएको केटोले आकर्षित गरेको थियो । कक्षाको पहिलो दिनदेखिनै उसले मेरा दुवै आँखा आफूसँगै लगेको थियो । त्यसैले म पछाडि बसेर उसँग आफ्नो आँखा माग्न मन लाग्यो ।
“मेरो आँखा फिर्ता देऊ ।” भनेर मनमनै अनुनय गरेँ । तर ऊ भने मेरो अनुनयलाई वेवास्ता गरेर अरुतिरै ध्यानमग्न भइरह्यो ।

हप्तादिन जतिमा पवनको बारेमा अलिलि कुराहरू थाहा पाएँ । ऊ सानैदेखि मावलाँ बस्ने गरेको रहेछ । त्यही वर्ष मात्र आफ्नो घरबाट पढ्ने मनसायले फर्केको रहेछ, मावलाँ छोडेर । स्कुलमा भर्ना भएदेखि नै उसको स्वाभावले सबैलाई आकर्षित गरेको थियो । पछि थाहा भयो, ऊ त हाम्रै स्कुलको कल्पना मिसको छोरा रहेछ । कल्पना मिसको आधाउधी स्वभाव पवनमा सर्लक्कै सरेको रहेछ ।

पवन शान्त स्वाभावको थियो । मलाई हल्ला गरिरहनुपथ्र्यो । ऊ चुपचाप बस्थ्यो । मलाई चकचक गरिरहनुपथ्र्यो । कसैले केही सोध्यो भने ऊ छोटो उत्तर दिन्थ्यो । म अगाडिपछाडि सबै जोडेर लामो बोल्थेँ ।

……..
कक्षा दशमा पुग्दा सम्म पनि पवनसँग घुल्न त के बोल्न समेत सकेकी थिइनँ । एकदिन सँयोग मिल्यो । स्कुलमा दिउँसोको खाजा खाने समय भएको थियो । चौरमा स साना बहिनीहरु बास्केटबल प्राक्टिस गर्दैथिए । हामी उनीहरुले खेलेको हेरिरहेका थियौँ । अचानक आशुतोष सरले पवनलाई बोलाएर ल्याउन भन्नुभयो । सुरुमा त प्रियालाई जा भनेकी थिएँ । प्रिया उठीसकेकी थिई । फेरि मैले उसलाई रोक्दैँ भनेँ, “होस् मै जान्छु ।”
म सरासर कक्षाको ढोकामा पुगेँ । कक्षामा चिहाएँ । पवन साथीहरुसँग गफमा मस्त थियो । पवन भनेर बोलाउन खोजेँ । पहिलोपटक घाँटीसम्म पुगेर आवाज अड्कियो । दुईतीनपटकको प्रयासमा बल्ल घाँटीबाट फुत्त आवाज निस्क्यो–पवन ।

“पवन आशुतोष सरले बोलाउनुभएको छ । आऊ रे ।” मैले जम्माजम्मी बोलेको सिङ्गो वाक्य यत्ति नै थियो । त्यो पनि यत्ति छिटो कि, त्यतिको रफ्तारमा त रेलगाडी पनि गुड्दैन होला । जुन रफ्तारमा आवाज निस्केको थियो त्यही रफ्तारमा फर्कियो । त्यसपछि एक शब्द निस्के त मार्दिउँ । बरु मुटु उफ्रिएको सुन्न सकिन्थ्यो ।

म फरक्कै फर्केँ । पवन मेरो पछि–पछि आयो । मलाई कुनै सिनेमामा हिरोइन अघि–अघि र हिरो पछि–पछि हिडिरहे जस्तो अनुभूति भयो । सिनेमामा हिरो हिरोइनलाई फकाउन वा माया जताउन त्यसरी हिड्थ्यो । तर हाम्रो हकमा ती दुबै भएको थिएन ।

पवन आशुतोष सर भएको ठाउँमा गयो । सरले पवनसँग केहीबेर कुराकानी गर्नुभयो । पवनले हुन्छ संकेतमा आफ्नो टाउको हल्लायो । ऊ सरासर बास्केटबल खेलिरहेका बहिनीहरुको माझमा गयो ।

त्यसपछि पो बल्ल थाहा भयो, ऊ बास्केटबलको राम्रो खेलाडी रहेछ । आशुतोष सरले पवनलाई ती बहिनीहरुलाई कोच गर्न अह्उनु भएको रहेछ ।
मलाई थकथक लाग्यो–बास्केटबल खेल्ने बहिनीहरुको हुलमा म किन छुइनँ भनेर । तर मैले यो कुरा कसैलाई भनिनँ ।

मैले बोल्न निकै कम गरिसकेकी थिएँ । अनावश्यक हल्ला गर्न छाडिसकेकी थिएँ । म घुसघुुसेमा दरिइसकेकी थिएँ ।

एकदिन गफैगफमा शान्तीले प्याच्चै भनी “के हो केटी ? वन साईड लभमा परिस् क्या हो ? पुरै कता–कता उडिराको जस्तो देखिन्छस् त ।”

मेरो बद्लिदैँ गएको स्वाभावबारे साथीहरुले ध्यान दिएका रहेछन् । मलाई लाज लाग्यो ।

“चुप् लाग । अहिले मार्दिन्छु ।” मेरो शरीरको तापक्रम एक्कासी बढ्यो । आफ्नो कमजोरी छोप्न मैले रिसाए जस्तो गरेँ । साथीलाई चुप लाग्न त भनेँ । तर आफ्नै मनलाई भने चुप राख्न सकिरहेकी थिइनँ । मन त बेचैन थियो । खुल्दुलीले उफ्रिरहेको थियो –साँच्चै शान्तीले भने जस्तै थाहै नपाई मैले पवनलाई माया गर्न थाले कि क्या हो ?
मनले मनमनै प्रश्न गर्यो । उत्तर हावामा थियो ।

……..
असोज महिना लाग्यो । दशै, तिहारको बिदा हुने भयो । त्यो पनि एक महिना । अरु बेला कहिले बिदा होला र मावलाँ जाउँला हुन्थ्यो । तर अब भने बिदा हुने कुराले पनि ज्वरो आयो, मनमा । त्यो पनि एकसय डिग्री भन्दा माथि । स्कुल चल्दा कम्तीमा नबोले पनि पवनलाई देख्न पाइन्थ्यो । अब त महिनादिन उसलाई देख्न नपाइने भयो । यो बाध्यतालाई सम्झौता मान्न मनलाई सम्झाउन मलाई हम्मेहम्मे पर्यो ।

दशैँमा मावलाँ जाँदा जुन खुसी र आनन्द मिल्थ्यो त्यो यो साल मिलेन । न पिङ खेल्दा नै मज्जा आयो । हजुरबुबाले दक्षिणामा हजारको नोट राखिदिनुहुँदा पनि मन उज्यालिएन । न तिहारको झिलिमिलीले नै कुनै उमङ्ग भर्न सक्यो । यसै–यसै खल्लो–खल्लो भएर बित्यो दशैँ तिहार ।

बिदा सकिएर कक्षा शुरू हुने दिन आयो । स्कुल, साथीहरुसँगको महिना दिनसम्मको विछोडको अन्त्य भयो । बिदा हुँदा जति निरश थिएँ त्यसको विपरित स्कुल खुल्ने दिन म उत्साहित थिएँ । भित्रभित्रै फुरुङ्ग परेँ । विशेष पवनलाई भेट्ने कुराले म उत्साहित थिएँ ।

त्यस दिन साबिक भन्दा अलिक् छिटै पुगेँ स्कुल । स्कुलको चौरमा उभिएर मेरा आँखाहरुले पवनलाई खोज्न थाल्यो । पवनको अत्तोपत्तो थिएन । कक्षामा पो छ कि ! निरश आँखा बोकेर म कक्षामा गएँ । शान्ती, प्रियालाई देखेँ । आयुश्मा भने मावलाँबाट फर्किएकी थिइन । शान्ती र प्रियासँगै बसेँ । उनीहरु महिनाभरिको गतिविधि सुनाउँदै थिए । मेरा कानले भने पवनको पैतालाको आवाज सुन्न आतुर थिए । आँखाले उसको सिङ्गो शरीर खोजिरहेको थियो । कान र आँखा दुबै ढोकामा डेरा गरेर बसिरहे ।

केहीबेरमा आशिष, रुपकसँगै पवन ढोकामा देखापर्यो । बल्ल मेरो कान र आँखाले राहत पाए । अत्तालिएको मन आफ्नो ठेगानमा बस्न आइपुग्यो ।

पहिलो पिरियडको घण्टी बज्यो । आशुतोष सर हातमा रजिष्ट्रर बोकेर देखा पर्नु भयो । बेञ्चमा रजिस्टर राख्दै भन्नुभयो, “बुलबुल उठ् ।”

कक्षामा हामी सबै ट्वाल्ल पर्यौँ । कक्षामा बुलबुल नामको कोही विद्यार्थी थिएन । हामी एकआपसमा हेराहेर गर्न थाल्यौँ ।
आशुतोष सरले मतिर चोरी औँला तेर्साएर फेरी भन्नुभयो, “बुलबुल ।”

बल्ल हामीले थाहा पायौँ, म नै बुलबुल हुँ भनेर । दशैँमा मावलाँ जाँदा आन्टीले मेरो कपाल काट्न जबरजस्ती गर्नुभएको थियो । नम्रता श्रेष्ठको जस्तो हेयर स्टायलमा । मेरो कपालको बुनोटलाई उडाउँदै आशुतोष सरले –बुलबुल उपनामले सम्बोधन गर्नुभएको रहेछ ।

म लाजले रातो भइसकेकी थिएँ । मनमा आतंकले डेरा जमाईसकेको थियो । म डराउँदै उठेँ ।
“नम्रता श्रेष्ठ बन्ने उमेर पुगेको छैन नानी । यो पढ्ने बेलामा धेनै नक्कल झक्कल होइन । खुरुखुरु पढ्ने । बुझ्यौ ?”

आशुतोष सरको आदेशात्मक स्वरले मेरा खुट्टा काँपे । कक्षामा म मजाकको विषय बनेँ ।
“बुलबुल । बुलबुल ।” सबै हाँसे, गललल । पवन बाहेक ।
“हस् सर ।” मैले टाउको हल्लाएँ । पवनप्रति मेरो माया थप बढ्यो ।

…..
सेन्ट अप आयो, गयो । विद्यार्थीहरुको परीक्षाको नतीजा देखेर सबै शिक्षक खुसी हुनुभयो । पहिला शिक्षकको मुख बाट मात्रै सुनेको पवनको पढाईको तारिफ नतीजा आएको दिन आफैले थाहा पाएँ । ऊ त रुपकलाई समेत उछिनेर कक्षामा प्रथम भएछ । उसको सधैँ मुस्कुराइरहने अनुहारको चमक अझ बढेको थियो । त्यो चमकले म पनि उज्यालिएकी थिएँ ।

जसरी पढाईको रफ्तार बढिरहेको थियो । त्यही रफ्तारमा मेरो मनमा उसको लागि माया पनि बढिरहेको थियो ।

एस.एल.सी नजिकिदैँ थियो । सबैलाई राम्रो नम्बर ल्याएर उत्तीर्ण गर्नुथियो । सबैजना पढाईमा केन्द्रित थिए । ट्युशन, कोचिङ लिइरहेका थिए । मेरा मन भने पढाईमा भन्दा अरु नै कुरामा फोकस भयो । स्कुलको पढाई सकिएपछि कतै पवनसँग छुट्नु पो पर्छ कि ! भनेर आतंकित थिएँ । अन्तत शिक्षक विद्यार्थी सबैको मेहनतको परीक्षा आयो । एस.एल.सी. आयो ।

परीक्षा सोचे झैँ राम्रै भयो जस्तो लाग्यो । सबै खुसी थिए । आयुश्मा, प्रिया र शान्तीले एस.एल.सी. पछिको योजना सुनाउन थाले । शान्ती ब्रिजकोर्स गर्न काठमाडौ जाने भई । आयुश्माको दिदी नर्स हुनुहुन्थ्यो । दिदी जस्तै नर्सिङ पढेर सेवा गर्ने बताई, आयुश्माले । त्यसैको तयारी गर्ने भनी । शान्ती राम्रो डान्स गर्थी । थप सिकेर चर्चित डान्सर बन्छु भनी । मै एक थिएँ, जसको भविष्यको कुनै योजना थिएन ।

योजना बिनाको जीवनमा बैचनी झन्–झन् बढेको थियो । परीक्षाको नतीजाको चिन्ता त छदँै थियो । त्यो भन्दा धेरै पवनसँग छुटिने कुराले म चिन्तित् भएँ । फेरी छुटिए पछि भेट हुने नहुने निश्चित थिएन । जिन्दगीको बाटो लामो थियो । यात्रामा थुप्रै कुराहरु थिए । पढाई, करियर, सेटलमेन्ट थप बेचैन बनाउने कुरा थिए ।

यिनै बेचैनीबीच एस.एल.सी.को नतीजा आयो । हामी सबै उत्तीर्ण भयौँ । पवन र रुपक प्रथम श्रेणीमा । हामी द्धितीय श्रेणीमा । नयाँ यात्राको लागि शुभकामना दिदैँ सबै आ–आफ्ना योजना मुताबिक हिडे । पवन साईन्स पढ्न काठमाडौँ गयो । ऊ जाने बेलामा मेरो हृदयले गुनगुनाएको थियो–
कति कुरा नभनेरै मीठा–मीठा हुन्छन्
भनिएका कुरा बरु झुटा–झुटा हुन्छन्
लागे जति तिर्खा सबै मेट्नै पर्छ भन्ने केही छैन
मन परेको मान्छेलाई पाउनै पर्छ भन्ने केही छैन
कति नाता नगाँसेरै नै मीठा–मीठा हुन्छन्
गाँसिएका नाता बरु झुटा–झुटा हुन्छन्

म धुलाबारीमै स्थानिय क्याम्पसमा शिक्षा विषय लिएर पढ्न थालेँ ।

आज सात वर्ष पछि फेसबुकको भित्तामा टाँगिएको फोटोमा सुरुचिको हात समाउने उनै पवन राई थिए ।
“नयाँ जीवनको शुरुवात गर्नुभएकोमा तपाईँ दुबैलाई हार्दिक शुभकामना ।”
मैले पनि एक हरफ शुभकामना प्रतिक्रिया स्वरूप टाँसिदिएँ । र फेसबुक स्क्रोल गरेँ ।

राजेशले नयाँ प्रोफाइल पिक्चर चेञ्ज गरेको रहेछ । गाढा निलो कलरवाला सर्टमा ऊ निकै ह्याण्डसम देखिएको थियो । लभ रियाक्ट गरेँ ।
“बुलबुल, हाम्रो बिहेको लागि बाबा ममी साइत हेर्न जानुभएको छ ।” तुरुन्तै राजेशको म्यासेज आयो ।
मैले दुईवटा ठूला–ठूला पानको आँखा भएको इमोजी रिप्लाईमा पठाईदिएँ र राजेशले इन्गेजमेन्टमा लगाईदिएको औंठीमा एकफेरो चुमेँ ।

प्रतिक्रिया

सम्बन्धित खवर