
✍️ दिपा मेवाहाङ राई
कान्छी पोइला गई रे ! ’
पाँचथरको च्याङ्गथापुभरि यो हल्लाको बतास चल्यो । त्यस दिन मानिसहरुले सासको सट्टा हल्ला निले ।
हुन पनि यो एकदमै जोकोहीको सास रोकिदिने खालकै खबर थियो । एउटी क्षत्रीनीले घरकै गोठालो त्यो पनि दलितसँग बिहा गर्नु भनेको आकाश खस्नु थियो त्यस समय ।
रामबहादुरलाई कसैले कान्छीको घरमा ल्याएर छोडिदिँदा कान्छीको उमेर पाँच वर्ष र रामबहादुरको उमेर दश वर्ष थियो । आमाबाबु दुबै बितिसकेको र घरघाट ठेगान नभएकोले रामबहादुरलाई त्यहाँ गोठालोको रुपमा ल्याइएको थियो । रामबहादुर दिनभरी आफ्नो ज्यानले सक्ने काम गर्थे । साँझपख भने कान्छीसँग खेल्थ्यो । कहिले लुकिडुम कहिले बेहुलाबेहुलीको खेल । यसरी कान्छी र रामबहादुरको दोस्ती त्यसैबेलादेखि बढ्न गएको थियो ।
चार दिदीदाजु मुनि जन्मिएकी कान्छीलाई घरका सबैले असाध्यै माया गर्थे । उसको खास काम धन्दा पनि हुँदैनथियो । ऊ आफ्नो रुचिले रामबहादुरसँगै कहिले गोठालो कहिले जंगल कहिले खेतबारीतिर हिडिरहन्थी ।
दिन, महिना, वर्षसँगै कान्छी र रामबहादुरको उमेर पनि उकालो लाग्दै गयो । कान्छीको शरीरमा किशोर संकेतहरु सल्बलाउन थाल्यो । रामबहादुरको धड्कन पनि किशोरवयमा तन्नेरी हुन पुग्यो । कान्छी पूmल र रामबहादुर भंवरा भए । मेलापात, घाँसदाउरा गर्दागर्दै तिनीहरुबिचको प्रेमको खाडल गहिरो हुँदै गयो जहाँ कान्छी र रामबहादुर बिस्तारै भासिदैँ गए । मौका मिल्दा एकअर्कामा प्रेमभाव प्रकट गर्थे । तर गुपचुप । तिनीहरुलाई चिन्ता थियो, घरपरिवारको, गाउँलेको, समाजले आफ्नो प्रेमको स्विकारोक्ति गर्न कायापलट हुनुपर्छ । कुन दिन प्रेम गरेवापत सजायको भागिदारी हुनुपर्नेछ भन्ने डरले थरथरी थिए ।
आखिर त्यो दिन आएरै छोड्यो ।
जेठी दिदीको बिहे चार वर्ष अघि र माइली दिदीको बिहे दुई वर्ष अघि भइसकेको थियो । “अब कान्छीको पालो” भनिरहन्थे बाबु । जति पढेलेखे पनि आखिर अर्काकै घरमा जाने जात हो छोरीको भन्ने मानसिकताबाट उनको बाबु पनि संव्रmमित थिए । राम्रो घरबाट कुटुम्ब आए बिहे गरिदिएर स्वर्ग जाने चाहनाले कान्छीको बाबुलाई गाँजेको थियो । चौध वर्षकी कान्छी भर्खरै तीन कक्षामा पढिरहेकी थिई । इलामतिरबाट कान्छीलाई माग्न केटापक्ष आइपुगे । मन पनि पराए । छिटै बिहेको साइत निकाल्ने कुरा सुनाएर केटा पक्ष फर्किए । कान्छीको बाबुको खुसीको सिमा थिएन । छोरीलाई अन्माउन पाए आफु मरिहाले पनि स्वर्ग पुग्ने कुराले ।
हप्तादिन नबित्दै बिहेको मिति टुंगो लागेको र बिहेको तयारी गर्नु भन्ने खबर आयो । घरका सबै तयारीमा जुटे । बिहेको दिन नजिकिदैँ जाँदा कान्छी र रामबहादुरको पीर बढ्दै गयो । भनिन्छ साँचो प्रेम छ भने प्राप्तीको लागि ठुलै परिश्रम गर्नु पर्छ र यस्तो कुरा सुन्दर कहानीमा मात्रै सुनिथ्यो । तर कान्छी र रामबहादुरले आफ्नो प्रेम सफल हुने कुरामा अडिग रहेर एकअर्कालाई बेहद प्रेम गरिरहे । अन्ततः जीवनमा आइपर्ने सुखदुःख सबैसबै आधाआधी बाँडीचुँडी लिने संकल्प गर्दै मंसिरको एक मध्यरात कान्छी र रामबहादुरले गाउँ छोडे ।
गाउँ छोड्दा रामबहादुर १९ बर्षको र कान्छी १४ बर्षकी थिए । नजिकैको गाउँ बाहेक टाढा कतै नगएकी कान्छी पहिलो पटक जिन्दागीको लामो बाटो हिड्दै थिई । एक हातबाट परिवारको हात छुटेको दुःख थियो । अर्को हातमा जीवनसाथीको हात र मायाको साथ पाएको खुसी । दुःख र सुखको साँध हुँदै तिनीहरु नँया जिन्दगीको यात्रामा निस्किएका थिए ।
…………………..
लामो यात्रापछि कान्छी र रामबहादुरले पहिलो र अन्तिम बिसौनी धिताल बाजेको आँगनलाई बनाए । धिताल बाजेले बस्नलाई एउटा छाप्रो ,खानालाई केही माना चामल, पकाउनलाई केही भाँडाकुँडा दिए । त्यसको सट्टामा कान्छी र रामबहादुरले धितालबाजेको खेतको रेखदेख गरिदिने भए ।
कान्छी र रामबहादुरबिच अथाह प्रेम थियो । तिनीहरुले जीवनमा आइपरेका दुःखलाई त्यही प्रेमले सुखमा बदले । एउटै मात्र दुःखलाई तिनीहरुले सुखमा बदल्न सकेनन् । त्यो थियो, आमाबाबु बन्ने सुख । बिहे भएको लामो समय सम्म पनि तिनीहरुको सन्तान भएन । सन्तानले होस् भनेर के मात्रै गरेन ? अनेक भाकल गरे । मन्दिर गए । माताकोमा गए । फेदन्वाको समेत गए । औषधि, जडिबुटी सुनेजाने जति सबै खाए । अँह सन्तान भएन । गाउँमा सबैले कान्छीको कोखलाई अदृश्य दोष दिन थाले ।
बाँझी रहेछ भन्न थाले । मरेपछि सिधै नर्कमा जाने भए भन्न थाले । मुटुमा कँयौँ गाठो पारेर कान्छीले रामबहादुरलाई अर्को बिहे गर्ने सल्लाह दिई । तर रामबहादुर कान्छीलाई सम्झाउँदै भन्थ्यो “चराको बचेरा र छोराछोरी उस्तै हुन् । बचेराको प्वाँख उम्रिनुजेल अनि छोराछोरीको सपनाको खोला सुसाइन्जेल सम्म मात्रै हाम्रा आसपास हुने । जुन दिन प्वाँख बढेर पक्का पखेटामा परिणत हुन्छन् अनि सपना बगेर सागरमा मिसिन्छ त्यस दिन उनीहरुलाई न रोक्न सकिन्छ । न उनीहरु नै रोकिन्छन् । कालान्तरमा हामी दुईजना मात्रै त हुने हो । बुढेसकालमा दुईजना मात्रै हुनु नै छ भने अहिलेदेखि नै दुईजना हुनु ठीक छ ।”
रामबहादुरको यस्तो सान्त्वनाले प्रकृतिको मन रसायो क्यारे ! खुल्ला आकाशको गुँडमा मायाको न्यानो गुँड बनाएको बसिरहेका ती दुबैको जीवनमा एउटा सुन्दर बिहानीले खुसीको अण्डा दियो । बिहे भएको बीस बर्षपछि कान्छी आमा बन्ने भई । साँझ काम बाट फर्किएपछी रामबहादुरले कान्छीको मुखारबिन्दुबाट यो खबर सुन्यो । रामबहादुरले कान्छीलाई जुरुक्क उचालेर आँगनमै एक फन्को मा¥यो ।
गाउँघरमा ‘बाँझी आइमाई’ भन्नेहरुको मुख टालिदिई कान्छीले । पहिला अर्को बिहे गर्ने सल्लाह दिनेहरुले बुढेसकालमा भए पनि बाउ बन्न लागेकोमा बधाई दिए ।
कान्छी दुईजीउकी भए देखि रामबहादुरको माया दोब्बर भयो । दुबैको अनुहारमा खुसीको बेग्लै रङ पोतियो । काकाकुल अभिभावकले सन्तान प्राप्त गर्न लाग्दाको त्यस सुख बयान गरिनसक्नुको थियो । सन्तानको बारेमा निकै सचेत ती दम्पतीले सम्पूर्ण तयारी गरे । अन्ततः कान्छीले सात महिनामै छोरी जन्माई । रामबहादुरले धुमधाम न्वारान गरे । छोरीको जन्मपछि घरआँगन अझै उज्यालो भएको महशुस गरे ।
कान्छी र रामबहादुरले दिनरात नभनी काम गरेर अलिकति पैसा जम्मा गरेका थिए । त्यो कुरा धिताल बाजेलाई थाहा थियो । उनै धिताल बाजेले सल्लाह दिए “जीवनभर अरुकै घरमा कति दुःख गर्छौ? यसो अलिकति भए पनि आपूm उभिने माटो किन । आफ्नो भनेको आफ्नै हुन्छ ।” धिताल बाजेको कुरा रामबहादुरलाई ठिक लाग्यो । कान्छीसँग सल्लाह गर्यो । तर जग्गा पास गर्न नागरिकताको चाहिन्थ्यो । ती दुबैसँग नागरिकता थिएन । सरकारी नियम अनुसार नागरिकता बनाउन परिवारको सनाखत चाहिन्थ्यो । रामबहादुरको परिवारमा कोही थिएन । बाउको अनुहार समेत मज्जाले सम्झिन सक्दैनथ्यो रामबहादुर । बाउ बितेपछि आमा अर्कैसँग बिहे गरेर गएकी थाहा पाएको थियो । अब कता नागरिकता खोज्नु भयो । रामबहादुरको परिवारमा कोहि नभए पनि कान्छीको परिवार त छन् । त्यताबाट कान्छीको नागरिकता बन्ने सम्भावना देखे ।
सावाँको भन्दा ब्याजको धेरै माया लाग्छ भनेझैँ नातिनीको भविष्य सोचेर कतै मन फर्की हाल्छ कि ? यहि सोचेर २१ बर्ष पछी मनमा झिनो आशा बोकेर रामबहादुर पाँचथर गए । त्यहा पुगेपछि पो थाहा पाए परिवारको इज्जत माटोमा मिलाएको भन्दै तिनीहरु हिंडेको भोलिपल्टै कान्छीको किरिया नै गरिदिएका रहेछन् । आशाको डोरी पव्रिmएर समस्याको खाडल पार गर्न गएको रामबहादुर बिचैमा खसे ।
कान्छीप्रति उनैको परिवारले गरेको त्यो अकल्पनीय व्यवहारले मनको धरातलको एक पाटा भासिसकेको थियो । बिडम्बना अर्को पाटा उसैगरि भासियो जब तीन वर्षकी हँुदा सम्म पनि छोरी बामे मात्रै सरिरही । हिंड्ला, कुद्ला र तोतेबोलीमा बाआमा भन्ला भनेर कुर्दाकुर्दै तिनीहरुको ओठ सुक्न थाले ।
छोरी हिड्न थालेपछि उसलाई मन पर्ने चकलेट, बिस्कुट किन्न पसलसम्म डो¥याउने कल्पना गर्थे रामबहादुर । चार वर्षकी हँुदा पनि छोरीको बोली फुटेन । कान्छी आफ्नी छोरीको मुखबाट ‘आमा’ शब्द सुन्न लालायित थिई । तिनीहरुले बुढेसकालमा पाएको खुसी डोकोको प्वाल जस्तै भयो । न हिउँदमा मन छेड्ने बतास रोक्यो । न रोक्यो बर्षामा हानेको आँखाको बछिटा ।
अलिक दिन नजिकिएको हरेक वस्तुसँग त प्रेम हुन्छ । कान्छीको त आफ्नै रगतको डल्लो थियो । प्रेम नहुने कुरै भएन । आफ्नो सन्तान जे जस्तै भए पनि आमाबाउको लागि संसारकै सुन्दर र आकर्षक हुन्छ । दिनरात रगतपसिना गरेर कमाएको पैसाले छोरीको भाविष्यको लागि भनेर जग्गा किन्ने सोच बनाएका थिए । एकातिर नागरिकता नभएकोले जग्गा किन्न पाएनन् । अर्कोतिर छोरीको उपचारमा खर्च गर्दा पैसा सके । तिनीहरु आफ्नै देशमा अनागरिक हुनुको पीडाले रन्थनिरहे । गरिबीमा पिल्सिरहे ।
समय आफ्नै गतिमा कुदिरह्यो । छ वर्षकी छोरी बामे मात्रै सरिरही । तर रामबहादुरको जीवन रोकियो ।
रामबहादुर खाना खाएर निदाएको थियो । आधारातमा सास फेर्न गाह्रो भयो भन्दै बिउँझियो ।
“चिसो पानी खान दे” भन्दै छेउमा निदाएकी कान्छीलाई उठायो । कान्छीले छेउमा राखेको करुवाको चिसो पानी दिई । केही बेरमा अलिक बिसेक भएको भन्दै दुबै निदाए । सदाझँै बिहान कान्छी उठी । तर राम बहादुर सधैको लागि निदाईरहे ।
२६ बर्ष अघि एक रात जूनसँगै डुल्दै डुल्दै आइपुगेका थिए कान्छी र रामबहादुर धितालबाजेको घरमा ! त्यो जून डुल्दै डुल्दै कहाँ सम्म पुग्यो होला ? या कति फन्को लगायो पृथ्वीलाई ? तिनीहरु भने कहिले सजिलोगरि त कहिले अप्ठ्यारोगरि धिताल बाजेकै गाउँलाई फन्को मारिरहे । २६ वर्षपछि रामबहादुरले कान्छीलाई एक्लै त्यस गाउँमा छोडेर गए ।
……………..
“यो घामले सधै किन अरुलाई मात्रै न्यानो दिन्छ ?”
कान्छीले डडेल्नोको घाँसको भारी गोठमा फ्यात्त फालेर टाउकोमाथिको चर्को घाम हेर्दै लामो खुइय्या छोडी ।
ऊ कहिलेकाहीँ आफ्नो मरिसकेको लोग्नेलाई पनि गुनासो पोख्छे ।
“आफू चै सुखले फ्याट्टै उडी गयो । मलाई भने बाँचिन्जेन दुःखको खाल्डोमा जाकेर ।”
फेरि छिनमै खुसी हुँदै भन्छे “तिमी वचनको पक्का रहेछौ । बुढेसकालसम्म मेरै साथमा बस्छु भन्थ्यौ । तिम्रो आत्मा कहाँ उड्दैछ होला । तर शरीरको बनावट हेर्दा लाग्छ, छोरी भएर यहीँ मेरै छेउमा बसिरहेका छौ ।”
हुन पनि गोलो आँखा, चुच्चो नाकको डाँडी, छालाको रङ्गरोगन सप्पै रामबहादुर जस्तै देखिन्छे छोरी । त्यही छोरीकै अनुहार हेरेर कान्छी मरिसकेको आफ्नो लोग्नेको न्यास्रो मेट्छे ।
विगतको पर्दा भित्र पसेर आफ्नो पात्रले निर्वाह गरेको चरित्र सम्झिँदै कान्छीले टाउकोबाट आघा खसिसकेको गम्छा तानेर अनुहारको पसीना पुछी र धिताल बाजेको सिकुवातिर लागी ।
सिकुवामा आईपुदा नपुग्दै धितालनी बोजुले गिलासमा बोकेर आएको चियाको गिलास कान्छीको हातमा राखिदिँदै भनी “कान्छी जहिले हतार मात्रै गर्छौ । सास पनि हतारैमा फेर्छौ होला हगि !”
कान्छीले चुपचाप गिलासको चियालाई सुरुप्सुरुप् पारी । चिया पिइसकेपछि नाम्लो बोकेर घाँसदाउरा गर्न जान लाग्दा भनी, “के गर्नु बजै मेरो जिन्दगीमा सबै कुरा हतारमै त भयो । बिहे पनि हतारमै भयो । राँडी पनि त हतारैमा भए । यो छोरी मात्र ढिला भयो । कहिलेकाहीँचैँ सोच्छु, सास चै हतारमा नजाओस । नत्र मेरो छोरीको सारै बिजोक हुन्छ ।”
“त्यसो नभन न कान्छी । सुखका दिन पनि त आउँला ।” धितालनी बजुले आशा देखाई ।
“खोइ बजै यो दुःखको दाँती यति धारिलो छ यसले एकपछि अर्को अर्को दुःखलाई तानिरहन्छ । घुमाइरहन्छ । अल्झाईरहन्छ । अब त म आफै यो दाँती भइसकेँ ।”
अघि सम्म अलिअली सुनिएको कान्छीको स्वर नेपथ्यमा गएर विलिन भयो ।
प्रतिक्रिया
-
४