✍️ रिजाल विनोद

मुक्तक – १

माया प्रेमका कुरा ,सधैं वारपार हुनुपर्छ
दोष देखाउन पनि केही ,आधार हुनुपर्छ
सजायमा मलाई जन्म कैद दिन्छौं भने,
प्रिया तिम्रो दिल, मेरो कारागार हुनुपर्छ ।

मुक्तक – २

बर्खा मासको भेल छुटेपछि आउँछु भन्थी
पूर्व पश्चिमको रेल छुटेपछि आउँछु भन्थी
बारम्बार प्रेम प्रस्ताव राख्दा पनि उहीँ कुरा
प्रेममा हुने जालीखेल छुटेपछि आउँछु भन्थी ।

मुक्तक – ३

भावीले लेखेको मर्म थियो कि कतै
सृष्टिको विधानमा धर्म थियो कि कतै
तिम्रो छोरी बलात्कृत भए चुप बस्थ्यौ सोध्नु
नारी नै हुन् राष्ट्रपति सर्म थियोे कि कतै ।

मुक्तक – ४

उम्लिएको रगत सुक्न हुन्न थियो
देश बनाउने कार्यमा चुक्न हुन्न थियो
आमाको हिफाजतमा आफू काटिने डरले
युद्ध मैदान छोडेर लुक्न हुन्न थियो ।

मुक्तक – ५

रुकुम रोल्पा बैतडी ,नुन पुगेको छैन
रोइरहेको सारङ्गी ,धुन पुगेको छैन
राजधानीमा ब्वाँसो छिरो शान्ति हरायो
मेरो देशको सिमानामा खुन पुगेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर