✍️ पृथक हिमाल ओली
गजल – १
मलाई फुट्नै पर्ने भो तिम्रो घर बन्न पनि
कहाँ सजिलो रहेछ र पत्थर बन्न पनि
हामी अलग हुन यौटै कारण काफी भो
एउटै नदी चाहिन्छ दुइटा बगर बन्न पनि
सादा भयौ भने कफन ठान्छन्, विचार गर्नु
बुट्टा भरिनुपर्छ कम्तिमा च्यादर बन्न पनि
बधशालाको जागिरे रहेछौ खुसी लाग्यो
अब मर्नु पर्ने भो भेट्ने अवसर बन्न पनि
गजल – २
सोचेँ भीड हो, होलान् भिन्न भिन्न मान्छे,
यत्रो भिडमा तिमी बाहेक देखिन्न मान्छे ?
बरु तस्बिर खिच मनमा कैदी बनाउ
आँखामा नराख आँखामा अडिन्न मान्छे
हरेक पाइलामा रगतको डाम हुनुपर्छ
मुखले मान्छे हुँ भन्दैमा भइन्न मान्छे
कोही सालिक बनेर मुस्कुराइ रहेछ
जाबो मृत्यु आउँदैमा सकिन्न मान्छे
प्रतिक्रिया
-
४
