✍️ महेश पौड्याल
महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चा नेपालमा साहित्यिक वृत्तका अतिरिक्त पत्रपत्रिकामा, घर–घरमा, सभा–समारोहमा, प्रतियोगिताहरूमा, सामान्य ज्ञानका सन्दर्भमा, राजनीतिमा र पाठ्यक्रममा सबैतिर हुने गरेको छ ।
देवकोटाको स्थान नेपाल बाहिर के–कस्तो छ, उनलाई नेपाल बाहिरको मुलुकका पाठक, समालोचक र विज्ञहरूले कसरी र कति बुझेका छन्, यो सबैका लगि चासोको विषय बन्न सक्छ ।
यदाकदा सुनिन्छ र धेरै विद्वान्हरू यस भनाइसँग सहमत पनि देखिन्छन् कि देवकोटाजस्तो विलक्षण प्रतिभा नेपालजस्तो गरिब, र बौद्धिकताको कदर गर्न नजान्ने देशमा नजन्मिएर कुनै अर्कै देशमा जन्मिएका भए आज विश्वसाहित्यमा उनको स्थान धेरै उँचो र सम्मानित हुने थियो ।
राहुल सांकृत्यायनलाई सायद थाह थियो, देवकोटाजस्तो विलक्षण प्रतिभा एक जुगमा एकपटक आउँछ र विश्वलाई नयाँ बाटो दिएर जान्छ । हो सबै लेखक सोफोक्लिस, होमर, दाँते, शेक्सपियर, टोल्सटय र वर्डस्वर्थ हुन सक्दैनन् । उनीहरू लामो कालखण्डमा जन्मन्छन् र संसारलाई ज्ञानको दिव्य आलोकले प्रज्वलित पारेर जान्छन् । प्रस्तुत लेखले नेपालबाहिर र विषेश गरी पश्चिमी विद्यार्थी, प्राज्ञ र समालोचकहरूको दृष्टिमा देवकोटालाई हेर्ने चेष्टा गरेको छ ।
वास्तवमा देवकोटाको देशमा जति चर्चा भए पनि परदेशमा निश्चय नै कम र फाट्टफुट्ट मात्रै चर्चा भएको छ । हामीले देवकोटाको प्रतिभालाई अन्तर्राष्ट्रियकरण गर्न नसकेर यसो भएको हुनसक्छ ।
अमेरिकाको कोलोम्बिया विश्वविद्यालयले प्रकाशित गरेको, डेभिड रुबिनद्वारा अनूदित देवकोटाको एउटा कविताकृतिमाथि टिप्पणी गर्दै समालोचक अलेन थ्रेसरलले देवकोटालाई नेपाली साहित्यको वास्तविक विकासका एक महत्वपूर्ण सिल्पी मानेका छन् ।
उनी भन्छन्- “नेपाली साहित्यको इतिहास पाँच सय वर्षभन्दा पुरानो भए पनि यसको वास्तविक विकास बीसौँ शताब्दीमा आएर मात्रै भएको हो र यो कालका महानतम् लेखक लक्ष्मीप्रसाद देवकोटा हुन् । उनले विभिन्न विधाहरूमा रचनाको विशाल निधि तयार पारे र उनी अङ्ग्रेजी छायाँवादी कविहरूबाट प्रभावित थिए । उनीहरूलेझैँ देवकोटाले पनि स्वच्छन्दता, सलिलता र भावपरकतालाई प्राथमिकता दिए ।”
देवकोटा हृदयप्रधान कवि हुन् । उनको स्वभाव पनि त्यस्तै थियो । उनी भावनाका लहरमा उन्मुक्त उडान भर्थे र स्वभाव पनि त्यस्तै थियो भनिन्छ । थ्रेसरले देवकोटाको लेखकीय स्वभावको बारेमा यसो भनेका छन्- “उनी आफ्ना रचनाहरूको पुनरलेखन गर्दैनथे, र कतिपय अवस्थामा उनको हस्तलेखन नबुझेर उनका प्रकाशकहरू खाली छोडिदिन्थे ।”
देवकोटाको महत्त्वलाई नेपालको भौगोलिक सीमाको परिधिभित्र हेरिनु उनका विचारको सार्वभौमिकतालाई खुम्च्याइनु हो । थ्रेसरले देवकोटाको यो पक्षलाई पनि उजागर गरेका छन् उनले भारतीय भूखण्ड र मिश्र, दुवै क्षेत्रका प्राचीन मिथकमा आधारित धेरै लामा पद्य कथा लेख्नुका अतिरिक्त सामाजिक विद्रोह, बालकविता, गान्धीको निधनमा अङ्ग्रेजी सनेटहरूको एक शृङ्खला, प्राकृतिक सौन्दर्य, पारम्परिक, लोकगायकहरूको अनुकरणमा रचना, र गरिबी र मृत्युमाथिका विलाप आदि विषयमा कविता पनि लेखे ।
नेपाली वाङ्मयमा देवकोटालाई विभिन्न काल र विभिन्न परिस्थितिसँग जोडेर हेरिएको छ । जी. एन. यु. फ्री डक्युमेन्टेसन अनुमति पत्रअन्तर्गत प्रकाशित नेपाली साहित्यबारे एक अनलाइन लेखमा देवकोटालाई नेपाली साहित्यमा क्रान्तिपूर्व काल भनेर उल्लेखित कालखण्डमा गुरुप्रसाद मैनाली र विश्वेश्वरप्रसाद कोइरालासँगै अत्यन्त महत्वपूर्ण लेखकका रूपमा हेरिएको छ ।
देवकोटा क्लिष्ट पनि छन् सरल पनि । उनको भाषा सरल होला तर भाव भने अवस्यै गम्भीर छ । यो यथार्थलाई कतिपय लेखकहरूले ठाउँठाउँमा औंल्याएका छन् । पल्लव रञ्जनले देवकोटाका कविताकृति “यात्री” को अनुवाद गर्नेक्रममा महाकविका बारेमा लेखेका छन्— “देवकोटाका लेखहरूको मूल भावलाई बुझ्नु भनेको हुस्सुमा वाष्प देख्नु वा हजारौँ जुनकीरीहरूको उज्यालो एकैचोटि हेर्नु जत्तिकै कठिन छ ।” जून २२, १९९५ मा पिपल्स रिभ्युमा प्रकाशित एम. आर. रोस्को एउटा लेखमा भावको यो क्लिष्टताका बाबजुद देवकोटालाई नेपालकै सर्वाधिक लेकप्रिय कवि भनिएको छ ।
चीनमा देवकोटाको अर्के महत्त्व छ । ल्हासामा त महकाविको सालिक नै छ । चीनभरि पनि, उनको मुनामदन चिनिया भाषामा उल्था हुनुले देवकोटाप्रतिको निचियाँहरूको सम्मान उल्लेख्य हुन पुगेको छ । केही वर्षअगाडि, यसपालि, अर्थात २०७२ भाद्रको २१ गते देखि २६ गतेसम्म चीनको राजधानी बेइजिङ्को प्राज्ञिक जगत तथा साहित्य पारखीले देवकोटोको उचाइ र नेपाली साहित्यको विस्तारको केही न केही अन्दाज पाएका छन् ।
नेपालबाट देवकोटा चिनाउन चीन पुगेको देवकोटा–लुसुन प्रज्ञाप्रतिष्ठानको टोलीले बेइजिङ्मै पुगेर गरेको प्रदर्शनी, विचार गोष्टी र प्रवचनले चिनिया साहित्यकार र विद्यार्थीहरूबीच देवकोटा बारे चासो जगाएको छ । समालोचक निनु चापागाइँले नेतृत्व गरेको टोलीमा साहित्यकारहरू रामबाबु सुवेदी, रणेन्द्र बराली, हरिगोविन्द लुइँटेल, कृष्ण प्रसाई, मातृका पोखरेल र महेश पौड्याल, तथा गायक जीवन शर्मा सामिल हुनुहुन्थ्यो । टोलीले चार दिन देवकोटाको जीवन र लेखनसम्बन्धी प्रदर्शनी, एक दिन विचार गोष्ठी र एक दिन चीनको रेन्मिन विश्वविद्यालयको प्राध्यापक र विद्यार्थीहरूमाझ विचार विमर्श सम्पन्न गरेर भाद्र २७ गते काठमाडौँ फर्किएको छ ।
बेइजिङ्मा सोही सहरस्थित बेइजिङ् लुसुन म्युजियमले आयोजना गरेको प्रदर्शनी २१ र २२ गते मात्र हुने भनिएकोमा दर्शकहरूको सुविधालाई ध्यानमा राखी आयोजकहरूले अरु २ दिन थप गरेर २४ गतेसम्म बढाए । उक्त अवसरमा देवकोटाको लेखन र जीवन झल्कने करीब ४० फ्लेक्स प्रिन्ट, २३ वटा चित्रकला, देवकोटाले लेखेका र देवकोटामाथि लेखिएका पुस्तक र पत्रिकाका विषेशाङ्क गरी ९० पुस्तक र एउटा वृत्तचित्र प्रदर्शित गरियो ।
देवकोटाको लेखनका विभिन्न पक्ष, उनको जीवनी, उनीमाथि बनाइएका विभिन्न कलाकृति तथा आयोजक संस्था देवकोटा लुसुन प्रज्ञाप्रतिष्ठानका विभिन्न क्रियाकलापको विवरण समेटिएको पुस्तक ‘हार्मनी’ तथा देवकोटाका चित्र प्रदर्शनी र गोष्ठी हेर्न वा सुन्न आउने चिनियाँ दर्शक र श्रोताहरूलाई निःशूल्क वितरण पनि गरियो ।
२२ गते बेइजिङकै तपाओ होटलको सभाकक्षमा नेपाली र चिनियाँ साहित्यकारहरूबीच एक विचार गोष्ठी भयो, जसमा समालोचक निनु चापागाइँले देवकोटाका विभिन्न अविस्मरणीय पक्षका बारेमा कार्यपत्र प्रस्तुत गर्दै देवकोटाको जनपक्षीय साहित्य र मानवतावादको चर्चा गर्नुभयो ।
कार्यक्रमको तेस्रो दिन, बेइजिङस्थित रेन्मिन विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीबीच पुगे नेपालका साहित्यकार । विषय फेरि पनि देवकोटा र समग्र नेपाली साहित्य ।
समालोचक निनु चापागाइँले देवकोटाको अन्तर्राष्ट्रिय विस्तार र अन्य मुलुकमा देवकोटाजस्तै प्रतिभाहरूबीच तुलनात्माक अध्ययन, तथा मित्र राष्ट्रबीच साहित्यिक र सांस्कृतिक आदानप्रदान गर्नका लागि गठिन सङ्गठन देवकोटा लुसुन प्रज्ञाप्रतिष्ठानको प्रकृति, लक्ष्य र उद्देश्यका बारेमा जानकारी गराउनु भयो । पंक्तिकारबाट पनि नेपाली साहित्यको विगतदेखि वर्तमानसम्मको एक संक्षिप्त सिंहावलोकन प्रस्तुत गर्दै यस इतिहासमा देवकोटालाई एक प्रमुख टाकुरोको रूपमा व्याख्यातित गर्ने कोशिस भएको थियो ।
प्रदर्शनीको अन्तिम दिन देवकोटा लुसुन प्रज्ञाप्रतिष्ठान र बेइजिङ् लुसुन म्युजियमका पदाधिकारीबीच द्विपक्षीय विचार विमर्श भयो, जसमा एकअर्काको साहित्यलाई एकअर्काको मुलुकमा प्रचारप्रसार र प्रवद्र्धनका लागि आगामि दिनमा थप नयाँ आधारहरू विकास गर्दै लाने प्रतिबद्धता गरियो ।
चीनका लागि नेपाली राजदूत महेश कुमार मास्केले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्नुभएको रात्रीभोजका अवसरमा पनि नेपाल र चीनबीच यथासम्भव साहित्यिक–सांस्कृतिक आदानप्रदानका थप प्रयासहरू जारी रहनुपर्ने बारे विचारहरू व्यक्त गरिए । सो अवसरमा देवकोटाको मुनामदन खण्डकाव्यलाई चिनिया भाषामा अनुवाद गर्ने प्राध्यापक लिउ जिअन तथा लुसुन सांस्कृतिक प्रतिष्ठानका उपाध्यक्ष मेङ् हाइ दोङ्ले पनि नेपाली र चिनिया साहित्यका बीच पारस्परिक सम्बन्ध विकास गर्नुपर्ने भन्दै सहकार्यका केही प्रस्तावहरू पनि राख्नुभयो ।
देवकोटा अङ्ग्रेजीमा पनि लेख्थे र उनको यो खुबीले उनलाई अन्तर्राष्ट्रिय रूपमा आफूलाई स्थापित गर्न सहयोग ग¥यो । निश्चय नै उनका नेपाली कृति वा तिनको अनुवादभन्दा बढी मूलरूपमै अङ्ग्रेजीमा लेखिएका कृतिहरू बाहिर बढी वितरित र चर्चित भए ।
अक्टुबर ५, २००० मा बीबीसीबाट प्रसारित दक्षिण एसियाली साहित्य विषयक बहसमा देवकोटा र अन्य दक्षिण एशियाली स्रष्टाहरूका बारेमा यसो भनिएको छः हरिवंश राय, मुल्कराज आनन्द, माइकल ओन्दात्जे र लक्ष्मीप्रसाद देवकोटाले अङ्ग्रेजीमा उत्कृष्ट सामग्रीको श्रृष्टि गरेका छन्, जुन आफैँमा विशिष्ट छन् तर अङ्गेजी भाषामा एउटा महाकाव्य र धेरै कविता लेख्ने पहिला नेपाली लेखक देवकोटा र हिन्दी कविहरू पन्त, प्रसाद र निरालामा एउटा छुट्टै मिठास पाइन्छ, जसले उनीहरूका रचनालाई अन्य अङ्ग्रेजी भाषाका लेखकहरूका रचनाभन्दा पृथक बनाएको छ ।
भारतमा देवकोटाको लोकप्रियताको त कुनै साँध सिमाना छैन । नेपालीभाषीहरूबीच त लोकप्रिय हुने नै भए । पछिल्लो समय गीता उपाध्यायले मुनामदनलाई असमिया भाषामा अनुवाद गरेपश्चात असममा, र असमीया भाषा पढ्नदेख्न सकिने बङ्गाल तथा उत्तरपूर्वी भारतका अनेपाली भाषी समुदायमा पनि देवकोटाको लोकप्रियता बढेर गएको छ ।
देवकोटा महान् छन् यस कुरामा मतभिन्नता छैन तर यस्ता विलक्षण प्रतिभा विषेश कार्यक्रमको सेरोफेरो र पाठ्यक्रमले सिर्जना गरेका बाध्यात्मक स्थितिबाहेक आज आम पाठकको चयनमा पर्दैनन् भन्ने कुरालाई स्वदेशी मात्र नभई विदेशी विद्वान्हरूले पनि औँल्याएका छन् ।
२००३, अप्रिलको अन्तिम सातातिर हिमाल एसोसिएसनले काठमाडौँमा आयोजित नेपाली साहित्यबारेको एक अन्तरक्रियामा माइकल हटले देवकोटाको ऐतिहासिक महत्त्व ठूलो भए पनि उनी अहिलेका पाठकको चयनमा पर्न छोडेको बताएका थिए ।
देवकोटाको योगदानलाई साहित्यमा जति महत्वका साथ हेरिन्छ, नेपाली भाषाको परिस्कार र सामाजिक मूल्य मान्यताको जगेर्नाका सन्दर्भमा पनि उत्तिकै महत्त्वका साथ हेरिन्छ ।
कोर्नेल विश्वविद्यालयले एशियाली भाषाको पाठ्यक्रम निर्देशिकामा नेपाली भाषाको उल्लेख गर्दै भनेको छ – “लक्ष्मीप्रसाद देवकोटा, भानुभक्त आचार्य र लेखनाथ पौड्यालजस्ता लेखकहरूले नेपाली भाषालाई एक साहित्यिक भाषाको रूपमा स्थापित गरे ।” उता देवकोटाको सामाजिक मूल्यप्रतिको प्रतिबद्धताका बारेमा पनि पश्चिमी जगतमा यदाकदा चर्चा गरिएको पाइन्छ ।
अक्स्फोर्ड इन्स्टिच्युट अफ एजिङ्ले प्रकाशित गरेको एउटा कार्यपत्रमा लेस्ली कर्कलीले देवकोटाले नेपालमा ज्येष्ठ नागरिकप्रति सम्मान भाव सिर्जना गराउनमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया
-
४
