
✍️ महेश पौड्याल
त्यसपछि फुलेन गोदावरीका रचनात्मक आलोचकहरूलाई सम्झन्छु । उहाँहरूले मभित्रको लहडी कथाकारलाई बाटो देखाउनुभयो । त्यसैका आधारमा संवेग र आत्मालापकै भुँवरीमा रुमलिरहने मेरा कथालाई यसपल्ट समाजका सुखदुःखका बीच उभ्याउने कोसिस भने अवश्यै गरेको छु । “जस्तो देखेँ त्यस्तै लेखेँ” भनेर एउटा अपरिपक्व तर्क गरेको थिएँ कुनै बेला ।
त्यसमा मेरा प्रबुद्ध गुरुहरूले सोध्नुभयो- तिमी कथाकार कि फोटोग्राफर ? मैले सिकेँ – सर्जकले देखेको घटनाबाट लेखकीय विवेकको चाल्नीले सार्थक कुरा चाल्नुपर्ने रहेछ, र के देखेँभन्दा पनि समाज र मान्छेको हितमा के हुनुपर्छ, कथालाई त्यो मोड पो दिनुपर्ने रहेछ । मेरा गुरु प्रा.डा. अभि सुवेदीले खोल्दिनुभएको हो चेतनाको यो उज्यालो ! टिप्न कति सकेँ, त्यो चैँ भन्न सकिनँ ।
फेरि पनि मेरा पात्र त कतै छुटेका, झड्कारिएका, एक्लिएका वा विक्षिप्तताका सिकार भएकै पात्र हुन् । तर यिनमा, यसपालि, केही न केही सामाजिक सरोकार भर्ने प्रयास गरेको छु । यिनमा केही न केही सार्विक तर्क स्थापित गर्ने कोसिस गरेको छु ।
कथा साहित्यको धारामा केही नयाँ देखिनुपर्छ, जसका लागि अलि प्रयोगशील हुनुपर्छ भन्ने मेरा सहृदयी शुभचिन्तकहरूको कुरा थियो । तर, म अलि अटेरी नै निस्किएँ । यी कथामा पनि त्यति प्रयोगशील हुन सकिनँ । जानिनँ । प्रयोगको प्रयोजनलाई पुष्टि गर्ने कुनै गतिलो तर्क पनि फेला पारिनँ । म आफूलाई सामान्य लेखक ठान्छु र मेरा आँखामा सधैँ ‘आम’ पाठक रहन्छन् । यत्ति सम्झँदा म कथाको चलनचल्तीकै मार्गमा आइपुग्छु । प्रयोगशील हुन नसकेपछि वा नचाहेपछि गरिने एउटा कुतर्क हो यो सायद । अथवा कमजोरी छोप्ने एउटा दुष्प्रयास । स्वीकार्छु ।
साँच्चिकै प्रयोगशीलताले जुन औचित्यपुष्टि, क्रमिक सामाजिक–प्राज्ञिक स्वीकृति, र पाठकीय निरूपण माग्दछ, त्यसको सामना गर्ने ल्याकत तथा त्यसको गहिराइको अध्ययन मसँग अलि नभएको सत्य हो । कथाको सहजता र सरलताको पक्षमा मतदान गर्न पुगेँ । आफू जुन औसत मैदानमा उभिएको छु, कथालाई पनि त्यहीँ उभ्याएँ ।
मेरा लक्षित पाठकलाई पनि त्यसैतिर कल्पना गर्ने धृष्टता गरेँ । मेरा कथा नयाँ स्वरूपका लागि मौसम–बेमौसम ब्युटी पार्लर पस्न पटक्कै मानेनन् । सार्वजनिक सम्पत्ति हुन खोजे, र नै मजस्तै अटेरी कथाले सार्वजनिक हुनुका सीमाहरूलाई नै गहना मान्ने तर्क गरे । म बोलिनँ । सायद मेरा कथाको नियति नै यही हो । प्रयोगशील कथाको औचित्य, कथाका पानाभन्दा बाहिर, अथवा समालोचनाका केही पुस्तक, पाठ्यक्रम, र प्रश्नपत्रबाहिर म आफैँले ठम्याउन सकिरहेको छैनँ, कथालाई प्रयोगशील बनाउन के सकूँला ? कथाका खुट्टा गाउँसमाजमा हुन्छन् र आम मान्छेमा हुन्छन् भन्नेचाहिँ बुझेको छु ।
म हिँडिरहन्छु, डुलिरहन्छु । जहाँ पुगे पनि कान तिखारेर समाजको आवाज सुन्ने कोसिस गर्छु । मैले, मेरो देश र समाजबाट, उसैको कथालाई प्रयोगशीलताको नाउँमा क्लिष्ट बनाउनू भन्ने आग्रह वा आदेश कतै पनि सुनिनँ । पश्चिमा देशको समाज, आग्रह र अवस्थिति हेरेर, त्यसैअनुरूप यी कथा उभ्याउने सिप आफूमा नभएको पाएँ ।
उता दशकौँअघि थोत्रिएको प्रयोगलाई आजको मितिमा यता टाँसेर कथालाई अर्कै बनाउने प्रचेष्टा गरिनँ । यसो सोचेँ – देशमा होस् वा यी कथामा, जीवनको आधारभूत अर्थको खोजीको प्रश्न नै सर्वोपरि छ ।
फेरि सोचेँ, उत्तरआधुनिकता, भूमण्डलीकरण तथा वैज्ञानिक क्रान्तिका छालहरूले पूरै छोपेको मेरो देश कुनै पनि हदको प्रयोगशीलताका लागि तयार छैन र ? आफैँले आफैँलाई उत्तर दिएँ – समुद्रका छालले छोइने सबै भूगोल बोस्टोन वा डोभर हुँदैन । तटीय गाउँ पनि हुन्छन् । निर्जन वन वा बगर पनि हुन्छन् ।
उत्तराधुनिकतासँग मेरो ठूलो विमति छैन । तर जुनसुकै जमिनमा त्यसको बिरुवा, उही समयमा, उही ऊर्जाका साथ उम्रिन्छ र फल्छ भन्ने कुरामा मेरो विश्वास छैन ।
कुरा फेरि प्रयोगशीलताकै । यसो सोच्छु — गाँस, वास, कपास, नैसर्गिक मानवीय स्वतन्त्रता, आधारभूत विकास आदिको तसहबाट एक तह माथि उठेर, प्रायोजित समाजवाद हुँदै पुँजीवादको चुचुरोमा उभिएका कतिपय देशमा प्रश्न करिब करिब भर्चुअल रियालिटीको छ । कथा पनि उस्तै छन्, उपन्यास पनि ।
तर म जहाँ, जुन भीड र भूगोलमा उभिएको छ, आज पनि प्रश्न आधारभूत कुराकै छ । अवास्तविक समयभन्दा एक शताब्दीअगाडि बढेर उभिन मिल्छ लेखक वा सर्जकले भनेर सोचेँ । यसका लागि प्रयोगशील हुनु अवश्यंभावी थियो । प्रयास गरेँ । आफ्ना कथाको प्राणमा त्यस्तो प्रयोगशीलताको आग्रह भेटिनँ । त्यो नभेट्टाउँदासम्म, कथाको स्वरूपमा मैले लेपन गर्न खोेजेको प्रयोगशीलताले मेरै विरुद्ध महाअभियोगको प्रस्ताव अगाडि सारिदियो । हच्किएँ ।
यिनै कमजोरीहरूको लावालश्कर बोकेर समाजमा आएको छु । पाठकसामु उभिएको छु ।
सधैँ लागिरहन्छ – आम मान्छेको साहित्य हो कथा । कथालाई लगेर भीडमै उभ्याइरहेँ र आफू पनि त्यसै भीडमा परिचयविहीन भएर हराउनुको आनन्द पिइरहेँ । छुट्टै देखिएर पनि विशिष्ट भइरहन एक प्रकारको उदात्तता र भव्यता चाहिन्छ ।
असामान्य सिर्जनशीलता चाहिन्छ । विचारकै तहमा साँच्चिकै अनुकरणीय नवीनता चाहिन्छ । नत्र, लेखक टिक्दैन । अथवा, आवरण चिरेर हृदयमा बस्दैन । मैले त्यो हदमा आफूलाई विकसित गर्नै सकिनँ । छुट्टै देखिनुको औचित्यपुष्टि गर्न सकिएन भने भीडमा मिसिनु सबैभन्दा सार्थक रणनीति हो, जीवनको ।
म भीडमा छु ।
प्रतिक्रिया
-
४
-
१०