✍️ रोबर्ट हेइडेन, अमेरिका
✍️ भावानुवाद : महेश पौड्याल
आइतबार पनि, मेरो बुवा चाँडै उठ्नुहुन्थ्यो
र सङ्लिन बाँकी नीलो–कालो अँध्यारोमा लुगा लगाउनुहुन्थ्यो
साताभरिका अन्य दिनहरूको प्रतीकूल मौसममा
उहाँले गरेको मदजुरीबाट चर्चरी फुटेर दुखिरहने हत्केलाले
आगो जोड्नुहुन्थ्यो ।
तर कसैले देख्नथ्यो उहाँको गुन ।
म उठ्थेँ, र सुन्थेँ ठिही चोइटिरहेको, फुटिरहेको ।
जब भान्सा कोठा न्यानो हुन्थ्यो, उहाँ मलाई जगाउनुहुन्थ्यो ।
म सुस्तरी उठ्थेँ, र लुगा लगाउथेँ
डराउँदै त्यस घरको दीर्घ आक्रोशसँग
जो वेवास्ताको भाषा बोल्थ्यो मेरो बुवाप्रति,
जसले अँध्यारो भगाउनुहुन्थ्यो
र मेरा चर्च जाने जुत्तामा पालिस लगाएर चिटिक्क पारिदिनुहुन्थ्यो ।
त्यस बेला, मलाई के थाहा, साँच्चै के थाहा —
मायाको पवित्र तर एक्लो स्वभाव कस्तो हुन्छ भनेर !
प्रतिक्रिया
-
४