✍️ दीप दर्शन

गजल – १

सधैँ दुखेको दिल हो अझै दुखाउ फरक पर्दैन
पीडा हुनै छाड्यो नुनचुक लगाउ फरक पर्दैन

जुनकीरीसँग रमाएको मान्छे हुँ बचपन देखि
बादल तिमी जून लुकाउ नलुकाउ फरक पर्दैन

बारुद बनेर पट्किन तयार छु देशको लागि
दुश्मनको अखडामा मलाई पठाउ फरक पर्दैन

एउटा गुडिया भने लग्नु पर्छ बजार गएपछि
छोरीलाई नलग्दे पनि चाउचाउ फरक पर्दैन

गजल – २

सुतेको बाघ हुँ मलाई नचला राम्रो हुदैन
म ब्युझिएपछिको शृङ्खला राम्रो हुदैन

जति नै मिहिनेत गरेर अरुले बनाए पनि
कुमालले बनाए जस्तो गमला राम्रो हुदैन

अरूलाई रुवाएर आफू हाँसीहाँसी जान्छन्
यहाँ धोखेबाजहरूको चर्तीकला राम्रो हुदैन

माया गर्नुभन्दा पहिला पटक पटक सोच्नु
किन कि हतारमा गरेको फैसला राम्रो हुदैन

दुश्मनी लिनु अगाडि यत्ती कुरा सोच्नुपर्छ
सिसाको घरमा पत्थरको बदला राम्रो हुदैन

 

 

प्रतिक्रिया

सम्बन्धित खवर