✍️ भीष्म उप्रेती

बाटो

चौबाटोमा आइपुगेपछि
बाटाहरू अलमलिए
अब कता जाने ?

हजारौँ मान्छेहरूलाई गन्तव्यसम्म पु¥याउने
बाटाहरू त अलमलिन्छन् कहिलेकाहीँ
चौबाटोमा पुगेपछि !

मस्तिस्कमा सधैँभरि
अनेकौँ तनाब भरेर कुदिहिँड्ने
अनेकौँ इच्छाबाट लखेटिइरहने
मान्छे
चौबाटोमा अलमलियो भने
आश्चर्य किन मान्ने ?

पहाडको गोरेटो बाटो

ऊ एकदम दुब्लो र पातलो छ
कहिलेकाहीँ त हिँड्दाहिँड्दै भीरबाट खस्छ तल, धेरै तल…

तर त्यसो भन्दैमा उसलाई नहेप

ऊ पहाडको सानो गोरेटो बाटो
उसैले जोड्छ यो पहाडलाई
त्यो परको पहाडसम्म
र, त्योभन्दा पनि परको अर्को पहाडसँग

उसैले लैजान्छ मानिसलाई खेतमा, बजारमा
पँधेरामा र स्कुलमा
मानिसलाई स्वास्थ्यकेन्द्रमा पनि उसैले लैजान्छ
पहाडमा इन्टरनेट त छैन
तिमीले लेखेको प्रेमपत्र बोकेर
उही जान्छ तिम्री प्रेमिकालाई भेट्न अर्को पहाडमा

ऊ तिमीजसरी थाक्दैन
ऊ भावावेशमा हराउँदैन
ऊ मानिसले जसरी तिमीलाई घृणा गर्दैन
तिमीलाई भूmठो आश्वासन दिँदैन र प्रशंसा पनि गर्दैन

ऊ तिम्रो साथी हो
बरू उसलाई स्नेह गर
तर नहेप ।

प्रतिक्रिया

सम्बन्धित खवर