
✍️ सञ्जीव राई
कस्तरी हल्लियो हृदयको हाँगा
तिम्रो स्वासको वेगले
कि यस्तरी कहिल्यै बहेको थिएन बतास
ढुकढुकीको लयमा
कि झुमिरहेँ म तिम्रो स्पर्शको मादकताले
कसोरी पुगेँ एक्कासी म ओ कृष्ण
द्वापर युगको मधुवनमा
र नाच्न थालेँ बाँसुरी बजाइरहेका तिम्रै वरिपरि
ओँठले डाम्यौ कि आगोले
किन यसरी भत्भति पोलिरहेछ मेरो गर्धन अझै
र सल्किरहेछ आगो पुरै देह नगरीमा
यस्तो लाग्छ
यो धर्ती, यी सात समुद्र, यो आकाश
सबै सबै जल्नेछ मसँगै अब
झन् झन् गहिरिदै जाँदो छ प्यासको यो कुवा
झन् झन् कस्सिँदो छ यो मोहको बन्धन
यस्तरी हिर्काउँदा पनि किन दुख्दैन
तिम्रो स्पर्शको सिर्कुनाले ?
किन डुबेर मर्न मन लाग्छ
यो आनन्दको तलाउमा ?
ओ प्रियतम !
खोलिदेऊ ताला तिम्रो आवेगको
र मुक्त गरिदेऊ
मेरो यो बन्दी सरमलाई !
***
प्रतिक्रिया
-
४