✍️ अम्बिका कार्की
गजल – १
म यतिबेला सम्झिरहन्छु ती अफगानीहरू
माओवादी युद्ध जस्तै थिए होलान् बिहानीहरू
ज्यान बचाउनेको हुल देखेँ एयरपोर्टमा
मैले त्यहाँ कतै पनि देखिन साना नानीहरू
हाम्रो देशमा कैयौं छन् बाको ठेगान नभएका
त्यहाँ पनि पोखिए होलान् त्यसरी जवानीहरू
जसले केही गुमाएका छैनन् तिनलाई के थाहा
गुमाउनेलाई पो थाहा हुन्छ दुखका खानीहरू
तपाईंले के-के देख्नुभयो ? मैले यस्तो देखेँ ,
जोखिममा पनि किताब चेप्दैछन् भवानीहरू
गजल – २
प्रतियोगिता थियो दौडिएको कारण
प्रथम भइन खुट्टा भाँचिएको कारण
केही बन्न सकिन म हेलाँ भएपछि
ढुंगा भगवान बन्यो पुजिएको कारण
जंगलमा त्यही रुख किन काटियोरु
रुख बाङ्गो नभएर सोझिएको कारण
यसरी अस्तित्व गुम्छ निर्भर नहोऊ
बगर खै रु सागरमा मिसिएको कारण
रित्तो हुनु ,भरिनु पनि हो भनेको सुन्थेँ
मेरा सबै टाढिए म रित्तिएको कारण
****
प्रतिक्रिया
-
४