✍️ विक्रमपवन परियार
भन्यो –
मारिनु अगाडि यौटा कविले
सिधा रूखहरू पहिला काटिन्छन्
नभन्दै काटियो हिँड्दा हिँड्दैको खुट्टा ।
कवितामा लेख्नु थियो
एउटा विराट प्राणीको जीवन शैली
अर्को भुइँ मान्छेको भोकाएको अनुहार ।
सरकार कविसँग डराउँछ
कवितासँग डराउँछ ।
कविताको,
क- लेख्न नपाउँदै हात काटियो
वि – भन्न नपाउँदै हत्कडी लगाइदियो
ता – उच्चारण गर्न नपाउँदै जिब्रो थुतियो
र ‘कविता’भन्न नपाउँदै तरबार देखायो
तर डराएन विल्कुल डराएन यौटा कवि ।
कवितामा –
जनताको आवाज लेख्यो शिर काटिदियो
कवि सहिद भएको बर्षौँ पछि
कविता –
कालो पहिरनमा अभिएकी छन् सहिद गेट अगाडि ।
नसोध्नुस् कविता को हुन् ?
उनी यो देशको प्रतिनिधि पात्र हुन्
जसलाई देखेपछि सरकार डराउँछ
र एक हुल प्रहरी पठाउँछ ।
चिन्ता नगर्नुस
उनी कविता हुन् फर्किन्छिन्
यो बिसौँ पटक हो उनी थुनिएको ।
****
रामेछाप
प्रतिक्रिया
-
४