– खगेन्द्र बस्याल
“शारदा त गर्भवती रहिछे नि कमला!”
” यो के सुनाइस् विमला।पति भगवानको प्यारो भई स्वर्गीय भएको दुई वर्ष पूरा भएको छैन ।के उसले गर्भपतन गर्ने तर्खर गरेकी छैन त!”
“परिवारका सवै सदस्य यो थाहा पाएर खुसी छन् ।राम्ररी हेरचाह पुर्याएकै छन् ।उनीहरू गर्भपतन गराउने कल्पना नै गर्न चाहन्नन्।”
“छिमेकीले के भनेका होलान् ?”
“अहिलेसम्म त केही थाहा पाएका छैनन् ।तर जन्मेपछि प्रसन्नता पक्कै लुकाउन सक्ने छैनन्।”
“कसरी गर्भवतीको स्याहार पुर्याएका छन् त घरकाले?”
“शारदा बसेको कोठामा अरुलाई पस्न नदिएर,घरमा कसैले चर्को आवाज ननिकालेर,सरोकारवालाहरुलाई कसरी हुर्कदैछ देखाइ आवश्यक सल्लाह लिएर र संवेदनशील बेला भएकोले घर छोडेर टाढा जान नदिएर।”
“तेरो बिचारमा यसरी माया गर्नुको कारण के होला ?”
“पेटमा रहेको बच्चाको के दोष, ऊ जन्मन पाउनु नै पर्छ भन्ने मान्यताले त होला नि।”
“किन यतिपर पुगेर सोचेकी।यो मेरो बिचारमा कुनै ठूलो कुरा होइन ।”
“तर मलाई शारदालाई भेट्न पनि डर लाग्यो ।उसको अगाडि के भन्ने के भन्ने ।”
“सन्तान जन्मेपछि फेसबुकमा राखिहाल्छन्।बधाई भन्न कुञ्जुस्याई नगर्नु नि।”
“नाई मैले त केही पनि लेख्दिन।”
“कृति पनि सन्तान जत्तिकै हो , अहिले शारदाले कुनै उपन्यास लेखिरहेकीले गर्भवती मान्न सकिदैन त!”
***
प्रतिक्रिया
-
४
