– कपिल अज्ञात

१,
फुलून् सौन्दर्यका फूल बनोस् समाज नन्दन
रुखो समाजमा लागोस् कविता पनि चन्दन
सम्झी  सरस्वती  पुत्र अभिनन्दन भै  रहोस्
बुझोस्  समाजले  उच्च  रहेछ  कविता धन ।।

२,
कराउँदै  छन्  कौवाहरू आकाशमा  बाज  आओस्
डरत्रासको खुलाव्यापार  हामीहरूकै माझ  आओस्
फैलिंदै  जाओस्  मुलुकभरि  नै  वेगवान  हावाहुरी
अग्रगमनको गति त्यागी प्रतिगमनको राज आओस् ।।

३,
आशारामहरू  समाजका  शैतान  हुन्  भन्ने के थाहा
सन्न्यसीहरू पनि पाखण्ड बेइमान हुन् भन्ने के थाहा
देखे  सुनेकै  भरमा  मात्र  कोही  राम्रो  हुने  रहेनछ
मान्यजनहरू नै मुलुकका   दुश्मन हुन् भन्ने के थाहा ।।

४,
अर्थतन्त्र  पनि  विदेशीकै  खुट्टामा  पुग्यो
उद्योगधन्दा पनि पुरानै पानीघट्टामा पुग्यो
लोकतन्त्र सार्थक मानेर के खुसी मनाओं
देश  नै  परनिर्भरताको पराकाष्ठामा पुग्यो ।।

५,
प्यास लाग्यो भन्दैमा सबै ठाउँ पानी पाउन सकिन्न
लौ यज्ञ गर्ने भन्दैमा जहाँ कहीँ दानी पाउन सकिन्न
विधि अनुसार व्यवस्था हुन्छ भन्ने  छ के निश्चितता
देश भए पनि सही  सुन्दर राजधानी पाउन सकिन्न ।।

***

प्रतिक्रिया

सम्बन्धित खवर