– कमल संघर्ष

गजल १,
के – के भेटिए होलान् खजानाबाट ?
नयाँ स्वरूप निस्किएछन् पुरानाबाट

अरूलाई मृत्युबाट धेरै पल्ट बचायो
आफू  बच्न सकेन  ऊ जमानाबाट

प्रहार गर्नु अगाडि खुकुरीलाई देऊ
मुस्कानहरु  उठाएर  अचानाबाट

कसैले  पठाइरहन्छ बाँच्ने  साहस
जिन्दगीलाई मृत्युको  ठेगानाबाट

जहाज भन्ने किताब किनिदिए बाले
छोरो डुङ्गा बनाउँछ त्यसकै पानाबाट
गजल २,
एकनास जिन्दगीको शृङ्खला नरहला
आफन्तले लिने बाँकी बदला नरहला

आऊ मृत्यु  एउटा सेल्फी खिचौँ हामी
भोलि भेट्दा जिन्दगी रहला नरहला

छुट्याउन खोजियो एउटा अमृत प्यार
कि फूल चुडिएला कि गमला नरहला

यसरी  प्रयोग गर्दैछ  समयले दुनियाँ
मान्छेसँग मान्छे बाँच्ने कला नरहला

सडकले  हातखुट्टा  फैल्याइरह्यो भने
एकदिन तिम्रो घमण्डको तला नरहला

***

प्रतिक्रिया

सम्बन्धित खवर