गीत, कवितामा आफ्नो आवाज लेख्ने झापाकी बनलिका बान्तवा लामो समयदेखि हङकङ बस्दै आएकी छिन् । पारिवारिक बिछोड, सामाजिक यथार्थ र आफ्नो चेतनाको स्वर आफ्ना रचनाहरूका उराल्ने यिनको भर्खर प्याउली उपन्यास प्रकाशित भएको छ । यही उपन्यासको सेरोफेरोका रही सम्पादक जीवन खत्रीले उपन्यासकार बालिका बान्तवालाई गरेका पाँच प्रश्र र उनको जवाफ;

१, प्याउली उपन्यासको बारेमा छोटो परिचय गराईदिनु न ।

–  प्याउली, मेरो जीवनको चित्र हो भन्दा पनि हुन्छ । यसो भन्दैमा मेरै मात्र कथा हो भन्नू न्याय सङ्गत हुँदैन फेरि पनि । हाम्रै समाजको एक प्रतिनिधिमुलक कथा, पात्र र चरीत्रहरु छन् प्याउली उपन्यासमा । समग्रमा भन्दा, प्याउली हाम्रै समाजमा एक नारीले भोगेका उकालिओरालीहरुको कथा हो ।

२, प्याउली एक प्रकारको फूल वा पातली स्त्रीलाई भनिने भाषाशास्त्रीहरू बताउँछन् । उपन्यासले प्याउली शब्दलाई ईङ्गित गर्न खोजेको कुरा के हो?

– प्याउली फूल पनि होला । पातली स्त्री पनि होला । तर मैले लेखेको, बुझेको प्याउली चाहिँ परिवार अथवा आमाबाबाले अत्यन्तै लाडप्यार दिएर पुल्पुलिएकी एक छोरीको कथा हो ।

३, लामो समयदेखि हङकङ बस्दै आउनुभएको छ । हङकङमा बसेर नेपाली साहित्य लेख्नुपर्छ भन्ने सोच कसरी आयो?

– हङकङ बसेर मात्रै साहित्य लेख्नुपर्छ भन्ने सोच आएको होइन । म सानैदेखि लेख्न रहर, रुचि राख्थेँ । स्कुल पढ्दै भनौं । बिबिध कारणले बीचमा लेखन रोकियो । परिस्थितिले मलाई परदेशी बनायो । परदेश आएपछि पनि म चुपचाप रहे केही समय । तर मेरो चुपचापले आफैलाई पिरोल्न थाल्यो । त्यसपछि फेरि लेखनमा फर्किए म । लेख्न सुरु गरेपछि हङकङ साहित्य शृङ्खला सङ्ग जोडिए । साथीहरूले हौसला दिनुभयो । यसरी फेरि लेखनमा सक्रिय भए म ।

४, हङकङमा नेपाली साहित्यको अवस्था कस्तो छ ?

– हङकङमा नेपाली साहित्यको स्थिति निक्कै लोभलाग्दो छ । हङकङमा रहेर पनि नेपाली साहित्य बिकासका लागि काम गरिरहनुभएका स्रस्टाहरुको सङ्ख्या उल्लेख्य रहेको छ । यहाँबाट कविता, कथा, गीत उपन्यास, दर्शन लगायत अनेकौं बिधामा पुस्तकहरू प्रकाशित भएका छन् । त्यसकारण पनि हङकङको नेपाली साहित्य समृद्ध छ भन्न मलाई अप्ठ्यारो लाग्दैन ।

५, प्याउली उपन्यास पढ्न छुट्यो भने पाठकले के छुटाउलान् ? वा किन पढ्नु पर्छ प्याउली?

प्याउली उपन्यास पढ्नैपर्छ भन्ने अनिवार्य त छैन । पढ्न छुटेपनि खासै फरक पर्ला भन्ने पनि लाग्दैन मलाई । बरु मजस्तो नयाँ लेखकलाई, पुस्तक पढेर प्रेम दिनुभयो भने मेरो आगामी लेखन यात्रा सहज होला भन्ने ठान्दछु ।

***

प्रतिक्रिया

सम्बन्धित खवर