
– निलाञ्जला भारद्वाज
१,
मुस्किलमा साथ दिन्छ जस्ले, नबनेर कतै ऊ बाधक पनि
मञ्जुरले होइन्छ शासित, स्वीकार गरेर उही शासक पनि
नखोतल्नू गल्ती, हौसलाको लगानीमा अंसियार नहुनेले
यहाँ, प्रेम गर्नेलाई पो दिइन्छ भरपुर घृणा गर्ने हक पनि
२,
नगर्दा नि छलछामहरू, भलै लागुन् तिरस्कारका लामहरू
लगाउनु तिमी आक्रोशमाथि, सहनशीलताका लगामहरू
आफैँ सकिनुपर्छ ददार्न आउने, ती दर्शनढुङ्गा र खरीले
धैर्य गर ए पूज्य शिलाहरू ! विचलित नहौ शालिग्रामहरू
३,
निष्पाप हृदय हुन्छ जोसँग, हुन्छ दोषरहित भावना पनि
उसैसँग निकट बन्छ सम्बन्ध र भेटिन्छ आफ्नोपना पनि
पराईले मात्र हो हेर, आँखा चिम्लिएर प्रशंसा मात्र गर्ने त
आफ्नाले त गर्छन्, प्रशंसा पनि र कतै आलोचना पनि
४,
माग्यो कहानीले अन्त्य, कठोर फैसलामा उभिन पनि
खोज्नु छ अब नयाँ बाटो, पुरानो बाटो बद्लिन पनि
जतिसक्दो अब तिरस्कार देऊ, प्रेम होईन घृणा नै देऊ
तिम्रै मदत चाहिएको छ फेरि, तिमीलाइ बिर्सिन पनि
५,
सङ्घर्षले उक्लिएको भीर, सम्झनामा पाखो राख्ने गर्नू
एउटा पाइलोमा कान, अर्को पाइलोमा आँखो राख्ने गर्नू
बा भन्नुहुन्छ हिजोआज, अलिकति म मुस्काएको देखेर
“शत्रु बढे छोरी ख्याल गर्नू, आफूलाई चनाखो राख्ने गर्नू”
***
प्रतिक्रिया
-
४