– भगवती बस्नेत

तिमी आफ्नै दुनियाँमा मस्त थियौ
म पनि म आफ्नै धुनमा व्यस्त थिएँ,
त्यो कलिलो वय
तिम्रो त्यो स्नेही हेराइले
मोहित बनाउँदा
कति बेला म तिम्रो भएँ
मलाई पत्तै भएन ।
समयको मधुर संयोगले
समयवायी बनाएर
तिमी र म त हामी भइसकेका थियौँ ।

आँखामा प्रेमको मधुरता
बोलीमा सुललित सुरम्यता
हृदयका पानामा उदारता
अनुहारमा स्नेहकुलता
गतिशील जीवनको विशालता
जिन्दगीका व्यापकतादेखि
म आल्हादित भएछु ।

प्रेमले सिन्चित मेरो प्रेमालय
तिम्रो सुकोमल मनले चुमेको निधार
सँगै डिंडेका भञ्ज्याङ चौतारी र देउराली
तिम्रा स्पर्शको गुप्तस्नेहले
मेरो मुटुभरि सुगन्ध छरिरहन्छ ।

तिम्रो यादमा म झरना झैं पवित्र बगिरहन्छु
तिम्रो मायाको दीप्तिले म अहोरात्र उजेलिन्छु
तिम्रो छायाँको
आलोक बनेर म हरदम मुस्कुराइरहन्छु ।
हामी मायाको सुगन्धित उडानमा छौँ

शरीरसॅंग शरीर जोड्नेहरू
क्षणिक साथ रहलान्
मनसॅंग मन जोड्नेहरू
मनको मन्दिरमा आजन्म रहन्छन्
जसरी तिम्रो र मेरो जीवन ढल्कँदैछ ।
मलाई तिम्रो किन हुन पर्यो
मलाई मेरै त हुनु छैन
मलाई उसैको हुनु छ
जस्को भएपछि म
अरू कसैको हुनु नपरोस् ।

***

प्रेमको बारेमा कवि भगवती बस्नेत भन्नुहुन्छ, – “प्रेम अतुलनीय र निष्कलङ्क हुन्छ । त्यसैले  प्रेम चोखो अनि पवित्र छ । प्रेम आफैॅंमा रहस्यमय भावना हो । यो अनुभूत गर्ने कुरा हो । बताउन सकिदैन । प्रेम भावनात्मक एवम् आत्मिय सम्बन्धको परिधि हो । प्रेमकै कारण सूर्य उदाईरहेछ ;  फूल मुस्काईरहेछ । चराहरू स्वतन्त्र आकाशमा उडिरहेछन् । प्रेम अकारण भइदिन्छ । प्रेम निसर्त गरिन्छ जो स्वतन्त्र र जीवन्त हुन्छ त्यसैले जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि यसले जिउन सिकाएको हुन्छ । प्रेम  जीवात्माप्रतिको दया, करुणा र स्नेह सबैको प्रतिनिधित्व गर्ने जैविक गुण पनि  हो । हामीले जति प्रेम बाढ्छौ उति नै प्रेम प्राप्त गर्दछौं ।”

प्रतिक्रिया

सम्बन्धित खवर