– शंकर नेपाल घैँटे

गजल १
आमा के साँच्चै रोएको दिन मन फुर्तिलो हुन्छ?
हुन्छ मैलो लुगा पनि धोएको दिन सुकिलो हुन्छ

यसकारण मागेको  पैसा समयमै  फिर्ता  गर्नुस
कुनैदिन  फेरि अप्ठ्यारोमा माग्न  सजिलो  हुन्छ

म पनि तिमीमा हराएपछि तिमी जस्तै भएको थें
पानी न हुँ आखिर निलो भाँडामा राखे निलो हुन्छ

राख्नेले जहॅासुकै राखोस तिम्रो नाम चिन्ता नगर
अन्तिममै राखेपनि मेरो रोजाइमा  पहिलो  हुन्छ

ठूलो हुँदैमा बा भन्दा ठूलो भइन्न  हेक्का  राख्नु
हॅागा जति ठुलो होस् न रुखभन्दा कलिलो  हुन्छ

तिम्रै  खुसीको लागि एक कायरले मृत्यु रोजेछ
सोचेको थिइन प्रेममा मान्छे यत्ति साहसिलो हुन्छ

घामको किरण नआउॅदै तिम्रो सपनाले ब्युझिन्छु
के तिम्रो याद अघि हर चिजको गति ढिलो हुन्छ

गजल २,
किन बेकामका यादहरु समेटेर जीवनभर राखिन्छ
जस्तो च्यातिएपछि पनि सम्हालेर स्वेटर राखिन्छ

धेरै जान्ने हुनुपनि दुःख पाउनुको एक कारण रहेछ
जस्ले छिटो सिक्छ सरकस्मा त्यहि बाँदर राखिन्छ

आफ्नै खुसीले जिउन नपाउनु खुसीले मर्न नपाउनु
जिन्दगी के हो भन्ने प्रश्न आए यही उत्तर राखिन्छ

तिम्रो सहरमा हो एउटै घरको मान्छे मर्दा था नहुने
गाउॅमा गाउॅ छाड्नेकै पनि पछिसम्म खबर राखिन्छ

सरकार आफैंले आफैंलाई अपराधी को स्वीकार्छ
तस्कर समाउने ठाउँमा लगेर किन तस्कर राखिन्छ

के लाग्यो तिमीलाई के तिम्रो ठाउँमा कोही राखिन्न
भाँडो नहॅुदा औषधिको बट्टामा पनि जहर राखिन्छ

***

 

प्रतिक्रिया

सम्बन्धित खवर