– बिनिता दाहाल
उही अँध्यारो कोठा, उही अव्यवस्थित जीवनशैली तर मनमा अनेक तर्कना । मान्छेको जिन्दगी पनि सगरबाट सागरमा पुग्न कतिबेर नलाग्दो रै’छ ।
ऊ सानी नाम थर त गाउँसँगै छोडेर शहर पसेकी थिई ।
रामेश्वर खत्री पुलिस अफिसर । गाउँमा जागीर । हेर्दै राम्रो । उमेर अलि पाकै भएपनि जवानै छु लाग्थ्यो उसलाई । गाउँ पस्दै सानीलाई माया जालले छपक्कै छोप्यो । भन्न त भन्थ्यो “छे, एउटी रोगकी थुप्रो । हेर्दा पनि घिन लाग्छ । अब त तिमी नै प्यारी, तिमी नै संसार, तिमी नै जिन्दगी अरु त सप्पै बिर्सिएँ तिमीलाई पाएपछि ।” सानी फुरुक्कै परि उसको मायामा ।
एकदिन खुसुक्कै भगायो सानीलाई एकदुई वटा रातदिन संगै बितायो अनि फरार ।
अपरिचित शहरमा आफैँसँग अपरिचित बनी सानी । संसार भनेको मान्छे झरीपछिको बादल जस्तो बेपत्ता बन्यो । जीवन त चलाउनै थियो । फर्केर गाउँ जाओस् आफैंले कुल्चेर हिँडेको स्थान । फर्किन उसको अहमले दिएन ।
अनि साथी बनाइ यहि अध्यारो संसारको रङ्गिन दुनियाँलाई ।
त्यो रात पनि उस्तै थियो उसको नयाँ पुराना रङ्गिन ग्राहक उसको शरीरको दाम मिलाईरहेका थिए । पुलिसले छापा मार्यो । पक्राउ परी ऊ । हत्कडी समाएर उभिएको बर्दीधारी अफिसरको आँखामा हेर्न सकेकी थिइन उसले शिर निहुरिएको थियोे । सकेसम्म अनुहार छोपेकी थिई । ता कि कसैले नचिनोस उसलाई ।
“समा रण्डीलाई । मार्नु पर्छ समाजका यस्ता फोहोरहरुलाई” आवाज परिचीत झैं लाग्यो कुन्नी कुन गुरुत्व बलले खिच्यो उसलाई नचाहँदा नचाहँदै उठ्यो उसको शिर । आँखा चार भए हत्कडी समाएर उभिएको थियो उसको संसार भनिएको उही पुलिस अफिसर । जुन हराएको थियो शहरमा सानीलाई बिच्लली बनाएर र सानी बाध्य भएकी यस्तो व्यावसायमा लाग्न ।
अघि देखि डरले कापेका उसका ओठ एकैपटक खुले र उसको आँखामा हेरेर भनी, “मलाई रण्डी बनाउने पहिलो रण्डो तँ थिइस् ।”
***
प्रतिक्रिया
-
४