– लक्ष्मण संगम
(१)
जीवनमा एउटा यस्तो चमत्कार गर्ने मन छ
आगो बोकेर मटितेलको नदी पार गर्ने मन छ
रगत पिउनेहरूको बस्तीबाट बचेर आएको छु
फेरि तिमी भन्छौ रगतले शृङ्गार गर्ने मन छ
जहाँ सजिलै हुने गर्छ मान्छेहरूको व्यापार
मलाई ती बजारहरूको व्यापार गर्न मन छ
सबथोक लेखिएको तिम्रो नाम नलेखिएको
मेरो निधार त त्यसलाई केरकार गर्ने मन छ
दुबै हात काटेर कसैलाई नसोध्नु अन्तिम इच्छा
उसले भनिदिन सक्छ सबैलाई नमस्कार गर्ने मन छ
(२)
बगिरहने हो भने अहिले जसरी
आँसुले बगाउँछ बाढीले जसरी
राख भन्छौ आफ्नाको सूचीमा
मद्धत गर्छौ छिमेकीले जसरी
आँखा र चस्मा परिपूरक हुन्
तर बसिरहेछन् नमिले जसरी
प्रेमपत्र बोकेर खुब हिँडिन्थ्यो
एक समय हुलाकीले जसरी
जिन्दगीले पनि धोका दिएन
धोका दिएथ्यौ तिमीले जसरी
***
प्रतिक्रिया
-
४