– विकास शैलपुत्र

१. महायज्ञ

हुनसक्छ ,
यसपालि पनि
कसैलाई निक्कै फूर्सद छ
कसैलाई अचानक भगवानको खूब याद आएको छ
कसैलाई निक्कै निरस लागेको छ गाउँ ।

हुनसक्छ ,
यसपालि पनि
कोही ठूलै आर्थिक विषादमा छ
कोहीलाई बन्नु छ समाज सेवक
अथवा हुनु छ नामी धर्म भीरु ।

हुनसक्छ,
यस्तै यस्तै कारणले
यसपालि पनि गाउँमा
लाग्ने भयो श्रीमद्भागवत् सप्ताह
हुने भयो धन्याञ्चल महायज्ञ ।

२. ह्याक

सोचेजस्तो चलिरहेको छैन
भनेजस्तो काम गरिरहेको छैन
जे खोज्छु वा खोज्न खोज्छु
परिणाम विपरित पाइरहेको छु ।

जति खोज्छु ‘ रिफ्रेस ‘ गर्न
उति नै भइरहन्छ ‘ ह्याङ ‘ ।

लाग्छ यो जिन्दगी अचेल
कसैले ‘ ह्याक ‘ गरेको छ ।

३. दण्ड

सहानुभूति पाउन
समर्थकहरुको टाउकाको गिन्ती बढाउन
अथवा दूधको साक्षी बिरालो झैं बन्न
ऊ बगाइ रहेछ, राष्ट्रवादको भावुकता
मानौं उदाइरहेछ यो देशमा
एउटा नयाँ नायक ।

भन्दैछ लोकका सामु ,
म दोषी हुँ भने
झुण्ड्याइयोस् मलाई टुँडिखेलमा
मुडेर चारपाटा
कटाइयोस् नौ डाँडा
जफत गरियोस् मेरो सर्वस्व
र गरियोस् देश निकाला ।

मान्छेहरू उसलाई मसिहा मानिरहेका छन्
र प्रशंशा गरिरहेछन् उसको हिम्मतको ।
मान्छेहरू बुझिरहेका छैनन् ,
वा बुझ्न चाहिरहेका छैनन्
यस्ता दण्ड भएका कानून
कतै छैनन्  यो देशमा ।

४. अधिकार

भीडलाई सम्बोधन गर्दै
भीड जम्मा गर्नुको तात्पर्य पूरा गर्न
प्रमुख वक्ताले ओकल्यो उही पुरानो रटान
‘हाम्रो अधिकार खोसियो भने हामी चुप लाग्दैनौं । ‘

भीडले हो मा हो मिलायो र दोहोर्यायो
‘हो , हाम्रो अधिकार खोसियो भने हामी चुप लाग्दैनौं ।’

भीडले कहिले बुझ्ला खै ,
कहिले सोच्ला ठण्डा दिमागले
पाउँदै नपाएको अधिकार
कसरी खोसिन्छ आखिर ?

***

प्रतिक्रिया

सम्बन्धित खवर