– विक्रमपवन परियार

बिस्तारै हिँड्नुस्
तपाईंको अगाडि अजङ्गकाे घुम्तीहरू आउन सक्छ
तपाईं हिँड्दा हिँड्दै
तपाईँकाे पैतालाले टेक्दै गरेकाे साँघुरो बाटाे भासिन सक्छ
बिस्तारै हिँड्नुस्
तपाईंकाे शिरमाथि बज्रिनँ सक्छ लाच्छिएकाे हाँगा
जङ्गल हिँड्दै हुनुहुन्छ भने अलिक हाेस् पुर्याउनुस्
नत्र बाँदरहरूकाे बथानले खसालिदिन सक्छ देउरालीकाे ढुङ्गा

तपाईं नदीमा पाैडिन सक्नु हुन्न भने हाम नफाल्नुस् पूलबाट
तपाईं यदि कालिदास बन्न खाेज्नु हुन्छ भने तपाईं स्वयम् खस्नुहुन्छ रूखकाे हाँगाबाट
जसरी बतासकाे झाेक्काले खसाली दिन्छ सुन्तलाकाे फूल

तपाईं सावधान हुनुहाेस्
बाटाेमा भेटिनेहरू सबै मान्छे हुँदैनन्
ढुङ्गाहरू ढाेक्दै नहिँड्नुस् ढुङ्गाहरू सबै देवता हुँदैनन्

खतरनाक हुन्छन् –
जस्तै –
काेखामा दाँत भएकाहरू
मुखमा राम राम बगली छुरा बाेकेर हिँड्नेहरू

खतरनाक हुन्छन्
जस्तै-
गाउँ छाेडेर सिंहदरबार पसेका झुसिल्किराहरू

सावधान हुनुहाेस्
तपाईंले नपत्याएकै मान्छे हत्यारा हुन सक्छ

नपत्याए हेर्नुस् त !
तपाईंले भाेट दिएर जिताएकाे नेताले
भर्खरै याैटी बालिकालाई बलात्कार गर्याे

यसकारण पनि –
आफैँसित गर्नुस् भराेसा
आफैँसित गर्नुस् विश्वास

सावधान् हुनुस्
बढाे खतरनाक हुन्छन्
देश चपाएर पाेटीला भएका अनुहारहरू

***

प्रतिक्रिया

सम्बन्धित खवर