
– रामगोपाल आशुतोष
१,
जाडोलाई पनि जाडो लागिरहेको होला
आगोसित घाम आगो तापिरहेको होला
यस्तो वेला पृथ्वी पनि जवानीमा डुब्दै
यौवनको तातो न्यानो साटिरहेको होला
२,
अङ्गालोको न्यानो पनि झरिजान्छ
दुईपलको तातो पनि मरिजान्छ
नत्र मायाले पोल्यो भनी किन रुन्थे
धेर न्यानोले माया कोठा सरिजान्छ
३,
मुटु चोर्नेलाई ढुकढुकी उपहार
छाती फोर्नेलाई जिन्दगी उपहार
माया भनेकै त्याग हो बलिदानी हो
निंद विथोल्नेलाई जिन्दगी उपहार
४,
तन जल्यो मन जल्यो, जल्यो जल्यो मुटु पनि
जल्न बाँकी मुटु थियो, जल्यो जल्यो दनदनी
आँसु बल्यो, आँखा खस्यो, विश्वासको घर ढल्यो
भावनामा बाढी पस्यो, आँधी, हुरी भेल बनी
५,
शेर होस् शायरी होस् साथमा डायरी होस्
गीत होस् गजल होस् हातमा डायरी होस्
भर्नुपर्छ पाना पाना, पहिलो पहिलो मात
पलपलको मात लेख्न रातमा डायरी होस्
***
प्रतिक्रिया
-
४