– नानुमैया दाहाल
१.
घाम जून छेक्ने अग्ला डाँडा खन्न पाऊँ
बैरी छेक्ने स्वाभिमानी छाती बन्न पाऊँ
जिन्दगीको राजीनामा पत्र लेख्नु अघि
नेपालको माटो छोइ आमा भन्न पाऊँ ।
२.
आऊ ए प्यारो मान्छे! साहस बोकेर आऊ
तोडेर अध्याँरोको राज ज्योति बनेर छाऊ
भत्काइ ढिस्का ढिस्की बनाएर जमीनसम्म
युगलाई निशानी हुने कर्म रोपेर जाऊ ।
३.
यो पवित्र मन्दिरमा छद्मी जोगी आए
डमरू बजाए तिनले कहरका गीत गाए
टुक्रा टुक्रा पारे आमा भक्तजनकै अघि
रगत बेचे, मासु भुटे अनि रमाउदै खाए ।
४.
मौसम बदलिदा लुगा होइन रङ्ग फेर्छ काठमाडौँ
वीरताका गाथा पनि काला अक्षरले केर्छ काठमाडौँ
जीवनहरू थलिए या थिचिए भने अभावका चाङले
सिंहदरवारको छतबाट मस्त रमिता हेर्छ काठमाडौँ ।
५.
हाँगा नुहुदा पनि वृक्षमा मीठो फल फलिरहन्छ
बस्ती न्यानो राख्न पहाडले सिरेटो छलिरहन्छ
उज्यालो छर्न अरूकै निम्ति मैनबत्ती पनि सधैँ
आफू जलेर नसिद्धिएसम्म ननिभी बलिरहन्छ ।
प्रतिक्रिया
-
४