– चेतनाथ दाहाल

(१)
सहकार्यको महत्त्व बुझ्न मौरीको घार हेर्नु
बिचलित नहुनु बरु दुनियाँ  हेर्नु संसार हेर्नु
बेलाबेलामा झगडा गरीरहने दम्पतीहरुले
एकपटक आफ्ना छोराछोरीको मुहार हेर्नु

(२)
अहिलेसम्म जति आए अभियन्ता,टिक्न सकेनन्
उध्येश्य नै छरपस्ट हुदा समाजमा बिक्न सकेनन्
कोही आफैं हराए त कोही सरकारी पासोमा परे
खासमा यिनले काम गर्ने तरिका सिक्न सकेनन्

(३)
शालीन,शिष्ट र आम मान्छेले मान्ने खालको चाहिन्छ
तर्क शक्ति द्वारा बेथिति माथि हान्ने खालको चाहिन्छ
जनता जगाउन अघि बढेका सामाजिक अभियन्ताहरु
प्रचलित ऐन कानुनहरु पनि जान्ने खालको चाहिन्छ

(४)
रुप फेरि फेरि संजालमा आउन मन लाग्ने
सबैको नजरमा एकछत्र छाउन मन लाग्ने
कस्तो नशा लाग्यो यार यहाँ कसै कसैलाई
आफ्नो गुणगान आफैंले गाउन मन लाग्ने

(५)
सबैको ध्यान आफुमाथि मात्र परोस जस्तो ठान्छन्
जो कसैले आफ्नैमात्र प्रशंसा गरोस जस्तो ठान्छन्
कति ज्याद्रो  कसैको त आत्म प्रशंसाको भोक पनि
आफूमाथि त पुष्पबृष्टि मात्र झरोस जस्तो ठान्छन्

***

प्रतिक्रिया

सम्बन्धित खवर