
– रुशन सुवेदी
१,
नबनाइदेउ चिसा गाला, बिदा गरिदेउ
लगाइदिएर अबिर,माला, बिदा गरिदेउ
घरि-घरि तिम्रो बनाउ भन्दै आउने छैन
पिलाएर विषको प्याला, बिदा गरिदेउ
२,
निश्चल आँखा निर्दोष चरित्र हेरिरहेँ मैले
दु:ख हाँस्यो बुढो मुहारभित्र हेरिरहेँ मैले
शिरको टोपी झिकेर बाले निधार हम्किए
देखियो पसिनामा मेरो चित्र हेरिरहेँ मैले
३,
विद्वानले कलम भाँचे आश्चर्य नमान्नु
बिरामीले डाक्टर जाँचे आश्चर्य नमान्नु
आमाले सन्तानको गला थिच्ने समय छ
मुर्दा उठेर सडकमा नाचे आश्चर्य नमान्नु
४,
आकाशको मर्म बुझेन धराले यही सम्झिएँ मैले
वर्णमाला बिर्सियो कखराले यही सम्झिएँ मैले
आफैँ बसेको मनमा वचनको काँटी ठोकेर गयौ
आफ्नै गुँड भत्कायो चराले यही सम्झिएँ मैले
५,
हेर्दा मिठाजस्ता देखिने सारा फलहरू मिठा हुँदैनन्
चाहे देउतै होस् उसले गरेका छलहरू मिठा हुँदैनन्
मही देखाएर चौलानी बेच्ने चलन चलेको छ यहाँ
मिठो बोल्नेसँग बितेका सबै पलहरू मिठा हुँदैनन्
***
प्रतिक्रिया
-
४