– बलराम तिमल्सिना

मैले भनें-
यी सब दास बनाउने बन्धनहरू हुन
हतकडी, नेल र नत्थीहरू हुन
तिमीले भन्यौ-
अरे यार,
हतकडी, नेल र नत्थीहरू सुनका कसरी हुन्छन ?
फलामका भए त पत्याउथें
यी त गहना हुन गहना !

मैले भनें-
यी ईश्वर भन्नेहरू
तिम्रो लागि अभिसाप हुन
र धर्म भन्ने कुरा
तिमीलाई कज्याउने शास्त्रहरू हुन
तिमीले आफ्ना कान
र मेरो मुख थुन्दै भन्यौ –
चुप चुप चुप !
हाम्रा भगवान
र धर्मको बिरोध गरेर
नरक जाने बाटो नखन ।

मैले भने-
नरकमा त ऐले छौ तिमी
तिमीलाई धर्मको कराईमा हालेर
संस्कारको तातो तेलमा
ईश्वरको नाममा फ्राई गरिदै छ
तिमी यहाँबाट निस्क
म तिमीलाई मद्दत गर्छु
तिमीले चिच्याउदै भन्यौ –
भो भो भो, मलाई यहीं रहन देऊ
हजारौं वर्षको अभ्यासले
यातना नै आदत भैसक्यो मलाई
अत्याचार खप्नु धर्म
र अपमान सहनु संस्कार भैसक्यो ।

मैले भने-
म तिमीलाई प्रेम गर्छु
तर नरकमा प्रेम गर्न वर्जित छ
तिमी बाहिर आऊ
तिमीले झर्किदै भन्यौ
मलाई प्रेम स्रेम केही थाहा छैन
तिमी मलाई बिथोल्न नआऊ ।

यसरी हाम्रो प्रेम असफल भयो ।
***

प्रतिक्रिया

सम्बन्धित खवर