– बाबुराम श्रेष्ठ यात्री
थाहा छैन उसलाई-
आधुनिक मानिस कस्तो हुन्छ ?
आधुनिक समय कस्तो हुन्छ ?
ऊ त बिहान खस्न नपाउदै
सबेरै अँधेरी लिपिसक्छे
घामले मझेरी र आँगन पोतिसक्छे
अगेँनामा न्यानो ल्याई-
आफ्नै लयमा कोशाैँ टाढा पुगिसकेकी हुन्छे
ओछ्यानमा गुलाफहरू सुतेपछि मात्र
सुम्सुम्याउन पुग्छे
सिङ्गो युगदेखि
एकलब्यजस्तै ऊ अविराम
एक मुट्ठी सामल खोज्दै-खोज्दै आइरहेकी छे
पटक्कै उज्यालो उदाउँदैन उसको आँगनीमा
जून ओर्लँदैन उसको अँधेरीमा
चकटीजस्तो कालो बादल धुम्मिन्छ
टक्टक्याउँछे सकिनसकी
घिस्रिरहन्छ उही दुनियाँ
र निलो आकाशमुनि निस्फिक्री
सुतिरहन्छे दु:खहरू कत्ति नफुकाली
अनि सुकाउँछे जिन्दगी खेतको ह्याङ्गरमा
अस्ताएर घरको क्षितिजमा
ब्युँझदा रोइरहन्छ उसको बिहानी
किनकि-
घडीको सुईजस्तो घुम्दैन
उसको जिन्दगी
हरेक दिन बिर्सने
उसको आदत हो
उसको आदिम कष्टकर अवतरणले
जसरी कर्णालीले कहालीमय
पट्यारलाग्दो बाटो बिर्सन्छ
छाँगाजस्तो सुदूर जिन्दगी बिर्सन्छ
आउदैन उसको मझेरीमा आधुनिकता
किनकि-
सहर चिनेको छैन उसले
मोटर चढेको छैन उसले
असमान वितरणको
राजधानी देखेको छैन उसले
उसित त-
केवल काँडाले घोचेर खिल पल्टिएको पाइताला छ
हँसियाले काटेर डुँडे बनाएको औँला छ
असुग्घर अनुहार छ
र असरल्ल जिन्दगीको बग्रेल्ती अभावहरूभन्दा माथि उठ्न नसकेको आलो अनुभव छ
सजिलो छ उसका सपनाहरू भत्काउन
मनको रहर दुर्घटित गराउन
किनकि उसँग-
औपचारिक विद्यालय विश्व विद्यालय छैन
छन् केवल चित्र उकाली-ओह्रालीका
छन् उदासी एक जोर आँखा
छन् आँसुले बनाएको खोबिल्टा
छन् परदेशबाट नखोलेको ओठ
छन् परदेशबाट नपठाएको सम्झना
छन् सबै हिडेकाे गाउँ
मात्र ऊ छुटेको गाउँ
ए !
उसको मुटुको मैदानमा नखेली जाने बैसालु समय
भनिदेऊ !
निम्छरो जिन्दगी घिसार्ने कतिन्जेल हो ?
सुनाइदेऊ !
सरकार गाउँ छिर्ने कहिले हो ?
उसको निम्छरो जिन्दगीले
भोकमा-
खान पाउने कहिले हो?
रोगमा-
अस्पताल जान पाउने कहिले हाे ?
पिरहरूमा-
खुसीको सास फेर्ने कहिले हो?
मन लाग्दा-
धक मारेर फेसबूक म्यासेन्जरमा
प्यारासँग गफिन पाउने कहिले हो?
तपाईंहरुलाई अचम्म लाग्दो हो
यस्तो पनि हुन सक्छ यो समयमा
यो यथार्थ हो महाशय !
ऊ सग्लो नक्सा कोर्छे देशको
तर दुरी जोडिँदैन उसको
मनहरू जोडिँदैन उसको
हो, अनागरिक बन्छे ऊ
तैपनि तैनाथ सिपाहीझैँ
लाटा पहाडहरू बीचमा
भेरीझैँ छल्किएर
देशको एक कुनामा बेमतलव
सीमा रक्षार्थ पुरानो युग बाचिरहेको
ऊ अर्थात
छम्कली रोकाया ।
***
प्रतिक्रिया
-
४