– धनराज गिरी
स्वदेशमा भएका निष्णात् विद्वान्हरूमाथि त्यति भरोसा गर्न नसकी ” भाषा संरक्षण आन्दोलनले ” एउटा विशेष कार्यक्रम राखी अमेरिका निवासी तीन विद्यावारिधिधारी ” प्रोफेसर डाक्टर सर्वज्ञनारायण मर्मज्ञनाथ अनाथोपाध्याय चमोस्कीलाई” निम्तो पठायो,र आए उनी। कार्यक्रम राखियो सौराहामा,कारण वनविहारको पनि व्यवस्था,होटल वनवास भिलासमा,साथ दियो ” रत्ननगर वाङ्ग्मय प्रतिष्ठानका साथीहरूले। ” विशेष सकृयता थियो काकाभतिजाको,मस्को रिटर्न! आसन ग्रहण र खादा सबै रद्द,प्रमुख अतिथि न सभापति,सोझै विषयप्रवेश।

“हो,यस्तो हुनुपर्छ कार्यक्रम ! तब न प्रोफेसर नास्तिकेश्वर आशुतोष महादेव कुमरोजश्री!” प्रोफेसर रमेश प्रभातोपाध्याय समालोचनाश्री चितवनवी।  ” हो त!” गणेश पौडेल ।  ” अब नेपाली भाषाको एकरूपता,शुद्धता र यसलाई जोगाउने उपायसहित आफ्नो विद्वत मन्तव्य दिनुहुन्छ ….. ” उनै विद्वान् ! परररररर ताली।

” लेडिज एन्ड जेन्टलम्यान, नमस्ठे! म आज अति ह्याप्पी छु।आफ्नो भाषा र कल्चर जोगाउन टपाईहरूको यो प्रयासलाई फ्रम द भेरी विदइन अप्रीसियट गर्छु। वाइ द वे,नेपाली भाषा गज्जबको छ। लचिलो छ। छन्द पोयम अच्छा छ। एक्चुअल्ली,म भारतको इन्डियामा पढेको सख्श, नेपाली पनि सिकियो। यहाँहरू यूनाइटेड भएर लाग्नुभयो,आई एम सो ह्याप्पी! हिज्जेको राम्रो नलेज हुनुपर्छ । आफ्नो भाषा पिओर बोल्ने! मेरो घरमा उटा अमेरिकामा, चिल्ड्रेनहरू बोल्छ। हाम्रो बा बोल्छ। घरको श्वजन पनि बोल्नुहुन्छ,नेपोली! सो इन्टेरेस्टिङ भन्या!  मलाई यस्तो गोल्डेन चान्स दिनुभयो। खुसी लाग्यो। फेरि फेरि पनि इनभाइट गरेमा म सिओर आउनेछु। नेपाल राम्रो छा। ढेरै राम्रो छ। नेपाली भाषा,यो ल्वाङ्गेज अब जोगिन्छ। थ्यान्क्यू!! !!” पररररर ताली!

“अब यति भएपछि नेपाली भाषालाई एक लाख हेमाङ्गजीहरू आए पनि केही गर्न सक्दैनन् !” प्रोफेसर जगमोहन आजादको मितवा डिल्लीराज पोखरे।”

पक्का,पक्का!” ताराफुलपति, रामेन्द्रदेव रेग्मी।” हो,नेपाली जोगियो!” हिज्जे सम्राट् श्रीबकम्फुसदेव बलिया। ” मज्जा आयो यार! ” प्रोफेसर ढुक्कनारायण चौधरी। कार्यक्रम सकियो। चमोस्कीलाई रथारोहण गराइयो,र भव्य नागरिक अभिनन्दन। ” यसरी गरिन्छ भाषाको माया!” एउटा लेख आयो साहित्य पोस्टमा, जापानबाट,हेमन्त गिरीको। ३६०० कमेन्ट पायो। ७४०० लाइक। दाइरल भयो, पीपल बोटे प्रतिनिबन्ध। घनेन्द्र ओझा र धनेन्द्र सोझा गजलतिर लागे,के केमा टाउको दुखाउने। चमोस्की फर्किए।

***

प्रतिक्रिया

सम्बन्धित खवर