– बालकृष्ण गजुरेल

गजल १
नैतिकताले हार मान्यो चम्चाहरुको संसार बन्यो
पकाउने भाँडाहरु थन्किँए  रेष्टुँरामा अचार बन्यो

हौसला, खुशी, उमंग आदी क्रिया गर्दा निस्कन्छन्
तिमी प्रतिक्रिया दिन्छौ नुहाएको नदीमा धार बन्यो

बिद्वान..हो चौटा हुत्याइदेउ  टोक्न खोज्नेहरुलाई
नहुत्याए टोक्न खोज्लान् टोके आकार प्रकार बन्यो

अनेकतामा एकता हुन्छ रे यदी अस्तित्व स्विकारे
नस्विकारे युध्द, झै-झगडा, कलह बारम्बार बन्यो

दर्शनको अर्थ देख्नु हो या सही  निर्णय बनाउनु हो
न देखे, न निर्णय गरे राजनीति बस् कारागार बन्यो

गजल २,
पन्ध्र साल हेर सतचालिस साल हेर या त्रिसठ्ठी साल हेर
एउटै ब्यवस्था छ बिगत हेर हाल हेर या त्रिसठ्ठी साल हेर

भाष्यमा कठै! क्रान्ति आएछ तथा नविन गणतन्त्र आएछ
जनताको घरमा न चामल न दाल हेर या त्रिसठ्ठी साल हेर

ब्यवस्था मोडेल एउटै रह्यो  र शाषण प्रणाली एउटै रह्यो
डाडु,पन्यू चलाउने मात्रै मालामाल हेर या त्रिसठ्ठी साल हेर

करोड खाने राजाले  विदा लिए खरव खाने राजाहरु  आए
बाँकी भान्छा उही भोजन उही कमाल हेर या त्रिसट्ठी साल हेर

जनताको मान्छे जनताको भयो भने मात्र शाषण भिन्न हुनेछ
अरुको मान्छे अरुकै भए समय काल हेर या त्रिसठ्ठी साल हेर
*

प्रतिक्रिया

सम्बन्धित खवर