– प्रा.डा. प्राज्ञ खेमराज खनाल

श्रीमतीले भनी, “आमालाई छुट्याएर , राखिद्यौ नत्र तिमीसँग बस्तिन ।” बुढी आमा सबै सुनिरहेकी थिइन् । भनिन्, “छोरा, कटेरो बारिदे । म त्यैँ बस्छु । बुहारीको चित्त नदुखा । घर नबिगार् ।” छोरो दोधारमा पर्यो । जसोतसो कटेरो बारिदियो । आमा त्यहीँ बस्न थालिन् ।
तिजको बेला, श्रीमान्लाई त्यति सन्चो थिएन । उसले भन्यो, “यसपटक माइत नजाऊ, मलाई हलुका जरो आएको छ । तिमी नि दोजिया छौ ।” श्रीमतीले भनी, “बल्लबल्ल आको तिज; माइत त गइन्छ, गइन्छ ।” ऊ बिहानै झोला बोकेर हिँडी ।
आमाले हेरिन्, घरमा चालचुल छैन । भित्र पसिन् । छोरो सुतिरहेको छ । टाउको छामिन् । बुहारीबारे बुझिन् । सोधिन्, “के खाइस् ?” छोरो, “केइ खाको छुइन ।” आमा, “जाउलो र सोल्लर छ, खान हिँड् ।” छोरो गयो । आमाले फेरि पकाएर खाइन् ।
बुहारी निकै दिन माइत बसी । उतै छोरी जन्मी । भाउजूले झर्कोफर्को गर्न थालिन् । माइतीले ज्वाइँलाई खबर गरे । वास्ता नगरेको कारण बुझे । माफी मागे । छोरी ल्याइदिए । आमालाई घरभित्रै राखे । न्वारान भयो । आमाले थाङ्ना धोइन् । नातिनी र बुहारीलाई तेल लगाइन् । बेलाबेलामा खान दिइन् । बुहारीले नि सासूको महत्त्व बुझी ।
***

प्रतिक्रिया

सम्बन्धित खवर