– दीप आचार्य
१,
अर्काको भरोसामा पर्नेलाई छुट छ
नजिक हुँदा टाढा सर्नेलाई छुट छ
सत्य सत्य नै हुन्छ सक्नुपर्छ कुर्न
झुटको खेती दिनहुँ गर्नेलाई छुट छ
२,
आफ्नोलाई पराइ भनेर त सिद्दियौ
व्वाँसाको पाइला गनेर त सिद्दियौ
उचाल्नेले पछार्छ भन्ने बुझ्नु पर्ने हो
उसैको आज्ञाकारी बनेर त सिद्दियौ
३,
विषयलाई पटकपटक गुन्ने गर्नु है
कुविचारलाई मनभित्रै थुन्ने गर्नु है
आफ्नो कुरा लागू गराउनु छ भने
अरुको कुरालाई पनि सुन्ने गर्नु है
४,
परिरहोस् गुन सम्झी तड्पिन मुसुक्क हाँस्नुहोस्
मनमा यस्तै यस्तै मजा लिन मुसुक्क हाँस्नुहोस्
शत्रुलाई कहिल्यै नउठ्ने गरेर परास्त गर्नु छ भने
पर्दैन अब कुनै सजाय दिन मुसुक्क हाँस्नुहोस्
५,
इर्ष्या त्यस्तो रोग हो गलाउँछ आफैंलाई
अनियन्त्रित बनाएर चलाउँछ आफैंलाई
बेलैमा सुझबुझ हुन सकेन भने जिन्दगीमा
ढाल्न खोज्दा अरुलाई ढलाउँछ आफैंलाई
**
प्रतिक्रिया
-
४