ललितपुरका युवा कवि आर्यश युवा पुस्तामा रचाइएका कवि हुन् । अशान्त महासागर अनलाईनमा मात्र पाईने पुस्तक निश्चित अवधीका लागि मात्र प्रकाशन गरेका उनको भर्खरै म तिमी आउनुअघि नै गइसकेको थिएँ नामक कविता कृति बजार आएको छ । यसै कृतिमा आधारित भएर सम्पादक जीवन खत्रीले गरेका पाँच प्रश्न र कवि आर्यशको जवाफ;

१, म तिमी आउनु अघिनै गइसकेको थिएँ कवितासङ्ग्रह भित्र कस्ता कस्ता कविताहरू समेटिएका छन्? छोटकरीमा यसको परिचय गराईदिनुस न । 

– जिन्दगी – समय – प्रेम – समाज – राजनीति यस्तै विविध बिषयमा लेखिएका कविताहरू समेटिएका छन । केहीले उदासी जीवनगीत सुसेल्छन ,केहीले बिद्रोह ओकल्छन ।

२, तपाईँले यसअघिनै विधुतिय माध्यम अनलाईनमा मात्र उपलब्ध हुने कविता कृति अशान्त महासागर प्रकाशित गरिसक्नु भएको थियो । यस्तै अरु धेरै कृतिहरू पनि अनलाईनमा आउँछन् । यस्ता कृतिले प्रिन्ट किताबहरूलाई प्रश्न गरिरहेका बेला तपाईँको यो कृति प्रिन्ट संस्करणको रुपमा आएको छ । यी दुवै कृतिलाई छामेपछि यी दुईका बीचको सम्बन्ध, सहजता, असहजता र पाठकको चाहना के के हुँदा रहेछन् ?

– लेखनदेखि सेलेक्सन र सम्पादन गर्दै पाण्डुलिपिको अन्तिम ड्राफ्ट बन्नुसम्मको काम सबै उही हो । यसको अर्थ यहाँ पाठकसामु पुग्ने माध्यमको  मात्र फरक हो । कागजमा छापेर पुस्तकको रुपमा पढ्न दिने कि मोबाइल, कम्प्युटर , ल्यापटपका स्कृनमा पढाउने भन्ने हो । अहिलेको समयमा दुबै माध्यमबाट नै एकैसाथ उपलब्ध गराउने प्रचलन पनि चलेको छ । पेपरब्याक सँगै इबुक पनि । पेपरब्याक नै पढ्ने पाठक धेरै हुन्छन् । डिजिटल अनुभव पहिल्यै गरिससकेको हुनाले , मलाई पनि यो पटक प्रिन्ट संस्करणमै जाउँ भन्ने भयो ।

३, कवितालाई वर्षौँदेखि लेखीरहनुभाछ । बिशेष गरि छोटा कविताहरू पनि तपाईँ लेख्नुहुन्छ । खासमा कविता के रहेछ? बिशेष छोटा कविता लेखनमा ध्यान दिनुपर्ने कुराहरू के हुन्?

– कविता एउटा विशाल महासागर हो । म केवल एउटा माछा त्यो महासागरको । म ज्युँदो रहन , जरुरी छ डुबिरहन ।

छोटा कविता शब्दहरू सक्दो फारु गरेर अर्थपूर्ण शीर्षकमा  शब्द बिम्बहरू  नापजोख गरेर चयन गरेर अलिकति वक्र पारेर लेख्दा तीख्खर वा स्पर्शी बन्न सक्छ। मेरो बुझाइमा ।

बाँकी म पनि सिकिरहेछु , सिकिरहने छु । कविता यही रहेछ भनेर थाहा पाएको दिन त सिकाइ नै नरहला । सिकाइ नै नरहेपछि सिर्जना नै नरहला , यसको विविधता नै पनि नरहला।

 

४, प्रत्येक कविताका पछि एउटा एउटा आख्यान हुन्छ भन्छन् कविहरू । यस कृतिभित्र तपाईँलाई मन परेको एक कविताको शिर्षक र त्यसको आख्यान थोरै सम्झिनुस न् ।

– यस सङ्ग्रहका सबै कविताको रचना गर्भ मैले देखेभोगेका  पात्र , परिवेश , घटना – संवेदना , चेतना र समयको समष्टिगत चित्रण नै हुन्  । यहाँ मैले धेरै कविताहरुमा ती  सबै श्रदेय पात्रहरुलाई सम्बन्धित कविताको अन्तिममा समर्पण पनि राखेको थिएँ  । यसभित्र भएको ‘परिचय’ कविता आत्मीय कवि प्रचण्ड भाष्करको निधनअघि नै उनलाई स्मरण – समर्पण गरेर लेखिएको कविता हो । त्यस्तै ‘क्षतविक्षत’ कविता कवि हरिभक्त कटुवालप्रति  स्मरण-समर्पण कविता  हो ।

पछि फाइनल ड्राफ्ट बन्दासम्म पाठकहरु निश्चित बुझाइमा बाँधिन सक्ने साथै कविताको विराट परिधि र पाठकको स्वतन्त्रता खुम्चने लागेर सबै समर्पण र प्रेरणा  द्रष्टव्य हटाइदिएँ। पाठकले कवितामा  अझै आफैँलाई रिलेट गर्न पाउँछन् ,  सङ्ग्रहमा बग्दै गर्दा कवितामा आफैँलाई पाएर भिज्न सक्छन , आफ्नै कविता जस्ता लाग्न सक्छन भन्ने लागेर पनि समर्पण वा प्रेरणा प्रसंग राखिन ।

५, अक्षर बिस्तारै आवाज हुँदै भिडियोमा पुगेको छ अचेल । १५ सेकेन्डको भिडियो पनि पूरै हेर्नुस् भनेर समय माग्नुपर्ने अवस्थाका पाठककलाई घण्टौ लगाएर पढ्नु पर्ने किताबमा समय दिन सक्ने बनाउन एउटा कविको भूमिका के हुन्छ ? य‍ो किताबमा तपाईँले प्रयत्न गर्नु भएको कुरा सम्झिनु हुन्छ कि?

– कवि लेखकले कसले पढिदेला कसले हेरिदेला भन्ने नै  नसोची लेखनमै आफ्नो शतप्रतिशत दिन इमानदार प्रयास गर्नुको अर्को  विकल्प नरहला ।  लेखनले छोए, शिल्प राम्रो लागे, आफुलाई मनपर्ने विधा र विषयमा रहेछ भने पाठकरूले पढिहाल्छन ।

यस संग्रहका कविता सरल छन स्पर्शी छन सलल बगेका छन । किताब एक डेढ घन्टाको एक बसाइमै पढेर सकिने खालको छ।

***

प्रतिक्रिया

सम्बन्धित खवर