-परशु प्रधान
डल्ले खोला आज पनि उसरी नै बगिरहेछ सारा वातावरणलाई भयभीत बनाएर । सदरमुकामबाट गाउँ फर्कंदा आज पनि उसले खोला तर्यो, बडो मुस्किलले । कम्मरभन्दा माथिमाथिसम्म पानी आए पनि बलियो लट्ठीले उसलाई सहारा दियो । नत्र ऊ बग्थ्यो, बग्दै जान्थ्यो र पोहोरको टिकुटेझैं उसको लास पनि साप्सुमा मात्र देखा पर्थ्यो । हिउँदमा नाघ्न सकिने डल्ले खोला वर्षायाममा बहुलाएर आउँछ । मानौँ वारिपारिका सारा गाउँहरूलाई ऊ युद्धको घोषणा गर्दै आउँछ – ममाथि पुल बनाइदेओ, मलाई कुलाहरूमा बाँडेर खेतहरूमा पुऱ्याइदेओ, मलाई छिटो टुङ्गो लगाइदेओ । तर हरेक वर्ष डल्ले खोलामा पुल बन्छ र सो पुल कागजको घाममा उदाएर त्यहीँ अस्ताउने गर्छ ।
रनेकी जेठी छोरीको बिहे नगरी भएन । बढेकी छोरी सबैतिरबाट माग्न आइसके । उसले पनि रक्सी र कुखुराको भाले खाएर स्वीकृति दिइसक्यो । परन्तु बिहे जत्ति नजिक आउन लाग्यो रनेको दिमागले काम गर्न छाड्यो । ऊसँग भोजका लागि ठूलो सुँगुर किन्ने पैसा भएन, न एकसरो नयाँ लुगा हाल्ने उत्साह नै । अनि कुनै बिहान उसले सपनामा त्यही डल्ले खोला देख्यो । मानौँ डल्ले खोला उसरी नै भनिरहेको थियो- ‘तिमीले सबलाई बिर्सन सक्छौ रनबहादुर, तर मलाई नबिर्स । तिम्रा सारा सुखदुःखका साथी मै हुँ । मै छु र पो तिमीहरू आफ्नो व्यवहार चलाउन समर्थ भइरहेका छौ ।’
रनबहादुर कस्सियो र सदरमुकामसम्म पुग्यो । उसमा नयाँ जोस र उत्साह आएको थियो । हाकिमहरूका टेबलसम्म गएर ऊ करायो – ‘हाम्रो डल्ले खोलालाई एउटा राम्रो पुल चाहिन्छ । सधैँ ज्यानको बाजी लगाएर हामी खोला तर्न सक्तैनौँ । हामीलाई खालि २० हजार रुपियाँ भए पुग्छ । बाँकी गाउँका सारा मान्छेहरूबाट चन्दा उठाएर, श्रमदान गराएर हामी त्यो पुल पूरा गरिछाड्छौं ।’
हाकिमले उसको कुरा सुन्दै सुनेन । ऊ आफ्नै तर्कहरूमा व्यस्त थियो र रुपियाँ नभएको, बजेट आइनपुगेको कुरा सुनाउँथ्यो । तर पनि नरबहादुर यसै पछि हट्ने मान्छे कहाँ थियो ? उसले ससानो भाषण नै दियो- ‘देश- विकास हामी सबैको साझा कर्तव्य हो । एक मुट्ठी सास भएसम्म हामीले निर्माणकार्यमा पछि पर्नु हुँदैन । हामीमा देशभक्ति चाहिन्छ, सोच्ने र काम गर्ने नयाँ ढङ्ग चाहिन्छ । डल्ले खोलाको पुल अहिलेको हाम्रो सबभन्दा ठूलो आवश्यकता हो । वर्षायाममा बगेर मर्ने सयौँ ज्यानहरूलाई हामीले जोगाउनु आवश्यक छ ।
ती हाम्रा दाजुभाइ, दिदीबहिनीहरू डल्ले खोलामा अकालमा मर्नका लागि जन्मेका होइनन्, पक्कै होइनन् ।’ मलायामा सैनिक हुँदा सिकेका केही शब्दहरू पनि उसले गाँस्यो, ‘मलायामा कत्रो विकास छ, जहाँतहाँ पुल र पुलेसाहरू बनिसकेका छन्, तर हाम्रो देशमा भने डल्ले खोलाजस्तो महत्त्वपूर्ण ठाउँमा एउटा सानो पुल छैन । सधैँ ज्यानको बाजी लगाएर तर्नुपर्छ, सधैंको भयावह स्थिति छ ।
उसको भाषणलाई हाकिमले केही बुझेको थियो, केही बुझेको थिएन । तर उसको भाषणले जादुको नै काम गरेको थियो । केही दिनमा नै पुलको लगतइस्टिमेट तयार भइसकेको थियो र २० हजार त होइन १ हजार रकमको निकासा पनि भइसकेको थियो । त्यो रकम रनबहादुर आफैँले बुझेको थियो र एउटा ठूलो सङ्कष्टबाट उसले मुक्ति पाएको थियो । उसको घरमा बिहे धुमधामसँग सम्पन्न भएको थियो, सात दिनसम्म भोज चलेको थियो, सातसातवटा सुँगुर काटिएका थिए । गाउँघरमा सबैले रनबहादुरको प्रशंसा गरेका थिए र उसलाई तगडा मान्छेको उपाधि दिएका थिए ।
डल्ले खोलामाथि एकदुइटा काठहरू राखिएको देखियो । आउनेजानेहरूले विश्वासको लामो सास फेरेर भने, ‘अब भने पुल बन्ने भयो। वर्षामासमा पनि सदरमुकाम सजिलै पुग्ने भइयो । अब भने बाँचिने भइयो ।’ तर ती काठहरूबाहेक अरू केही त्यहाँ थपिएको देखिएन । अनि अर्को वर्षाको भेलले ती काठहरू पनि त्यहाँबाट बगाइदिइसकेको थियो । डल्ले खोला उस्तै भयो, जस्तो थियो । रनबहादुरको आवश्यकतालाई उसले पूरा गरिदियो र आफ्नै किसिमले ऊ बगिरह्यो । उसको सपनाको पुलको इस्टिमेट भयो, उसको सपनाको पुलमा रकम निकासा भयो र त्यो कहीँकतै खर्च भयो । डल्ले खोलालाई लाग्यो, उसको फेरि एक पटक खिसी उडाइएको छ, ऊ व्यङ्ग्यहरूबीच फेरि नाङ्गो उभिएको छ ।
अर्को वसन्त पनि आउँछ र जान्छ । अर्को शरद्को जाडो पनि त्यसरी नै आउँछ र जान्छ, डल्ले खोलो बगेको बग्यै छ । ऊ फेरि निमन्त्रण गर्न खोज्छ र आफ्ना हातहरू फैलाएर भन्छ- ‘म कठाङ्ग्रिइसकेँ, चिसो भइसकेँ । मलाई छिटो पाखाहरूमा लगिदेऊ । त्यहाँका माटोहरूमा म नुहाउँछु, म खेल्छु । मलाई धानका बालाहरूमा तिमी भेट । मलाई सुन्तलाका केस्राहरूमा तिमी स्वीकार । मलाई यसरी सोझै बग्न नदेऊ, मलाई नियन्त्रण गर । मलाई सीमित तुल्याऊ ।’ डल्ले खोलाको यस आवाजलाई सुन्ने पालो अब शिवबहादुरको थियो ।
एक बिहान उसले पनि सपना देख्यो । डल्ले खोलाले उसलाई भनिरहेको थियो, ‘तिमीले यस वर्ष धेरै जुवा हार्यौ, तर यसको चिन्ता तिमीले लिनु- पर्दैन । दुईचार गरा खेत र सानो झुप्रो तिम्रो बाँकी नै छ । फेरि एक पटक तिमीले मलाई कुलाहरूमा लगेर बाँडिदेऊ । म त्यहाँ तिमीसँग उभिन्छु, तिमीसँग मिसिन्छु ।’
शिवबहादुर सदरमुकाम पुगेको थियो, हाकिमको त्यही टेबलमा भाषण दिने पालो उसको थियो । ‘हाकिम साहेब ! डल्ले खोलामा पुलका लागि गएको रकम पूरै हिनामिना भयो । त्यहाँ पुलको नामोनिसान केही छैन । यसमा पूरा कारबाही हुनुपर्छ र अब डल्ले खोलामा एउटा बाँध बनाई कुलो निर्माण हुनु जरुरी छ । हाम्रा पाखाहरू कुलाबिना त्यसै परिरहेका छन्, त्यहाँ पानी पुऱ्याउनुपर्छ । त्यहाँ धान उब्जाउनुपर्छ । सधैँ खाद्यान्नको अभावलाई हामीले कति स्विकारिरहने ? सारा गाउँका मान्छेहरूले श्रमदान गर्छन् हाकिमसाहेब ! त्यो कुलो तीन महिनाभित्रमा नै पूरा हुनुपर्छ । मलाई खालि दस हजार भए पुग्छ ।’
यसपालिको हाकिमले पनि उसको केही कुरा बुझेको थियो, केही कुरा बुझेको थिएन । फेरि ससानो लगतइस्टिमेट भएको थियो र दस हजार रकम निकासा भएको थियो । शिवबहादुर खुसी भएको थियो, उसले राम्रो कुलो बनाउनेछ र सारा गाउँका ओठहरूमा खुसियाली ल्याउनेछ । गाउँमा एउटा उत्साहको वातावरण आयो- डल्ले खोलामा अब कुलो बन्नेछ, धेरै फाँटहरू हरिया हुनेछन्, धानका बालाहरू झुल्नेछन् । गाउँबाट अनिकाल सदाका लागि भाग्नेछ ।
कुलो खनिन लाग्यो । मान्छेहरूले सुरुमा निकै उत्साह देखाए, तर केही दिनमा नै कुलाका डोबहरू मात्र देखिए, पानी चल्न सकेन । जाँचपासका लागि माथिबाट ओभरसियरहरू आए र तिनले कुलो जाँचे । कुलो राम्रो थियो, पानी चलेको पनि देखियो । तर ओभरसियरलाई थाहा भएन कि त्यो कुलो डल्ले खोलाको थियो कि अरू नै खोलाको । डल्ले जस्ताको तस्तै रह्यो । त्यहाँ न पुलको रूपरेखा देखियो न कुलोको । डल्ले खोलाले आफूभित्र एउटा सन्तोष उमार्यो- पुल बनेन त के भो ? कसैको बिहेको कार्य राम्ररी सम्पन्न भयो । कुलो बनेन त के भो ? कसैले बसाइ जानु परेन ।
र उसले आज मध्यवर्षामा त्यही डल्ले खोला मुस्किलले तर्यो, जसले भनिरहेजस्तो लाग्यो- ‘मलाई वर्षामा कमसे कम दुई पुल हालिदिनू, वर्षमा कमसे कम दुई कुलोमा लगेर बाँडिदिनू । म कागजहरूमा बिउँझन्छु । म सपनाहरूमा उदाउँछु । मलाई तिमीहरूका सारा व्यवहारप्रति स्नेह छ, धेरै चोखो स्नेह । तिमीहरू जो गाउँ छौ र म छु । हाम्रो यही सम्बन्ध शाश्वत हो, यथार्थ हो ।’
डल्ले खोला तरिसकेर उसले एक पटक हेर्यो- डल्ले खोला उस्तै छ, उसरी नै बगिरहेछ ।
- ***
प्रतिक्रिया
-
४