– लोकराज न्यौपाने

म मेरै मनसँग
गन्थन मन्थन गर्छु
आजभोलि

साथमा हुँदा काखमा र
नहुँदा यादमा राखेर
मेरी छोरीको त्यो
मलिन अनुहार।

भन्छु मन मनै
तिम्रा सपना देखेर परदेशिएको म
मलाई के थाहा, आखिर !
तिमीलाई परदेश ल्याउनु
मेरो सपना बन्नेछ भनेर ।

म खुसी होउँ या दुःखी?
साथ जुटाएकोमा या
देश छुटाएकोमा …?

जन्मभूमि त्यो गाउँ, ठाउँ, त्यो परिवेश
परिवार, मामाघर, आफन्तको माया, ममता र स्नेह
तिमी सँगसँगै हुर्किँदै गरेका
तिम्रा सहपाठीहरूको
बालापनको भाँडाकुटी
लडाई, झगडा र हाँसो
त्यो समय
अनि
त्यो समयको माग
यी र यस्तै यस्तै सबै कुराहरु
के पुरा गर्न सकुँला ?
परदेशी भूमिमा
तिम्रै भविष्य खोज्दै
भौतारिएको
यो ज्यानले ।

नसकेर पनि त के गर्नु
आखिर तिम्रो
सबथोक भनेकै त मै हुँ ।

तिम्रो भाग्य लेख्ने लेखनदास पनि बिचरा
अलमल परेको होलान्
कसरी लेखु अनि कस्तो कोरौँ
जिन्दगीको जीवनरेखा भनेर ,
किन भन्ने कुरा आफै बुझ्नु
मैले भनिन ल।

दुनियाँले जे भनुन् ठिक छ ।
तर
म आफैले चाहिँ
भाग्यमानी ठानौँ या अभागी
जन्मिएको दुई वर्ष नबित्दै
परदेशीयौँ छोरी ।

म पछाडिको पुस्ता
परदेशिन नपरोस् भनेर परदेशिएको म
बालापनमै परदेशी बनाउँदा तिमीलाई
गाली दिन्छेउ कि ताली
खुसी हुन्छेउ कि दु:खी
देश अनि परिवेश सम्झेर ?

मेरो मन भित्रभित्रै चुलिएर
सगरमाथा जस्तै बनी
यो प्रश्न लुकेर बसेको छ छोरी
आफ्नो निर्णय आफैँ गर्न सक्ने भएपछि
यसको जवाफ नबिर्सी दिनु ल ।

किनकि
म मात्रै होइन
यहाँ म जस्तै मुटुभरि
प्रश्न बोकेर
भौतारिने क्रम
झन् झन् बढ्दो क्रममा छ।
ताकी,
यो प्रश्नको उत्तर
म जस्तै सबै सबै बाबाहरूको लागि
साझा उत्तर बनोस् ।

***

प्रतिक्रिया

सम्बन्धित खवर