युवापुस्तामा लोकप्रिय आख्यानकार मिलन सङ्ग्रौला तेह्रथुम आठराईमा जन्मेका हुन् । हाल झापामा बसोबास गरिरहेका उनले कम्यूटर विज्ञानमा स्नातकोत्तर गरेका छन् । पेशाले कम्प्यूटर विज्ञान अध्यापक सङ्ग्रौलाको च्याट गर्ल कथा सङ्ग्रह, पर्पला उपन्यास प्रकाशित छन् ।

हालै उनको अर्को उपन्यास बावऋ प्रकाशित भएको छ । यसै उपन्यासमा आधारित रही सङ्ग्रौलासँग सम्पादक जीवन खत्रीले राखेका पाँच प्रश्न र उनको जवाफ;

१) बावऋ बारेमा परिचय गराईदिनुस न, जसलाई पढेर पाठकले यो कृति छनोटका लागि सहयोग पुगोस्

– बावऋ विशेषत साठीको दशक सुरुवातको कालखण्डमा बुनिएको तिन किशोरहरुको भावनात्मक सम्बन्धको त्रिकोणात्मक कथा हो । किशोरवयमा हुने निश्चल र आदर्श प्रेमलाई त्यसबेलाको समाजिक अवस्थितिले कसरी असर गर्यो ? उनीहरुको भोगाईको दृष्टिकोणमा उपन्यास लेखिएको हो बावऋ । उपन्यासमा उनीहरुको प्रेमसँगै त्यसबेलाको द्धन्दरत समाजले भोगेका समस्याहरु, बाबुछोराको सम्बन्ध, मित्रताको सम्बन्ध, गुरुचेलाको सम्बन्ध आदिलाई उपन्यासको कथानकसँगै बुनेर लाने प्रयास गरेको छु ।

२) ‘बाबरी हुनु पर्ने बावऋ गराएका रहेछन् । सुन्दा उस्तै सुनिए पनि के अर्थ हुन्छ भनेर स्पष्ट भइएन ।’ भनेर केही साहित्यिकहरूले भनेको कताकति सामाजिक सञ्जातिर देखियो । खासमा नामका विषयमा वा बाबऋका अर्थका विषयमा के भन्नुहुन्छ?

– उपन्यासको नाम बावऋ र बाबरी फूलको कुनै साइनो वा सँगती छैन । बादल, वर्षा र ऋतुको नामबाट बन्ने बावऋले उपन्यासको थिम राम्रोसँग भन्न सक्ने भएकाले बावऋ नाम नै राखिएको हो । कतिपय साहित्यिक प्रयोगहरुमा व्याकरणीय सुत्र नै सधैं लागु गरिरहनुपर्छ भन्ने सायद हुन्न होला ।

३) यहाँका यस अघि ‘च्याट गर्ल’ कथा सङ्ग्रह र ‘पर्पला’ उपन्यास आएको थियो । अघिल्ला कृतिहरू बिशेष युवापुस्ता यहाँका पाठक छन् । बाबऋ अघिल्ला कृतिहरूको तुलनामा के कारण भिन्न छ?

– मेरा अघिल्ला कृतिहरुमा च्याट गर्ल २०७० मा प्रकाशित भएको थियो र यसका कथाहरु धेरैजसो त्यही समय भन्दा एकाध साल अघिको समय र परिवेशमा आधारित थिए । पर्पला उपन्यास २०७३ सालमा प्रकाशित भएको थियो, र जहाँ २०७०–२०७१ तिरकै समय र परिवेश चित्रित छ । दुवै कृतिमा आफूले त्यसबेला गरेको महसुस, अनुभूति, समाज र यसका विविध पात्रहरुको अध्ययनलाई आफूले सकेसम्म उतार्ने प्रयास गरेको थिएँ ।

बावऋ उपन्यास भने २०८१ सालमा प्रकाशित भए पनि , बावऋ विशेषत साठीको दशक सुरुवातको कालखण्डमा बुनिएको तिन किशोरहरु र सँगै आउने समाज र अन्य पात्रहरुको कथा । यस मानेमा मैले अलिक अगाडिको कालखण्ड रोज्नु नै पहिलेभन्दा केही फरक हुनुपर्छ ।

४) बाबऋ लेखनको रचनागर्भ के हो? यस पुस्तक विषय छनोट गर्न के ले आकर्षित गर्यो ? प्रसङ्गहरू छन् होला छोटोमा भनिदिनुस न ।

– उपन्यास पर्पला प्रकाशित भएको आठ बर्षपछि दोस्रो उपन्यास बावऋ प्रकाशित भयो । यसको लेखनमा झन्डै साढे पाँच वर्ष समय लाग्यो । यो मलाई मनैदेखि भन्न मन लागेको कथा हो, जुन मेरो किशोरमय भोगाइसँग निकै नजिक पनि छ । आख्यानीकरणमा पात्र र कथामा केही बदलाव त  हुन्छ नै ।  लेखनको अवधिभर म यसका पात्रहरु र परिवेश बोकेर बाँचिरहें र आख्यानको संसार निर्माण गर्दै रमाइरहें । यसको लेखनयात्रा निकै आनन्दमय भयो ।

५) बावऋ पुस्तक नपढ्ने पाठकले यो कृति यसकारण पनि पढ्नु पर्छ भन्ने कुरा के के छन् वा यो कृति नपढे पाठकले के छुटाउँछ ?

– यसको कथा र  पात्रका सम्वेदनाहरुमा आफैं सम्वेदित हुँदै लेखेको हुनाले पाठकहरु पनि सम्वेदित हुन सक्नुहुन्छ भन्ने विश्वास छ मलाई । प्रेमकथा मात्र नभएर समाजका विभिन्न तहरुलाई यसले समेट्न खाजेको प्रारम्भिक प्रतिक्रिया पाइरहेको छु ।  थप त पढिसकेका पाठक वा समिक्षकहरुले यसबारे भन्नु नै उचित हुन्छ होला ।

***

प्रतिक्रिया

सम्बन्धित खवर