
– नवराज खरेल
१,
राम्रो काम गर्ने भन्दा खराब काम गर्ने नामुद हुन्छ
जनता हैन अत्याचारकाे कारक शासक खुद हुन्छ
सम्मान गर्न सिकौं कलम चलाउनेहरुलाई पनि,
हतियारमा भन्दा धेरै कलममा विषालु बारुद हुन्छ!
२,
कहिले बाँड्ने कहिले फेरि माग्ने दिन आउँछ
दशा बिग्रिएपछि रुँदै-रुँदै भाग्ने दिन आउँछ
धन,बल र रुपकाे कहिल्यै कसैले घमण्ड नगरौं,
आफ्नै जिन्दगी पनि बाेझ लाग्ने दिन आउँछ!
३,
सबै आफ्नै देशमै अटाइन्छ राेजगार दिएपछि
मूर्ख पनि सज्जन भइदिन्छ विचार दिएपछि
बचपन हेरेर कसैलाई पनि मूल्याङ्कन नगरौं,
काँचो माटाे पनि भाँडाे बन्छ आकार दिएपछि!
४,
छाेराछाेरी बाहिरको कुरा गर्छन् म देशमै बस्नुपर्छ भन्छु
कुरा प्रविधिका गर्छन् पाखाे फाेर्न कम्मर कस्नुपर्छ भन्छु
कमाई हुन्छ सधैं तपाईंहरुले दुःख झेल्नु पर्दैन भन्छन्,
तर म परदेश नलाग पैसाका लागि उतै फस्नुपर्छ भन्छु!
५,
आफ्नै बाेली कुनै बेला सदर नहुने दिन आउँछ
भाेक ,प्यास,निद्रा अनि रहर नहुने दिन आउँछ
भूइँ मान्छेहरुलाई पनि मान्छेकै दर्जा दिन सिकौं,
झुपडी र महलमा पनि अन्तर नहुने दिन आउँछ!
***
प्रतिक्रिया
-
४