– मञ्जुल
कविता र गीतसँग प्रेम परेर
म यो धर्तीमा आएको हुँ
मेरी प्रेमिका र मेरा लागि यो धर्ती स्वार्गसरि छ
हामी रमाएर बसेका छौँ यहाँ
लाग्छ जीवनका अन्तिम दिनहरूसम्म यसरी नै बसिरहनेछौँ हामीहरू
हामीलाई आनन्द छ
हाम्रो सिर्जनामय प्रणयक्रीडामा
मेरी प्रेयषीसँगको मेरो सहवासले
मलाई प्राप्त छन् मेरा सुखद घडीहरू
घेरिएर बसेको छु म
फूलजस्ता सुवासित मेरा कविता र गीतहरूले
म सिर्जनाको गायक हुँ
म गाउँछु कण्ठ खोलेर, आत्मविभोर भएर
म सिर्जनारत नहुँदा पनि
हेर्छु म निलो आकाशलाई
पहाडलाई, पहाडमा सरी-सरी जाने बादलहरूलाई
हेर्छु म वेग मारेर उड्ने चरीहरूलाई, डाँडामा टाँगिएको इन्द्रेनीलाई
यो धर्ती र धर्तीमा काम गर्ने मानिसहरूलाई
यो धर्ती र धर्तीमा प्रेम गर्ने मानिसहरूलाई
हेर्छु म फुलिरहेका र फुल्न लागेका फूलहरूलाई, केटाकेटीहरूलाई
म सिर्जनारत नहुँदा पनि
म हरेक पलहरूलाई आनन्दले बिताउँछु
***
प्रतिक्रिया
-
४
