– रासा

सञ्चो छैन । पटक्कै सञ्चो छैन आज । टाउको भारी, फुट्लाजस्तो छ । त्यसमाथि वाकवाकी लाग्ने । यसो हलचल गर्दा पनि रिंगटा लागिहाल्ने । खालि पल्टिरहन / सुतिरहन मनलाग्ने । यस्तो भइरहन्छ। समय समयमा यस्तो भइरहन्छ मलाई ।
••
कोठामा म । एक्लै । खाटमाथि पल्टिरहेको छु। आँखाहरू दलिनतिर केन्द्रीत छन् । आँखामा नीद छैन । झ्याल बन्द गरेको छु, र पर्दा खसालेको छु । झ्याल बाहिरका दृश्यहरू अगोचर छन् । अन्धकार व्याप्त छ । मनमा अनेक तर्कनाहरू उम्लिरहेका छन् । तिनलाई सम्हाल्न सकिरहेको छैन ।
••
मेरो दाजुको विवाह भइसक्यो / लगभग बीस वर्षअघि नै । भाउजू छिन् । उनीहरूकाे एउटै मात्र छोरो छ / मेरो भतिजो । कलेजमा पढ्ने भइसक्यो । केटो मायालाग्दो छ । तर उसकी आमा, मेरी भाउजू ठीक छैनन् मेरा लागि । हामीबीच त्यति मिलजुल छैन । बोलचाल समेत हुँदैन वास्तवमा ।

दाजु पछिको म । माहिलो । एकल । भुतुङ्गो छु । विवाह गरेको छैन । कारणहरू अनेक छन् । के गर्नु, विवाह गर्न त मनलाग्छ । तर………..।

हाम्रा बाबु-आमाहरू मास छर्न गइसके /उहिल्यै । करिब दस वर्षअगाडि । अहिले उनीहरू केवल सम्झनामा छन् ।

बाबुको सानो जागिर थियोे । आमाको केही थिएन । हाम्रो पसल पनि थियो । पसलमा बिहान बेलुका बाबु बस्नुहुन्थ्यो । दिनभरि हामी बस्थ्यौं । त्यो त्यति चल्ने खालको भने थिएन ।

मेरी बहिनीको पनि विवाह भइसक्यो । ज्वाईं असाध्यै सिधासादा छन् । कुनै लपनछपन छैन । काम गरिखान्छन् । उनीहरूको पनि एउटी छोरी छिन् । अत्यन्त हिसिपरेकी, छुनुमुने, फुच्ची, बोकुँबोकुँ लाग्ने / मेरी भाञ्जी ।

बहिनी पछिका दुई भाइहरू छन् । केही समयअघि मात्र उनीहरू दुईजनाकै पालैपालो बिहे
भयो । दुईटै बुहारीहरू सँगै छन् । भिन्न भएका छैनन् । उनीहरूले मलाई अनादर गरेका छैनन् अहिलेसम्म ।
••
केहीबेर पसलमा बसें । कच्याककुचुक बेचें । गोजीमा चुरोट एक खिल्ली लुकाएँ । भाइ आइपुग्यो । उसलाई पसल जिम्मा लगाएर म घर-पछाडि गएँ । हतारिएर पाइखानामा पसें । छिनमै हलुका भएर निस्कें। पछि मटानमा उक्लें । क्षणभर सुस्ताएँ । खाना खान बुइगलमा गएँ । आफैं पस्केर खाएँ । अनि, कोठामा फर्कें ।
••
‘ कत्ति मात्र सुत्न सक्या ! केही काम गर्नु छैन । खालि घिच्यो, पल्ट्यो । ‘ – भाउजूको फतफताइले मेरो तन्द्रा टुटेको छ । पक्कै मलाई सुनाएकी हो । रिस नउठेको होइन । तैपनि सहेको छु । जवाफ दिएको छैन आजसम्म । मनभरि प्रतिक्रियाहरू नभएका होइनन् । मुख खोल्दिनँ । तनभरि कामजरो
छ । हलचल गर्दिनँ । एकतमास सोचिरहेको छु । अरू केही गर्न सकेको छैन ।
••
कति थुनिएर बस्नु कोठामा । वाक्कदिक्क लाग्छ । बच्चैदेखि एक्लो परेको मान्छे म, अहिलेसम्म एक्लै छु । साथीहीन छु । र, उपायहीन पनि ।
••
‘ तँ बौलाएकै होस् । झ्यालमा उँधोमुण्टो लाएर
झुण्डिस् । तँलाई बाँच्न मनलाग्या छैन । मर्न चाहेको हो तैंले ? ‘ – दाजु मसँग रिसाएर कराइरहेको थियोे । म भने चुपचाप थिएँ । खासमा मलाई होसै थिएन । यो धेरै अघिको घटना थियो ।

‘ तँलाई मर्नै मनलागेको हो भने, जा परको त्यो इनारमा हाम्फालेर मर् , जा ! कि बागमतीमा अहिले बाढी आइरहेको छ, त्यहीँ फाल हान् , जा ! ‘ – दाजुको रिस चर्को थियो । वचनवाण तीखो थियो । रिसले म धेरैचोटि डामिएको छु । वाणले घोचिएको छु । सख्त घाइते भएको छु । तर मर्न सकेको छैन ।
••
एकदिन भाइले भन्दै थियोे – ‘ हामीले तिमीलाई मन्दिरबाट उठाएर ल्याएका थियौं । तिमी त्यहाँ बेहोस पल्टेका थियौ । मुखभरि र्याल काढेर छटपटाइरहेका थियौ । मान्छेहरूको हूल थियोे । तिमीलाई एक्लै टाढा नजानू भन्या होइन ? हूलमूलमा नजानू भन्या होइन ? मान्ने होइन । कति सम्झाउनु ! ‘

हो, मलाई मान्छेहरूको भीड देख्न हुन्न । कुनै गाढा रङ्ग देख्न हुन्न । भाउन्न भइहाल्छ । सबै चीज घुम्न थाल्छन् । अँध्यारोले छोप्छ । केही देख्दिनँ । ढलिहाल्छु। सानै उमेरदेखि हुनथालेको हो यस्तो ।
••
दाजु मास्टरी गर्छन् , र भाउजू पनि । दुबैजनाको कमाइ पुग्दो छ । बहिनी आफ्नै घरमा सन्तुष्ट छिन् । भाइहरू पनि यताउता गर्छन् । मजाले कमाउँछन् । बुहारीहरू पनि टाकनटुकन गर्छन् । म मात्र ……….। हामीबीच ठाकठुक त परिरहन्छ । यद्यपि हामी संयुक्त परिवारमा छौँ ।
••
कति कुराहरू खेलाएर बस्नु मनमा ! सबै बेकारका कुराहरू हुन् । सुतेको छु । निदाउन खोज्छु । तर निद्रा लाग्दैन । के गर्दा निद्रा लाग्छ, थाहा छैन । दलिन गन्छु । तकिया मिलाउँछु । सिरक तानेर ओढ्छु । आँखा चिम्लन्छु / चिम्लिरहन्छु ।
••
एउटै टोल । झन् छिमेकी नै । बेखामान साहु । ठूलो किराना पसलका मालिक । एउटी श्रीमती , एउटा छोरा र एउटी छोरीका अभिभावक । उनकी श्रीमती घरायसी एवं पसलको काममा यथोचित सहयोग
गर्छिन् । छोरा आवारागर्दी गरेर हिँड्नमै व्यस्त रहन्छ । छोरी नखरमाउली, चमकदमक देखाएर घुम्नमा अभ्यस्त
छिन् । यिनी म पसलमा रहँदा बेलामौकामा जिस्किन आइरहन्छिन् । यद्यपि म तरुनीहरूसित जिस्किन जान्दिनँ । लाटो छु । उनीहरूका बोलीचाली तथा हाउभाउ बुझ्छु, तैपनि म केही भन्न र गर्न सक्दिनँ ।

साहुकी छोरी आइन् । मेरो सामु टुसुक्क बसिन् । छिल्लिएर हाँसिन् । के के भनिन् । म अवाक् रहें । उनी हाँसिरहिन् । जिस्किइरहिन् । मेरो पालो, उनीलाई च्याप्प समातें । अँठ्याइदिएँ । उनीले कुनै प्रतिक्रिया जनाइनन् । केवल मुस्काइरहिन् । यसो अँगालो मारेर म्वाई खान खोजेको त, पछाडिबाट कसैले मेरो कठालो समातेर तानिहाल्यो । म डराइहालें । बक फुटेन । सर्वाङ्ग भिजें । पछि झल्याँस्स बिउँझें । ज्या, सपना पो देखेको रहेछु ! दिउँसै ।
••
खाटबाट ओर्लें । झ्याल खोलें । पर्दा हटाएँ । घर-बाहिर अन्धकार छ । फाट्टफुट्ट बत्तीहरू बलेका
छन् । मानिसहरूको आउजाउ पातलो छ । नजिकका देवलहरूबाट घण्टीहरू बजेका आवाजहरू आइरहेका छन् ।

कोठा बन्द गरेर निस्कें । जीउ शिथिल छ । कुनै काम-कुरा गर्ने जाँगर छैन । सुस्तरी भरेङबाट तल छिंडीमा झरें । अँध्यारोमा छामछाम छुमछुम गरें ।
भित्तो छाम्दै अघि सरें । बाहिर निस्कने ढोकाको छेवैमा पुगेपछि अडें । बत्ती बालें । छिंडीभरिको परिवेश उज्यालियो । मेरा तन-मन पनि उज्यालिए ।

हठात् पाइखानामा पसें । छिनमै निवृत्त भएँ । हात-मुख धोएँ । अनि, तत्काल बाहिरिएँ ।
••
यतिखेर म पसलमा छु । साथमा, सानो भाइ छ । बुहारी पनि छिन् । मलाई देखेर होला सायद, यी भाइ बुहारी दुबै मुख फुलाएर बसेका छन् । कुरा गर्दैनन् । चुपचाप । भित्र-भित्रै रिसाएका होलान् ।

एकछिनपछि बुहारी निस्किइन् , सँगसँगै भाइ पनि । पसलमा म एक्लो परेको छु । केही छैन ।

एउटा ग्राहक आइपुग्छ । ऊ बोल्छ – ‘साहुजी, हरियो मलहम छ ?’
म भन्छु – ‘छ ।’
‘यो घाउमा लगाउने हो ?’ – उसको प्रश्नमा म बोल्छु – ‘हो नि, यसले घाउ च्वाट्टै निको पार्छ ।’
‘दिनोस् !’
उसलाई मलहम पोको पारेर दिन्छु ।
ऊ पुनः बोल्छ – ‘शिलाजित पनि छ त ?’
‘छ ।’ – म ।
‘अलिकति दिनोस् न ! ढाड दुखेर हैरान भो । अलि बलियो हुनुपर्यो, स्वास्नी भाग्लिन् भन्ने डर के !’ – ऊ हाँसिरहेकै छ । म उसलाई शिलाजित दिंदै भन्छु – ‘दूधसँग मिसाएर खानू !’ ऊ पैसा तिरेर जान्छ । म मनमनै बरबराउँछु – स्वास्नी हुनेलाई भाग्लिन् भन्ने डर, मजस्तो कोही नहुने भुतुङ्गोलाई केहीको डर-भर छैन । आनन्दै !
••
कल्याङमल्याङ छ सडकमा । छेउछाउका घरहरू र त्यहाँ अवस्थित पसलहरू शून्यप्राय: छन् । बरु गल्ली कुकुरहरूको चुरीफुरी छ ।
••
– ‘तारेमाम, माधव साहु !’
– ‘तारेमाम !’
– ‘ के छ हालखबर ?’
– ‘ठीक छ, तिम्रो ?’
– ‘ठीकै ।’
– ………………..।
यिनी मेरा बालसखा, राजमानचा । मसित एकदमै हित्तचित्त मिल्ने । यिनीलाई भेट्यो वा देख्यो कि पुराना दिनहरू याद हुने । ती दिनका सम्पूर्ण कुराहरू सम्झिने भन्या ! अहिले त यिनी विदेशमा बस्छन् क्यार ! कहिलेकाहीँ पसलमा आउँछन् , यसो गफसफ गर्छन् र गइहाल्छन् । खुब पढेका छन् । काम गरेका छन् । पैसा पनि मनग्गे कमाएका छन् । तर पनि, घमण्डी छैनन् ।

एकदिन हामी दुई बागमतीमा माछा मार्न गएका थियौं । बल्छीमा गँड्यौला उनेर पानीमा फाल्ने चलन थियोे । माछा बल्छीमा अल्झिएपछि माथि तान्थ्यौं । त्यस दिन हामीले थुप्रै माछा मारेका थियौं । घर फर्किंदा साँझ परिसकेको थियो । माछा पोको पारेको झोला नजिकैको झाडीमा लुकाएर हामी आ-आफ्ना घर फर्केका थियौं । घरमा गाली र पिटाइ खानु नपरोस् भनेर यसो गरेका थियौं ।

भोलिपल्ट बिहान त्यो झाडीमा जाँदा माछाको पोको थिएन । पोको कसले उडायो, थाहा भएन । सायद कुकुरले तानेर लग्यो कि !

कुनै अर्को दिन । हामी गौरीघाटमा पौडी खेलिरहेका थियौं । बागमतीमा बाढी उर्लिएको थियो । पौडिइरहेकै थियौं । अचानक हामीलाई बगायो । हामी उत्रिन
सकेनौं । आत्तियौं । करायौं । कसैले बचाउन आएनन् ।बग्दाबग्दै तल आर्यघाटमा पुगेपछि मात्र किनारामा निस्किन सक्यौं । पानी धेरै पिएर भुँडी टुन्न भइसकेको थियोे । धन्न बाँच्यौं । त्यतिबेलाको कुरा सम्झिंदा अहिले पनि जीउ सिरिङ्ङ हुन्छ ।
••
‘माधव, हिङ गोली छ ?’ – टोलका चन्द्रमान काकाले साेधे ।
जवाफमा मैले हाँसेर भनें – ‘छ, कति रुपैयाँको दिऊँ ?’
‘ एक-दुईवटा देऊ न, यसो मुखमा हाल्न ।’
दुईवटा गोली दिएँ ।
पैसा नदिईकन गए । साह्रै लोभी छन् । लाजशरम
पचेका । त्यत्रो सम्पत्ति छ । दुईजना बूढाबूढी मात्र । सन्तान छ‌ैन । तैपनि, मक्खीचुस ।
••
भित्तेघडी टाङ-टाङ बज्यो । अल्छीलाग्दो । हेर्छु । बेलुकीको नौ बज्यारैछ । पसल बन्द गर्नुपर्ने । एक्लैले थुन्न सक्दिनँ, के गरूँ !

भाइ आइपुगेको छैन, न बुहारी नै आउँछिन् । रिस उठ्दो छ । भोक लागिसक्यो । उनीहरू मजाले खाईपिई आ-आफ्ना कोठाभित्र पसिसकेका होलान् । म भने…..।
••
एउटा मान्छे ढलमलिंदै आइपुगेको छ । टोलकै नामुद रक्स्याहा, सोमे । दिनभरि ट्याक्सी चलाउँछ, र साँझ परेपछि हल्लनदास । अनर्गल बकिरहन्छ । वास्ता
गर्दिनँ । घर पुगेपछि स्वास्नीसँग रडाको मच्चाउँछ ।
– माधव, बिहे गर्ने होइन ?
– हो, केटी पाए पो !
– किन नपाउनु, जत्ति पनि पाइन्छ । म खोजिदिऊँ ?
– हुन्छ ।
– कोही नपाए, मेरी स्वास्नी नै दिऊँला । हुन्न ?
– ………………..।
म केही बोल्दिनँ । यस्तो बकम्फुसेसँग के बोल्नु !
••
हतारहतार पसल बन्द गर्नतिर लाग्छु । सामानहरू यताउता राखनधरन गर्छु । पैसा बटुल्छु । एउटा भाइ आइपुग्छ । सहयोग गर्छ ।
••
घरभित्र पस्दा दस बजिसकेको हुन्छ । सिधै बुइगलमा उक्लिन्छु । भान्सामा पस्छु । हातमुख धुन्छु । पकाएर राखिएका खानेकुरा पस्कन्छु । खानथाल्छु । छिनमै खाइभ्याउँछु । तल झर्छु । आफ्नो कोठामा
पस्छु । कपडा फेर्छु । पाइखाना जान छिंडीमा ओर्लिन्छु। हल्का भएर माथि कोठामा उक्लिन्छु । पसेर कोठामा खाटमाथि लम्पसार पर्छु । आँखा चिम्लिहाल्छु ।
••
आँखा खुले । सखारै चाहिँ होइन । घाम छिप्पिइसकेको छ । झ्याल खोलें । पर्दा पनि उघारें । एकफेर बाहिर हेरें । सडकमा मानिसहरूको आवतजावत कम छ । सबै आ-आफ्ना काममा व्यस्त छन् । परको एउटा घरको आँगनमा मान्छेहरूको घुँइचो देखिन्छ । कोलाहल सुनिन्छ । किन होला, मनमा कुतूहल जाग्छ । तत्काल लुगा लगाएर म सडकमा
झर्छु । फटाफट त्यस घरतर्फ लाग्छु ।

घरको वरिपरि भीडमभीड । अनेक आवाजहरूको कोलाज । कंकला स्वरमा कसैको रोदन । प्रहरीहरूको पनि उपस्थिति ।

म भीडको पछिल्तिर गएर उभिन्छु । कुराहरू सुन्छु । त्यस घरकी एउटी चेलीले छिंडीको सिलिङमा झुन्डिएर आत्महत्या गरेकी रहिछन् रातिको समयमा । कसैले पनि सुइँको पाएनछन् । लामो सुसाइड नोट पनि लेखेर छोडेकी छिन् रे । बिचरी !

मलाई बस्न मनलागेन त्यहाँ । लगत्तै फर्किहालें ।
••
घर । उही हाम्रो घर । किन हो, घर घरजस्तो लाग्दैन । मसानजस्तो लाग्छ । यहाँका मानिसहरू मानिसहरूजस्ता लाग्दैनन् । मुर्कट्टाहरूजस्ता लाग्छन् ।
यो घर ढले हुन्थ्यो, यहाँका मानिसहरू मरे हुन्थ्यो – यस्तै लाग्छ ।
••
निरस छ जिन्दगी । आजको दिन पनि उराठ र उदास बित्लाजस्तो छ ।
••
कोठाबाट बाहिर निस्केको मात्र, भाउजूसित जम्काभेट भयो । मैले सिधा हेरिनँ । उनीले मलाई आँखा तरेर हेरिन् । मुख पनि चलाइन् । पछि फतफताएर
गइन् । सहेरै बसें म ।

पेट दुख्यो । हतारै भयो । छिंडीमा झरें । पाइखानामा पसें । निकैबेर बसिरहें । ढोकामा कसैले ढकढकाएको सुनें । हठात् उठें, र निस्कें ।

धारातिर गएँ । हातमुख धोएँ । खुट्टा पखालें । दाँत
माझें । फेरि एकचोटि हात धोएँ, र रुमालले पुछपाछ गरी घर-बाहिर आएँ ।
••
अब म यो घरमा केही गर्दिनँ । केही पनि खाँदिनँ । बस्दा पनि बस्दिनँ । एक बस्दिनँ, दुई बस्दिनँ । बरु कतै
जान्छु ।
••
यतिखेर म आर्यघाटमा छु । यद्यपि यहाँ मानिसहरू मृत्युका लागि आउँछन् , मृतकका लागि आउँछन् । मलामी आउँछन् । मरणका निम्ति हो यो स्थान, जीवनका निम्ति होइन । तथापि म यहाँ मर्नका लागि कदापि आएको होइन । फगत विरक्ति भगाउन सुमधुर जीवन-सङ्गीत पनि सुन्न पाइन्छ कि भनेर आएको हुँ ।

पशुपति मन्दिर स्थिर छ । अन्य देवालयहरू पनि सम्पूर्णत: मौन छन् । श्लेषमान्तक वन मुक छ । रुखहरू चञ्चल छन् । बाँदरहरू उग्र छन् । बागमती अविरल बगिरहेको छ । चिताहरू जलिरहेका छन् , अर्थात् चितामाथिका लासहरू जलिरहेका छन् । मानिसहरू कोही निन्याउरा देखिन्छन् , त कोही हँसिला पनि देखिन्छन् । वातावरण निस्तब्ध छ । जे होस् , जीवन गतिशील नै छ ।
••

प्रतिक्रिया

सम्बन्धित खवर